राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे पदावधि फागुनमा सकिँदै

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना सकिएर परिणाम पनि पूर्ण रूपमा आइसकेको छ । समानुपातिक तर्फको मत परिणाम पनि अन्तिम चरणमा छ । यही बीचमा नयाँ सरकार गठनका लागि भने दलहरूको सक्रियता तीव्र बनेको छ । कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन नै बनाएर सरकार बनाउने स्थिति निर्वाचनको मत परिणामले देखाएको छ । योसँगै अबको नयाँ राष्ट्रपति/उपराष्ट्रपति को बन्ला ? भन्ने पनि चासोको विषय बनेको छ ।

संसद् र सरकार गठनपछि मात्रै अघि बढ्दै प्रक्रिया
संविधानले राष्ट्रपतिको पद्यावधि पाँच वर्षको हुने उल्लेख गरेको छ । हाल राष्ट्रपति रहनुभएकी विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएर फागुन ३० गतेदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको हो । आगामी फागुन ३० गते उहाँको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ । यसर्थ संसद् र सरकार गठन प्रक्रिया पूरा हुने भएपछि नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी हुने देखिन्छ ।
त्यसो त राष्ट्रपतिको निर्वाचन हुनका लागि सम्पूर्ण प्रत्यक्ष तथा समानुपातिक मत परिणाम आइसक्नु पर्छ । मत परिणाम सकिएपछि प्रतिनिधिसभाका सदस्यहरूले शपथ लिनुपर्ने हुन्छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । यसैबीच प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि मात्रै राष्ट्रपति निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।

प्रदेश र संघका सदस्यले मात्रै राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनमा भोट हाल्न पाउने
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात् मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ । निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रिय सभाका ५९ सहित ३३४ सांसद र प्रदेशसभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछन् ।

तर, संघीय सांसदहरूले दिएको एक भोट बराबर ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुने बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल । उहाँले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताउनुभएको हो । उहाँ भन्नुहुन्छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता भनेको प्रदेशसभाका सदस्यहरू र संघीय संसद्का सदस्यहरू हुन् । हाम्रो संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभाको सदस्य हुनलाई योग्यता पुगेको व्यक्ति जो ४५ वर्ष उमेर पुगेको छ, त्यस्तो व्यक्तिलाई हामीले राष्ट्रपति÷उपराष्ट्रपति बनाउन सक्छौँ । प्रतिनिधिसभाको सदस्य हुनुपर्छ भन्ने छैन ।’

सहायक प्रवक्ता अर्यालले कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याएर मात्र राष्ट्रपतिमा विजयी हासिल हुने व्यवस्था भएको बताउनु भएको हो । तर, यो दुई चरण प्रणालीबाट हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पहिलो चरणमा जतिजना पनि उम्मदेवार हुनसक्ने स्थिति हुन्छ । यदि पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न उम्मेदवारले नसकेमा भने दोस्रो चरणमा जान्छ । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउनेलाई मात्र राखिन्छ, अरूलाई रेसबाट हटाइन्छ । दुई जनाको बीचमा प्रतिस्पर्धा गर्दा उहाँहरूले पनि कुल मतको ५० प्रतिशत बढी ल्याउनुपर्छ । यदि दुईमध्ये एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सक्नुभएन भने पुनः मतदान गराइन्छ । दुई जनाकै बीचमा मतदान हुँदा जसले बढी मत ल्याउँछ, उसैलाई राष्ट्रपतिमा चुनिन्छ ।’

राष्ट्रपति/उपराष्ट्रपति कानुनबमोजिम योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति हुनुपर्छ । त्यसैले पनि राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन एकैपटक भने गर्न सकिँदैन । महिला आउँछ वा पुरुष आउँछ थाहा नहुने भएपछि एकै चरणमा निर्वाचन गर्न नसकिने भएको हो । तर, दुईपटक भन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रोपटक राष्ट्रपति बन्न नपाउने व्यवस्था संविधानले गरेको छ ।

मंसिरभित्रै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी
मंसिर ४ गतेको निर्वाचन अघि आयोगले मंसिर २२ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, पुनः मतदान, मतगणना विवाद र मतणना नसकिएपछि प्रतिवेदन बुझाउने मिति लम्बिएको हो । मत परिणाम आइसकेपछि क्लष्टरअनुसार सांसदको नाम पठाउन आयोगले सात दिनको म्याद दिएर दललाई पत्र लेख्नुपर्ने व्यवस्था रहेको छ । दलको पत्र आइसकेपछि आयोगले दलहरूको सांसद संख्याबारे निर्णय गर्ने प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने आयुक्त भण्डारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सम्पू्र्ण मत परिणाम आइसकेपछि अब हामीले दललाई सात दिनको समय दिएर पत्र लेख्नुपर्छ । सबै परिणाम आइसकेपछि यति सिट आयो क्लष्टरअनुसार को–को पर्छन् नाम दिनुस् भनेर पत्र लेख्नुपर्छ ।’ दलको पत्र आइसकेपछि यो दलको यति सांसद भए भनेर आयोगले निर्णय गर्नुपर्छ । त्यो समेतलाई एकमुष्ट राखेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको आयुक्त भण्डारीले जानकारी दिनुभयो ।

समानुपातिकतर्फ भने मत परिणाम घोषणा हुन बाँकी छ । पुनः मतदान भएको दोलखा र पछि मतगणना भएको बाजुरा र स्याङ्जाको समानुपातिक तर्फको नतिजा आउन बाँकी छ । मतगणना सकिएपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउनुपर्छ । मंसिरभित्र प्रतिवेदन बुझाइसक्ने अयोगले जनाएको छ । आयोगले प्रतिवेदन बुझाइसकेपछि भने नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?