मेरो अतीत मेरो अनुभव

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ रमेशप्रसाद गौतम
गत अंकबाट क्रमशः
मैले साथीहरूलाई म अब यस विद्यालयमा छाड्नु पर्‍यो भनेर आफ्नो कुरा बताएर छाडेको थिए । साथीहरूलाई चित्त बुझिरहेको थिएन । त्यसैले म भन्दा अगाडि फष्ट ब्वाई सुशीलकुमार श्रेष्ठलगायत सबैजसो साथीहरू तँ पढ्ने स्कुलमा पढ्छौ भनी आए । जन प्रभात हाइस्कुल त्यसै साल स्वीकृत भएकाले त्यहाँ विद्यार्थी संख्या बढाउनु नै थियो । त्यस उसले गर्दा मेरा सबै साथीहरूलाई सजिलै भर्ना गरिदिए । त्यस वर्ष १० कक्षा सीताराम हाइस्कुलमा अत्यन्त न्यून साथीहरूमात्र रहे । यस घटनाले विद्यालयको आन्तरीक प्रशासन विच पनि मन मुताब उब्जीयो । तत्कालीन हेडमाष्टरलगायत शिक्षकहरूले विद्यालय छाड्ने काम पनि भए । विद्यालय सुध्रिनुको सट्टा अरू अस्थिर र कमजोर हुँदै गए ।

अब त्यसतर्फ चासो लिनुभन्दा आफ्नो करियर बनाएर प्रवेशिका परीक्षा राम्रो गर्नेतर्फ ध्यान दिन थाल्यौ । छोटै अवधिमा जन प्रभात हाइस्कुलका साथीहरू निकै घनिष्ट हुन थाले । साथीबीच रमाई हास खेल गरी दिनहरू बित्न थाले । विद्यालयका हर क्रियाकलापमा सहभागी भयौ । यसैबीच हाम्रो एस.एल.सी टेष्ट परीक्षा पनि आयो हामी सबै परीक्षाको तयारीमा लाग्यौ टेष्ट उत्तीर्ण पछि लगतै एस.एल.सी परीक्षा पनि आयो । परीक्षा हामीहरूले मिहिनेतका साथ दियौ । मलगायत साथीहरू सफल भयौ ।

हाइस्कुल पार गरेपछि आएर महेन्द्र रत्न कलेजमा बिहान पढन थाले । दिउँसो फुर्सद भयो । सीताराम हाइस्कुलमा पढाउन त्याहाँका हेडसरले बोलाउनुभयो । आफूले अध्ययन गर्दा छाडेको विद्यालयमा के जानु जस्तो लाग्यो पनि स्कुलप्रतिको मोह भने म मा थियो । त्यस उसले गर्दा म त्यहाँ पढाउन गए । हेडसरले सुरुकै दिनदेखि कक्षा ९ र १० मा पढाउन अनुमति दिनुभयो । तिनताका गणित र साइन्सबाहेक सबै विषय पढाउन सक्दथिएँ । विद्यार्थी साथीहरूले पनि मैले पढाएको चित्त बुझाए ।

यसैबीचमा २०२२ सालदेखि बेलुका जनप्रभात रात्रि प्रौढमा पढाउन त्यहाँका हेडसरले बोलाउनुभयो । त्याहाँ पनि २०२२ सालदेखि २०२८ सालसम्म पढाए । २०२६ सालमा सरस्वती कलेजमा बि.ए पढ्दै गर्दाको अवस्थामा मलाई अंग्रेजी पढाउने मेरा आदरणीय गुरु प्रा.आशा राम शाक्यले परोपकार हाइस्कुलमा पढाउनका लागि जोड गरेर लग्नुभयो ।

त्यहाँ झण्डै पाँच वर्ष पढाउँदै गर्दाबीच स्कुलमा तत्कालीन सञ्चालक समितिमा शिक्षक प्रतिनिधि निर्वाचनबाट चुनेर पठाउने चलन थियो ।

