मोदीको लुम्बिनी भ्रमणबाट धार्मिक पर्यटनमा टेवाको सम्भावना

Read Time = 6 mins

मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीको अवसर पारेर नेपालको लुम्बिनी क्षेत्र भ्रमण गर्नुभयो । लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । कपिलवस्तुका राजा शुद्धोधन र मायादेवीका पुत्रका रूपमा अहिलेभन्दा २५६६ वर्षअघि त्यहाँ जन्मिएका सिद्धार्थ गौतम आफ्नो त्याग र तपोवलका कारण गौतम बुद्ध बनेका थिए । उनले भारतको बोधगयामा पिपलको रूखमुनि तपस्या गरी ज्ञान प्राप्त गरेका थिए । उनको जीवनको धेरै समय भारतकै विभिन्न ठाउँमा बितेको थियो । यही आधारमा भारतले गौतमबुद्ध भारतकै हुन् भनेर प्रचार गर्ने गरेको छ । मोदीको लुम्बिनीको भ्रमणले यो भ्रमलाई चिर्न सहयोग पुग्नेछ । उहाँले बुद्धजयन्तीको सन्दर्भ पारी यहाँको धार्मिक भ्रमण गर्नुभएको हो ।

उहाँले नेपालको बुद्धजन्मस्थलको भ्रमण गर्न पाएकोमा खुशी छु भन्नुभएको छ जसले गर्दा यो कुरालाई पुष्टि गर्नमा सहयोग पुग्नेछ । मोदीले यहाँको केवल धार्मिक भ्रमणमात्र गर्नुभएको छैन यसका साथसाथै दुई देशबीच केही उद्घाटन तथा केही सम्झौता भएका छन् । यसलाई उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ । यो भ्रमण मोदीको पहिलो लुम्बिनी भ्रमण हो । उहाँले नेपालको प्रशंसा गर्नुभएको छ । यस क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । उक्त विमानस्थल नियमित सञ्चालनमा आएको छ । साथै अरुण चौथो आयोजनाको विकास र कार्यान्वयका लागि सतलज जलविद्युत लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको आगमनले नेपालको धार्मिक पर्यटनमा नयाँ उत्साह थपिएको छ । संसारमा धार्मिक भ्रमण गर्ने तीर्थयात्रीहरू ठूलो संख्यामा छन् । भारतीय प्रधानमन्त्री मोदीले यस ठाउँको भ्रमण गरेपछि संसारभरिका अन्य धार्मिक पर्यटक वा तीर्थयात्रीहरू बढ्ने कुरा निश्चित छ । मोदीको पोखरा तथा मुस्ताङ क्षेत्रको भ्रमणपछि धार्मिक क्षेत्रमा तीर्थयात्रीहरूको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको स्मरणीय हुन आउँछ । यसैगरी उहाँले जनकपुरस्थित जानकी मन्दिरको भ्रमण गरेपछि त्यस क्षेत्रमा भारतीय तीर्थयात्रीहरूको संख्या उल्लेख्य वृद्धि भएकाले हाल उहाँले गरेको लुम्बिनीको भ्रमणबाट यस क्षेत्रमा धार्मिक पर्यटनको वृद्धि हुने कुरा निश्चित छ । लुम्बिनी क्षेत्र भारतबाट नजिकै भएकाले भातरतीय तीर्थयात्रीहरूका लागि सहज छ, यसमा सन्देह छैन ।

मोदीको यस भ्रमणका सन्दर्भमा भएका सम्झौताबाट नेपाल लाभान्वित हुनसक्छ । यसरी समय सन्दर्भमा हुने सम्झौताहरूको कार्यान्वयन गराउन भने नेपालले सक्रियता देखाउनुपर्ने हुन्छ । मोदीको यस भ्रमणका क्रममा नेपाल-भारत दुवै देशका प्रधानमन्त्रीहरूको भेटवार्ता भएको थियो । उहाँहरूले नेपाल-भारतबीच भएका विभिन्न छवटा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । बौद्ध दर्शनका लागि डा.अम्बेडकर चेयर स्थापना गर्ने विषयमा भारतीय सांस्कृतिक सम्बन्धन परिषद् र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको थियो भने त्रिभुवन विश्वविद्यालयमा भारतीय चेयर स्थापना गर्ने भारतीय संस्कृतिक सम्बन्धन परिषद् र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आइसिसिआर चेयर स्थापना गर्ने जस्ता विषयमा सम्झौता भएको छ ।

यसैगरी नेपालको केयु र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीचको सहयोग सम्झौता, केयु र भारतको उक्त इन्स्टिच्युटबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने विषयमा पनि नेपाल-भारतबीच सम्झौता भएको छ । मोदीको यो भ्रमण नेपालका लागि फलदायी हुनसक्छ तर गरिएका सम्झौताहरूको कार्यान्वयनमा भारतभन्दा नेपाल नै बढी सचेत भएर तिनको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता छ । किनभने यस्ता सन्धि तथा सम्झौतामा भारत-नेपालभन्दा बढी नै आफू लाभान्वित हुनेगरी सचेतताका साथ प्रस्तुत हुनेगरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?