अष्ट्रेलिया फाइनल नजिक

Read Time = 4 mins

मेलबर्न । दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा १८२ रनको इनिङ अन्तरको जितसँगै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ ।

दोस्रो इनिङमा दक्षिण अफ्रिका २०४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर टेम्बा बभुमाले १४४ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाउनुभयो । विकेटकिपर काइल भेरेनले ४० बलमा ५ चौकासहित ३३ रन बनाउनुभयो । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक तीन विकेट लिनुभयो । स्कट बोलान्डले दुई, मिचेल स्टार्क, प्याट कमिन्स र स्टिभ स्मिथले एक/एक विकेट लिनुभयो ।
त्यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ५७५ रनमा इनिङ समाप्तिको घोषणा गर्‍यो । अष्ट्रेलियाका डेविड वार्नरले २५४ बलमा १६ चौका र २ छक्कासहित सर्वाधिक २ सय रनमा रिटार्ट हर्ट हुनुभयो । खुट्टा हृयामिस्ट्रिङमा समस्याका कारण दोहोरो शतकलगत्तै वार्नर रिटायर्ड हर्ट आउट हुनुभयो ।

स्मिथ र डेविड वार्नरले तेस्रो विकेटका लागि २३९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्नुभयो । स्मिथ १६१ बलमा ९ चौका र १ छक्कासहित ८५ रनमा आउट हुनुभयो । विकेटकिपर एलेक्स केरी १४९ बलमा १३ चौकासहित १११ रनमा आउट हुनुभयो । दक्षिण अफ्रिका एनरिच नोर्कियाले सर्वाधिक तीन विकेट लिनुभयो ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ६८.४ ओभरमा १८९ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका मार्को यानसनले १३६ बलमा १० चौकासहित सर्वाधिक ५९ रन बनाउनुभयो । विकेटकिपर काइल भेरेन ९९ बलमा ३ चौकासहित ५२ रनमा आउट हुनुभयो ।

कप्तान डिएन एल्गर २६ र सारेल एर्वी १८ रनमा आउट हुनुभयो । क्यामरन ग्रिनले १०.४ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिनुभयो । मिचेल स्टार्कले दुई, स्कट बोलान्ड र नाथन लायनले एक÷एक विकेट लिनुभयो ।

अष्ट्रेलिया पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट ४ जनवरीदेखि सुरु हुनेछ । अष्ट्रेलिया १४ खेलमा १० मा जितसहित ७८.७५ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले अब विश्व टेस्ट च्याम्पियनसिपमा भारतसँग चार र दक्षिण अफ्रिकासँग एक गरी कुल पाँच खेल खेल्न बाँकी छ । अष्ट्रेलिया दुई खेलमा विजयी हुँदा फाइनलमा स्थान पक्का गर्नेछ । भारत १४ खेलमा ८ मा जितसहित ५८.९३ विजयी प्रतिशतका साथ दोस्रो स्थानमा छ । भारतले अष्ट्रेलियासँग घरेलु मैदानमा हुने चार टेस्ट खेलको सिरिजमा तीन खेल जित्नुपर्ने हुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?