पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन, खराब मौसमका कारण आइतबारको खोजी कार्य स्थगित

हिमालय टाइम्स
Read Time = 5 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर (९ एन ए के ई कलसाइन) विमान आइतबार राति यो समाचार तयार हुँदासम्म पनि भेटिएको छैन । आइतबार पोखराबाट उडेको विमान मुस्ताङ लेते पुगेपछि १० बजेर सात मिनेटमा सम्पर्कविहीन भएको थियो । मुस्ताङको मानापाथी हिमालको मुनि दुर्घटनामा परेको भन्ने खबर स्थानीयबाट प्राप्त भनिए तापनि स्थलगत पुष्टि भने अझै हुन सकेको छैन ।

भौगोलिक कठिनता र प्रतिकूल मौसमका कारण जहाज दुर्घटना भएको आशंका गरिएको क्षेत्रमा पुग्न कठिन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान १०ः३० बजेदेखि नै नेपाली सेनाको टोली जहाजसहित खोजी कार्यमा जुटे पनि सफल हुन नसकेको हो ।

मुस्ताङको खवाङदेखि चार घण्टा पैदल हिँडेर पुग्न सकिने मानापाथी हिमालको मुनि जहाज दुर्घटना भएको प्रारम्भिक जानकारी सेनालाई प्राप्त भएको छ । यद्यपि, आइतबार उक्त ठाउँमा पुग्न सम्भव नभएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो, ‘मौसम अझै खुलेको छैन । हेलिकोप्टर उड्ने अवस्था छैन । अब राति पनि भयो । केही खबर पाए राति पनि उद्धार त हुन्छ तर, यही अवस्थामा उद्धारको सम्भावना आजलाई कम हुँदै गएको छ । हामी सोमबार बिहानदेखि नै फेरि लाग्छौँ ।’

आइतबार दिनभर पानी परिरहेको र बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर तथा सेनाको फौज त्यहाँ पुग्न नसकेको हो । पोखरा विमानस्थलबाट जोमसोम जानेक्रममा विमान एकाएक सम्पर्कविहीन भएको थियो । विमान हराएको सूचनासँगै पोखरा विमानस्थलमा विमानमा रहेका यात्रुहरू आफन्तको अवस्थाबारे जानकारी लिन शोकाकुल हुँदै भेला भएका थिए ।

विमानका चालकको मोबाइल नेपाल टेलिकमको टावरसँग सम्पर्कमा आएको भन्दै सम्भावित स्थानमासमेत खोजी केन्द्रित गरिएको थियो । खोजीमा निजी र सेनाको हेलिकप्टरको प्रयोग गरे पनि खराब मौसमका कारण विमानबारे यकिन जानकारी पहिल्याउन सफल भएन । तारा एयरले जारी गरेको विज्ञप्तिमा न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल क्षेत्रमा खोजी भइरहेको उल्लेख गरेको थियो ।

पोखराबाट जोमसोमका लागि ९ः५५ मा उडेको तारा एयरको विमान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ को समयमा सम्पर्क भएको देखिएको थियो । त्यसपछि एकाएक सम्पर्कविहीन भएको विमान र सवार यात्रुबारे केही जानकारी खुलेको छैन । विमान खोज्न सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन गरिएको थियो । सेनाको एमआई १७ सँगै फिस्टेल एयरको हेलिकप्टरसमेत खोजीमा प्रयोग गरिए पनि आइतबार कुनै उपलब्धि भएन । आइतबारका लागि जोमसोममा दुईवटा विमान सफल अवतरण गरिसकेका थिए ।

जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?