पोखरालाई समृद्ध बनाउने काम गर्छौं : नवनिर्वाचित प्रमुख आचार्य

Read Time = 4 mins

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताउनुभएको छ ।

पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी र्यालीपछिको सभामा उहाँले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणपत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखेको छ । कार्यक्रममा प्रमुख आचार्यले भन्नुभयो, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्वका कार्यक्रममा समय व्यतित गर्ने छैनौँ ।”

प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्नेगरी व्यवस्थितरूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाउनुभयो । सुशासन र प्रविधिमा मुख्य जोड दिइने उहाँको भनाइ छ ।

पदबहालीसँगै निर्वाचत जनप्रतिनिधिको ‘काउन्ट डाउन’ सुरु हुने भएकाले विकास योजनाको गहन छलफलका लागि जनप्रतिनिधि र महानगरका महाशाखा प्रमुखसहितको ‘क्लोज क्याम्प’ तत्कालै राख्ने उहाँले बताउनुभयो ।

आचार्यले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वडाध्यक्ष तथा सदस्य छुट्टै कार्यक्षेत्रबाट आएका हौँ । स्वभाव नमिल्न सक्छ तर महानगरभित्र राजनीति र पार्टीको कुरा गर्ने छैनौँ ।”

प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निःशुल्क गर्ने घोषणासमेत गर्नुभयो । पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले निर्वाचनमा जनतासँग गरिएको वाचा र चुनावी घोषणापत्रको कार्यान्वयन गर्नेगरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचित प्रतिनिधि पोखरावासी सारा जनताको प्रतिनिधि रहेकाले सबै जनतालाई समानरूपमा व्यवहार हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपक कोइराला, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले गठबन्धनका उम्मेदवारको जितले पोखराको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार गठबन्धनबाट महानगर प्रमुखमा नेकपा ९एकीकृत समाजवादी० का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको हो । उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाट भने पराजित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?