राकेशभक्त पौडेलको मृत्यु प्रकरण : वास्तविक हत्यारा लुकाउन खोजिएको परिवारको दाबी

Read Time = 6 mins

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिनुभएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको दाबी गर्दै उहाँका परिवार काठमाडौं आएको छ । परिवारले राकेशभक्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको मागसमेत गरेको छ ।

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले उक्त घटनाको निष्पक्ष छानबिन नगरेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका माइला बुवा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या नै भएको भन्दै उक्त प्रकरणमा प्रहरीले सहयोग नगरेको गुनासो पोख्नुभयो । पौडेलले घटना भएलगत्तै बाराको सिमराका डिएसपी आफूसँग अल्पलाइन अस्पताल पुगेको र मृतकको शरीरमा घाउ–चोट नदेखिएकै भरमा यो सामान्य मरण मात्र भएको भन्दै फर्किएको उल्लेख गर्नुभयो । डिएसपीको निर्देशनपछि इन्सपेक्टर घटनास्थल पुगेको तर सबै प्रमाण पानीले धोइपखाली गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘प्रमाण त झन् सुरक्षित राख्नुपर्दथ्यो, तर त्यहाँ त उल्टै धोइपखाली गरेर नष्ट गरियो ।’

उहाँले भन्नुभयो, ‘मृतकको टाउको पछाडि चोट लागेको छ भनेर जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेन । त्यो लाइन हटाउन लगायो, तर हामी मानेनौँ । हाम्रा वकिलले धेरै बेर सम्झाएपछि मात्र जाहेरी दर्ता गरियो ।’ चार/पाँच जनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।

मृतकको शव पोष्टमार्टम गरेपछि मृत्युको कारण चिकित्सकलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको पनि उहाँले पत्रकार सम्मेलनमा सुनाउनुभयो । ‘४ सेमी लामो र १ सेमी गहिरो चोट रहेछ ।’ घाउको अवस्था हेर्दा हानेर मारेकै जस्तो प्रष्ट देखिने चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

भतिजको हत्या चुनावको दिन भएकाले पनि समस्या हुने भनेर परिवारले शव बुझेको उहाँले स्पष्ट पार्नुभयो । मृतकको शव देवघाटमा लगेर दाहसंस्कार भइसकेको छ । घटनाको ११औँ दिनमा सिमराका डिएसपी आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेश भक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पार्नुभयो । हत्या प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै पौडेलले भन्नुभयो, ‘उहाँहरूले भनेजस्तो सानी केटीले कुटोको बिँडले हानेर रगत आएपछि राकेश बाहिर गएर ढलेका होइनन्, चार/पाँच जनाले अगाडिबाट समातेको हुनुपर्छ र एक जनाले पछिबाट धारिलो हतियारले हानेको हुनुपर्छ ।’

सानो÷तिनो चोटबाट राकेश नमर्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘राकेशको त ६ फिटभन्दा बढी हाइट र ९० केजीभन्दा बढी तौल थियो । त्यत्रो अजंगको मान्छेलाई कसरी सानी फुच्चीले हानेर मार्न सक्छिन् ?’ घटना भएको घरकी बालिका र परिवारलाई प्रहरीसमक्ष सत्यतथ्य सबै बताईदिन आग्रह गर्दा उनीहरूले आफूहरूलाई केही थाहा नभएको मात्रै भनिरहँदा आफ्नो परिवारमा हत्या प्रकरणबारे झन् आशंका बढेको उहाँले सुनाउनुभयो ।

उहाँले उक्त प्रकरणमा शंकास्पद ११ जनाको नाममा गत जेठ ३ गते जाहेरी दिएको सुनाउनुभयो । बारा जितपुरसिमरा उपमहानगरपालिका–६ का चित्रबहादुर क्षेत्री, सन्तोष खत्री, उदव अधिकारी, खगेन्द्र थापा, केवी रिजाल लगायतको नाममा उहाँले जाहेरी दिनुभएको छ ।

मृतकको पर्समा भएका सामान आजसम्म परिवारले नपाएको पनि उहाँले बताउनुभयो । प्रहरीले उक्त घटनामा सुरुदेखि नै आफूहरूलाई असहयोग गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘प्रहरीले हामीलाई यो घटनामा सुरुदेखि नै सहयोग गरेको थिएन, घटनाको ११औँ दिनमा आएर नाबालक केटीलाई देखाएर हत्यारालाई लुकाउन खोजिएको छ । हामी न्यायको पक्षमा छौं । दोषीलाई तत्काल कारबाही हुनुपर्छ ।’ मृतक राकेश ठेक्कापट्टाको गर्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?