राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङबेशीमा हुने

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङको धादिङबेशीमा हुनेभएको छ । १२ देखि १४ फागुनसम्म धादिङबेशीमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी गराउनुभयो । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो महाधिवेशनको तयारी पूरा भएको उनले जानकारी गराइएको हो ।

देशभरबाट २६ हजार ११८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भन्नुभयो, ‘खर्च कम गर्न पनि हामीले महाधिवशेन तीन दिन राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं’, उहाँले अगाडि थप्नुभयो, ‘१३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं ।’

अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्यबाट र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् ।

प्रतिष्ठानका महासचिव सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी जम्मा ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेका छन् । प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र दुई हजार ७७३ र २३ जना आजीवन सदस्य छन् । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन् ।

पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले प्रतिष्ठानले देश विदेशमा रहेका नेपाली लोक गायन क्षेत्रका कलाकारलाई समेटेर लोक संगीतको विकासमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो । प्रतिष्ठानमा कुनै फुटको सम्भावना नरहेको उहाँले दाबी गर्नुभयो । प्रतिष्ठानको बारेमा चित्त दुखाएका कलाकार साथीहरूलाई आफूहरूले फकाएर आउँदो समयसँगै अघि लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?