त्यसमा प्रजातान्त्रिक शिक्षकका तर्फबाट म उठे भने अर्का वाम विचारक पुरुष रत्न बज्राचार्य पनि उठ्नुभयो । पुरुजी पनि मिलनसार र सहयोगी साथी नै हुनुहुन्थ्यो । हामी दुईबीचको निर्वाचनमा अत्याधिक मतले मैले जिते । सरस्वती कलेजमा पढ्दा पनि ने.वि.संघको विद्यार्थी थिए । सरस्वती कलजेमा पहिलोपटक मछिन्द्र पाठकलाई अध्यक्ष जितायौ भने दोस्रो पटकको चुनाव नारायण नरसिंह केसीलाई जितायौ । यसरी विद्यार्थी कालमा ने.वि. संघप्रति प्रतिबद्ध हुँदै आएको हो ।

२०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि परोपकार स्कुलको बिहानी सिफ्टमा नारी प्रौढ स्कुलको इन्चार्ज सहायक प्रधान अध्यापक बनाउन परोपकारका हेडसर हितकर वीरसिंह कंसाकार र प्रा.आशा राम सरको बल जोडले मलाई बनाइयो । सबैको साथ सहयोगले बिहानको पठनपाठन कार्य राम्रो गर्दै थिए । अचानक मेरो इच्छाविपरीत परोकारबाट दरबार हाइस्कुलमा सरुवा गरियो । परोपकारको विद्यालय सहयोग समिति र विद्यालय प्रशासनले मलाई परोपकारमै राख्न बल जोड गर्दा पनि शिक्षा कार्यालयले सुनुवाही नगर्दा म बाध्य भएर दरबार हाइस्कुल जानु पर्‍यो ।

त्यहाँ पनि दिवा सिफ्ट इञ्चार्ज सहायक प्रधानाध्यापकको रुपमा काम गर्ने जिम्मेवारी दिएको थियो । त्यहाँ काम गरेको झण्डै ३ वर्षपछि कीर्तिपुर मा.वि.मा प्र.अ.को रूपमा सरुवा गरियो । यो विद्यालय पनि अव्यवस्थित थियो, र वागभैरव मन्दिरमा निम्न माध्यामिक कक्षा चलाउनुपर्द थियो भने तल बेशीमा हाइस्कुलका कक्षाहरू ठाउको अभावमा चलाउनुपरेको थियो । तीन वर्षे मेरो कार्यकालमा सबै प्राथमिकदेखि हाइस्कुल एकै भवनमा सञ्चालन गर्ने व्यवस्था गरियो । सबैको साथ सहयोगमा विद्यलयको शैक्षिक स्वरूपनै बदलियो । यसैबीचमा २०३५/०३६ सालको कुरो हो एक्कासि शिक्षा सचिवले बेलुकी पद्योदयको भवनको विस्तारित शिक्षा क्याम्पसमा पढाउँदै गर्दा फोन आयो । उहाँले तपाइँ भोलि १० बजे शिक्षा मन्त्रालय आउनु भन्नुभयो ।

भोलिपल्ट शिक्षा मन्त्रालय पुग्दा सचिवज्यूले तपाइँलाई हेडमाष्टरबाट शिक्षा अधिकारीमा नियुक्ती गरिएको छ तयार भएर सिन्धुली जिल्लाको जिल्ला शिक्षा अधिकारीमा जानु भन्नुभयो । म धेरै अकमक्क परे । मेरा आफन्तहरूले पनि नजान सल्लाह दिइरहेका थिए । यसैबीच नयाँ सडकको पिपलबोट मुनि हरि दाइ र जनकनाथ प्याकुरेल सरसँग भेट भयो । उहाँहरू दुवैले ढुक्क भएर जा राम्रोसँग चलाउन सक्छौ, यहाँबाट हाम्रो सहयोग हुन्छ भन्नुभयो । जनक दाइले तँ हाम्रो कान्छो हेडमाष्टरले कसरी प्रशासन चलायो हेर भनेर हामी मन्त्रालयदेखि जिल्लासम्मका अधिकारीलाई भन्ने मौका दिन्छौ जाऊ जाऊ भने ।

