नेपाल टी-२० लिगको सम्झौता त्रुटिपूर्ण : क्यान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । साधारण सभाबाट पारित भई आयोजना भएको नेपाल टी-२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ । बिहीबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताउनुभएको हो । चन्दले नेपाल टी-२० लिगका लागि विवादास्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गर्नुभयो । तर, क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्तिसमेत उहाँले दिनुभयो ।

अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्नेक्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौताअनुरूप काम नहुनु दुखद् भएको बताउनुभयो । सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि स्वीकार गर्नुभयो । सेभेन थ्री स्पोर्ट्सलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरान विभिन्न कारणले विवाद हुनु क्रिकेट संघको पनि कमजोरी रहेको बताउनुभयो ।

अध्यक्ष चन्दले नेपाल टी-२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक-दुई महिनाभित्र नै पाउने जानकारी दिनुभयो । उहाँले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिट्टै पूरा हुने पनि बताउनुभयो । यस्तै, पुरस्कारको रकम सेभेन थ्री स्पोर्ट्सले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रियस्तरबाट लिन पहल गर्ने समेत उहाँले बताउनुभयो । प्रतियोगिताका दौरान स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको अध्यक्ष चन्दले बताउनुभयो । उहाँले टी-२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताउनुभयो । नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ ।

कानुनी परामर्शपछि सन्दीप खेल्ने/नखेल्ने तय हुन्छ
नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लिग स्पिनर सन्दीप लामिछानेको विषयमा खेल्ने/नखेल्ने अहिले नै तय नभएको जनाएको छ । अध्यक्ष चतुरबहादुर चन्दले कानुनी परामर्शपछि सन्दीपका विषयमा निर्णय गरिने बताउनुभयो । चन्दले भन्नुभयो, ‘सन्दीपको विषयमा संवेदनशील छौँ । नेपालका लागि चाहिने खेलाडी हुन् । सन्दीपको विषयमा कानुनअनुसार अघि बढ्छौंँ । कानुनी परामर्शपछि सन्दीपको विषय टुंग्याउँछौँ ।’

उहाँले अहिले नेपाल टी-२० लिगका कारण क्यानमाथि घेराबन्दी गरिएको भन्दै भन्नुभयो, ‘अहिले हामीलाई नेपाल टी-२० का कारण घेराबन्दी गरिएको छ । अब सन्दीपका विषयमा हामी कानुनी परामर्शपछि अघि बढ्नेछौँ ।’

चन्दले आइसिसीले नेपालको कानुनले खेलाउने अधिकार दिन्छ भने आइसिसीलाई कुनै अप्ठेरो नपर्ने बताएको उहाँले जानकारी दिनुभयो । चन्दले भन्नुभयो, ‘आइसिसीले हामीलाई कानुनले दिन्छ भने खेलाउन अनुमति दिएको छ । अब कानुनी परामर्शपछि सन्दीपको विषयमा अन्तिम निर्णयमा पुग्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?