अभिनेता पल शाह जेलमुक्त

Read Time = 3 mins

पोखरा । अभिनेता पल शाह जेलमुक्त हुनुभएको छ । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उहाँलाई आइतबार सफाइ दिएको थियो । जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उहाँ सोमबार छुटनुभएको हो ।
बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गर्नुभएको थियो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

बाहिर जम्मा भएको भीडलाई अभिवादन गर्दै कारागारबाट निस्किएका शाहले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । रिहा हुँदै गर्दा उहाँले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सबैलाई धन्यवाद भन्न चाहन्छु ।’ छोटो कपाल, आँखामा कालो चस्मा, गलामा फूलमाला, अनुहारमा अबिरले रंगीनुभएका उहाँ खुशी देखिनुहुन्थ्यो । उहाँलाई हेर्न र सेल्फी खिच्न चाहानेहरूको कारागार परिसरमा बाक्लो भीड थियो ।

बहिनी रोशनी शाहलगायत परिवारका सदस्य र नजिकका साथीहरूबाट घेरिनुभएका उहाँ सेतो कारमा चढेर त्यहाँबाट निस्किनुभएको थियो । उहाँ त्यहाँबाट पोखरातर्फ लाग्नुभएको थियो । एकदिन पोखरामा बसेर मंगलबारमात्रै काठमाडौं फर्किने पारिवारका सदस्यले जानकारी गराएका छन् ।

फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन
अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई उच्च अदालत पोखराले दिएको सफाइको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । आजाद मोर्चाले सोमाबार नाबालिका बलात्कारको आरोपीलाई सफाइ दिएको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कारी राज्य सत्ता मुर्दावाद’, ‘अदालती पितृसत्ता मुर्दावाद’, ‘छोरीहरूलाई बाच्न देऊ’, ‘समीक्षालाई न्याय दे’ जस्ता नारा लगाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?