आफन्तहरूले नजा भनिरेको अवस्था थियो । त्यसपछि केही हौसाला बढ्यो र सिन्धुली गएँ । सिन्धुलीमा शैक्षिक स्थिति गिर्दो थियो । पठनपाठनमा खासै शिक्षकहरूको दिलचस्मी देखिँदैनथ्यो । निर्दल र बहुदलको चर्चा बढ्न थाल्यो । तथापि राष्ट्रिय अभियानका रूपमा आएको बहुदलीय विचारप्रति मेरो प्रवल आस्था भएर पनि खुलारूपमा लाग्न भने निजामती कर्मचारी ऐनले बाधा दिन्थ्यो । तर पनि प्रजातन्त्रवादी शिक्षकहरूलाई हौसला भने दिने गर्दथेँ । त्यहाँको बिग्रँदो परीक्षा प्रणाली अव्यवस्थित कक्षा सञ्चालन प्रक्रिया छोटो समयमा व्यवस्थित बनाउने कार्यमा लागियो ।

सबै पक्षको सहयोग र सद्भावना भने पाएँ । तत्कालीन एसएलसी परीक्षामा अनुशासनहीन काम गर्न नदिन र चिट चोर्न नदिने वातावरण मिलाउन सिन्धुलीमाडीको कमला मावि केन्द्रमै आफैँ उपस्थित भई परीक्षा हलभित्र चिट चोर्न दिइन । बाहिर अभिभावकको भीडलाई कम्पाउण्डभित्र छिर्न नदिँदा केही हुल्लडबाजले हातपातसमेत गर्न आउँदा कत्ति पनि नडराई त्यो भीडसँग सामना गरी परीक्षा सुचारु र अनुशासित रूपमा सञ्चालन गरियो । त्यसपछिका वर्षमा सहजै अनुशासित रूपमा परीक्षा सञ्चालन हुँदै गए । पछि केही हुलहुज्जत गर्नेलाई कारबाही गर्न खोज्दा मैले कारबाही गर्न दिइन । आइन्दा यस्तो गल्ती हुनेछैन भनी आपूmले गरेको भुललाई महसुस गरेपछि पुगिहाल्यो भनेँ । स्थानीय प्रशासनलाई सम्झाएँ ।

सिन्धुलीमा २०३६ साल माघ महिनाको कुरा हो तत्काल निर्दल र बहुदलको निकै चर्चा थियो त्यसै क्रममा केन्द्रबाट भूतपूर्व सैनिकका अध्यक्ष हरेन्द्रबहादु्र थापा निर्दलको प्रचारमा आए । सिन्धुलीमाढीको खुला चौरमा उपस्थित भेलालाई सम्बोधन गर्न थाले । यसै क्रममा बहुदलवादी शिक्षकहरूलाई सम्बन्धित प्रशासक र जनप्रतिनिधिले सरकारी भत्ता खाएर बहुदलको प्रचार गर्नेलाई विद्यालयबाट हटाउन भने । कार्यक्रम सकेपछि केही विद्यार्थी र शिक्षकले हरेन्द्रबहादुरजीहरूलाई सिन्धुलीमाढीबाट काठमाडौं जाँदै गर्दा माढी बजारमै रोके र त्यहाँ शिक्षक र विद्यार्थी ठूलो समूहमै थियो । राजा स्वयंले जनतालाई स्वेच्छाले निर्दल र बहुदल रोज्ने घोषणा गर्दा गर्दै यसरी बहुदलवादी आरोप लगाउने र जागिरबाट खोस्न खोज्ने तपाईं को ? भन्दै शिक्षकहरूले विरोध गरेका थिए ।

