काँग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले संसद भित्रको व्यस्तताका कारण केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा काँग्रेस रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको कार्य समितिको बैठक बस्यो । आगामी २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली काँग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसद भित्र व्यस्तता भएकाले केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा पनि हामी अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा छौँ ।’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रश्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ । उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो । हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ । उहाँको प्रश्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ, आफैँ पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’

प्रमुख सचेतक लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?