के कांग्रेस परिवर्तनको हुटहुटीले देउवालाई रोक्न सक्ला ?

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसक्नुभएको छ । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहनुभएको छ ।

यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताउनुभएको छ । उहाँले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताउनुभएको थियो ।

उहाँहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ । संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ ।”

साथै नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ ।
यता देउवासँग संसदीय दलको नेताकोप्रतिस्पर्धाका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

इतर समूहमा दुई दिन चलेको छलफल पछि उसले गगन थापालाई संसदीय दलको नेताको रुपमा अघि सार्ने निर्णय गरेको हो । थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्नुभएको छ ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिनुभएको छ । मिनेन्द्र भने सांसद हुनु होइन। तर, उहाँनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ । कांग्रेस भित्रैका नेताहरु समेत गगनको संसदीय दलको नेता बन्ने भन्दा पनि एक प्रकार आन्दोलन भित्रको रहर अनि वाध्यता दुबै भएको बताउन थालेका छन् ।

बदलिएको समय र सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । चुनाव अघि नै गगनको पक्षमा बोल्दै आउनु भएको शर्मा यतिबेला खुलेर शेखर–गगनसमूहमा लाग्नुभएको छ ।

उहाँले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोईरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री थापालाई संसदीय दलको नेताको रुपमा प्रश्तावक गर्नु गर्वको विषय भएको समेत बताउनु भयो ।

उहाँले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा. कोईरालाले गर्नुभएको बताउनु भएको थियो ।

तत्कालीन अंक गणित हेर्दा बलियो देखिनुभएको देउवालाई पराजित गरेर गगनले जित्नेमा इतरपक्ष नै विस्वस्त छैन । तर, गोप्य चुनाव भएकाले यसै भन्नसक्ने अवस्था नभएको उनीहरु बताउँछन् ।

कांग्रेसले गत चुनावमा प्रत्यक्षमा ५७ सीट जितेको छ भने समानुपातिकमा ३२ गरी कुल सांसद ८९ छन् । कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएकाले यसै भन्न नसकिने कांग्रेस नेताहरुको भनाइ छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ ।

दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री थापाको उम्मेदवारी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?