बागमती प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत : कृषि, स्वास्थ्य, शिक्षा र युवा लक्षित कार्यक्रममा जोड

हिमालय टाइम्स
Read Time = 6 mins

श्रीराम अर्जुन/हिटा
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ । सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । यही जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशन अन्तर्गतको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने रहेको छ । त्यस्तै, विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यमबाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिकसँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकुदको आयोजना गरिने नीति तथा कार्यक्रममा छ । साथै श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषयलाई कार्यक्रममा समेटिएको छ ।

त्यस्तै, सरकारले हेटौँडा अस्पताललाई २०० बेड क्षमतामा विस्तार गर्ने र धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौँडा अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सञ्चालन गर्ने कार्यक्रम प्रस्तुत गरेको छ । यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरी आफ्नै स्वामित्वमा अस्पताल निर्माण गर्ने कार्यक्रम अघि सारिएको छ । सरकारले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तहसँगको सहकार्यमा नमुना केन्द्रको रूपमा स्तरोन्नति गर्ने कार्यक्रम पनि अघि सारेको छ । त्यस्तै, सरकारले स्थानीय तहसँगको सहकार्यमा दलित, अपांग, सीमान्तकृत एवं विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गर्ने भएको छ ।

प्रदेश प्रमुख शर्माले कोही पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नका लागि यो योजना अघि सारिएको बताउनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम थप प्रभावकारी बनाउँदै लैजाने, जनता पोषण कार्यक्रम, स्वास्थ जीवनशैली प्रवद्र्धन बागमती प्रदेशको अभियान कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा अभियान सञ्चालन गर्दै प्रदेशभरका खरका छाना मुक्त बनाई कार्यक्रमहरू सञ्चालन गरिनेछ । आत्मनिर्भर कृषिः समृद्ध प्रदेश भन्ने नारालाई सार्थकता दिन कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो ।

सरकारले अण्डा, माछामासु, आलु प्याज, लसुन र अदुवा लगायतका वस्तुहरूमा आत्मनिर्भर बनाउन कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले प्रदेश भित्रका गरिब तथा विपन्न कम्तीमा १० हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा एक वडा एक साना उद्योग कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्न नेपाल आर्ट भिलेजद्वारा ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछाप र छम्पी गाउँमा निर्माणाधीन ७२ फिट अग्लो भैरव देवताको मूर्ति निर्माणस्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी प्रदेशको पर्यटन क्षेत्र विकासका लागि आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय स्थलहरूको विकास गरी घुमफिर वर्ष २०७९ कार्यक्रम गरिनेछ ।

धादिङमा रुबीभ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिनुका साथै गुरु योजनाबमोजिम हेटौँडाको समग्र विकासका लागि कार्यक्रमहरू राखिएको छ । सवारीसाधन अनुमतिपत्रको परीक्षालाई पनि थप व्यवस्थित बनाइनेछ । यात्रुको सुरक्षा, सवारीको पहिलो प्राथमिकता अभियान सञ्चालन गरिनेछ । प्रदेश प्रमुख शर्माले १६९ वटा बुँदामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?