यो शिक्षकको अपमान हो भन्दै गलबद्दी गरिरहेका थिए । यस्तो अवस्थामा तत्कालीन जिल्ला सभापतिले मेरो अफिसमा आएर शिक्षक-विद्यार्थीलाई सम्झाउन आग्रह गरे । यसरी बाहिरबाट आउनुभएका पाहुनालाई अपमान गराउनु भएन भने । मैले पनि शिक्षकमाथि पनि अपमान भयो नि भनेँ । त्यसपछि केही छिनमै म शिक्षक साथीहरूलाई सम्झाउन पुगेँ । शिक्षकले यस किसिमको व्यवहार देखाउनु शोभनीय हुँदैन, पछि अफिसमा बसेर छलफल गरौँला भनेँ । शिक्षक–विद्यार्थीलाई यस विषयमा म स्कुलमै आएर कुरा गर्छु भनेँ । यसपछि उनीहरू सबै आ-आफ्नो बाटो लागे । म अफिसमा फर्किएँ । म अफिसमा पुग्दानपुग्दै एकैछिनमा जिल्ला सभापति र हरेन्द्रबहादुरजीहरू मेरो अफिस कोठामा प्रवेश गरे ।

हामीले चियासमेत खाएका छैनौं भन्नथाले । यसपछि मैले नजिकैको होटलबाट चिया र जेरी एक-एकवटा मगाएर खान दिए । त्यसपछि उनीहरू जनकपुरतर्फ लागे । उनीहरूलाई शिक्षकलाई सिधैँ अपमान हुनेगरी यसरी बोल्नु नहुने थियो भनेँ । शिक्षकहरू भोलिपल्ट मेरो अफिसमा आएर हामीलाई अपमान गर्ने मान्छे हाम्रो कार्यालयमा किन आए भन्न थाले । मैले यो सार्वजनिक अफिस हो आउँन सक्छन् भने र उनीहरूलाई शिक्षकलाई अपमान हुनेगरी बोल्नु नहुने कुरा बोले भनेर सम्झाएँ । यसपछि शिक्षकहरू यस विषयमा कुरा गर्न छाडेर अन्य शैक्षिक कुराहरूमा छलफल गर्न थाले । जनमत संग्रहपछि शिक्षक र कर्मचारीलाई कारबाही गर्नबाट बचाउने काम पनि गरेँ । विभिन्न माथिल्ला तहबाट कारबाहीका लागि आएका दबाबलाई समझदारीबाटै सुल्झाउने काम भयो ।

तथापि आफूले नचाहेर पनि केही शिक्षकलाई विद्यालय छाडी झापामा आयोजित नक्सालवादीहरूको बैठकमा भाग लिई फर्किएको हुँदा स्पष्टीकरण सोधी आइन्दा विद्यालय छाडी नजाने सर्तमा कारबाही टुंग्याएँ । तत्कालीन ढुङ्ग्रेबासस्थित कमला माविका प्रअलाई निष्काशन गर्न अञ्चल तथा जिल्ला प्रशासनबाट पत्र आयो । यसमा मैले कारबाही गरिनँ । मैले कारबाही गरेन भनेर केन्द्रबाट निर्देशक रामेछापका केही शिक्षकलाई कारबाही गरी सिन्धुलीमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएँ । मैले तत्कालै जनकपुर पुगी शिक्षा सचिव तेजबहादुर प्रसाईंलाई यस सम्बन्धमा यथार्थ जानकारी गराई कुनै पनि शिक्षकले अवकाश पाउने गरी बदमासी नगरेको अवगत गराएँ । यसपछि सचिवले निर्देशकलाई सिन्धुली नजानु भन्ने खबर पठाउँछु भन्नुभयो ।

अञ्चल प्रशासनबाट पनि कमला माविका प्र.अ. गोविन्द गजुरेललाई राजनीतिक आस्थाका कारण तत्कालै कारबाही गर्नू भन्ने पत्र आएको थियो । यस सम्बन्धमा मैले अञ्चलाधीशलाई पनि तपाईंको आयोगको रिपोर्ट अनुसारको खराब शिक्षक होइनन् विशुद्ध शिक्षक हुन् भने । यस जिल्लाको शैक्षिक दृष्टिकोणले सबभन्दा राम्रा प्रअ भनेका सिन्धुली झाँगाझोली माविका प्रअ केशवप्रसाद भट्टराई र कमला माविका गोविन्द गजुरेल यी दुबै अब्बल शिक्षक हुन् यहाँ भने प्र.अ.केशव भट्टराईविरुद्ध माननीय खनिएका छन् ।

गोविन्द गजुरेलका विरुद्ध अञ्चल र जिल्ला प्रशासन नै लागेको छ । यो मलाई ठीक लागेन भनेर अञ्चलाधीश धर्मबहादुर थापालाई भनेपछि उनले तपाईंलाई यत्रो विश्वास छ भने कारबाही नगर्नुहोस् मेरोतर्फबाट सहयोग नै हुन्छ भन्नुभयो । त्यस्तै अर्को एउटा उदाहरण छ जनमत संग्रहको समयमा सिन्धुलीको हत्पते भन्ने ठाउँमा शिक्षा कार्यालयको एकाउण्टेन्ट टंक राउतलाई मतदान अधिकृत बनाएर पठाएका थिए । त्यहाँ उनले मतपेटिकामा आफैंले भोटर लिष्टमा भएका भोटर्सहरूको जति संख्या छ ती सबैमा स्वस्तिक छाप लगाएर सिलबन्दी गरेर ल्यायो भनेर जिल्ला प्रशासनमा रिपोर्ट आएको रहेछ ।

अनि पछि सिडिओले यस्ता कर्मचारीलाई अवकाश दिनुपर्छ भने, त्यसमा मैले बिमति जनाएँ । जिल्लामा अरू पनि यस्ता कर्मचारी छन् तिनलाई पनि एउटै लिष्ट बनाएर अवकाशका लागि पठाउने कुरा गरेँ । मेरा मातहतका कर्मचारीका लागि म जिम्मेवारी लिन्छु यिनलाई हटाउन म सहमत छैन भनेँ । सिडिओलाई फेरि सम्झाएँ कसैको जागिर खोस्नु भनेको ठूलो पाप हो । जागिर खोस्दा उनका परिवार र आफन्तसमेत दुःखी हुन्छन् र यसले जागिर खानेलाई पिरोल्दछ । अनि सिडिओले भने यो कुरा त मेरो पिताजीले पनि कसैको दानापानी हर्नु हुँदैन भनेका थिए । तपाईंको कुरामा म सहमत छु अब म कसैको पनि जागिर खोस्ने लिष्ट पठाउँदिन भने ।

जनमत संग्रहकै समयमा विपिन कोइरालाले २०४६ साल पुस १ गते कालो झण्डा बोकेर सिन्धुलीमाढी बजार परिक्रमा गरे भनेर सिडिओले उनलाई थुने । पछि धेरै साथीहरू म भएको ठाउँमा आएर यो ठीक भएन उनलाई छुटाउनु पर्‍यो भनेपछि उनीहरूसँगै म गएर जमानीमा छुटाएँ । लगतै शिक्षक आन्दोलन भयो यस घटनामा त्यहाँका सबैभन्दा अब्बल योग्य तत्कालीन शिक्षक संघको अध्यक्ष प्र.अ. केशव भट्टराईलाई जिल्ला प्रशासनले थुन्यो ।

त्यसबीचमा म आफैं गएर सिडिओलाई अनुरोध गरी उनलाई छुटाएँ । यस्ता थुप्रै घटना छन् जहाँ मैले सकेसम्म कसैमाथि अन्याय हुन नदिन लागिपरि नै रहेँ । जनमत र अन्य आन्दोलनका कारणबाट योग्य प्र.अ. शिक्षकहरूलाई पनि बढुवा र स्थायी गर्ने क्रममा आफूले शिक्षकको योग्यता र चाहना अनुसार गर्न नपाउँदै त्यहाँबाट मकवानपुर जिल्ला सरुवा हुनुपर्‍यो । क्रमशः

पहिलो अंक

https://ehimalayatimes.com/2022/05/7559/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?