दुःखद दुर्घटनामा नौ जनाको मृत्यु, प्रहरी भन्छ- तीब्र गतिमा रहेको बसका चालक निदाएको हुनुपर्छ

हिमालय टाइम्स
Read Time = 8 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । रुपन्देहीमा आइतबार बिहान दुःखद बस दुर्घटना भयो । जसमा नौ जनाले ज्यान गुमाए । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी नदीको पुलबाट बस खोलामा खस्दा नौ जनाले ज्यान गुमाएका हुन् । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटनामा परेको हो । आइतबार रातिसम्म नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ ।

आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमानास्थित पुलबाट बस नदीमा खस्दा भएको दुर्घटनाका मृतकमध्ये एकजना पुरुषको भने सनाखत हुन सकेको छैन ।

सनाखत हुनेहरूमा रुपन्देहीको तिलोत्तमा-२ योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहनुभएको छ । त्यस्तै, रौतहटका २० वर्षीय दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सञ्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

बसमा दुईजना चालक र एकजना सहचालकसहित ३३ जना सवार थिए । जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । बसमा सवार रहेकामध्ये २४ जना घाइते छन् । घाइतेहरूको भैरहवास्थित मेडिकल कलेज, भीम अस्पताल, सिद्धार्थसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका थिए । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

जनकपुरदेखि भैरहवासम्मको बाटोमा दुर्घटनाका लागि जोखिम क्षेत्र भनेर पहिचान गरिएका थुप्रै सडक क्षेत्र पार गरेर आएको बस तराईको सम्म भूभागमा रहेको रोहिणी नदीमा बनाइएको पुलबाट खसेको हो । रोहिणी पुलको करिब बीचतिर आइपुग्दा बसले आफ्नो लेन छाडेर विपरीत लेनबाट तल खसेको छ । परासी क्षेत्रबाट भैरहवा आउँदा देब्रे लेनबाट आइरहेको बस पुलको करिब आधा भाग पार गरेपछि दायाँतिरबाट बार तोडेर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनास्थल र दुर्घटनाको प्रकृति हेर्दा लामो दूरीको यात्राका कारण चालक निदाएको वा ओभर स्पिडका कारण बस अनियन्त्रित भई पुलबाट खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बसका चालक नै घाइते भएको र अन्य घाइतेको पनि उद्धार र उपचारलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले दुर्घटनाको कारणबारे अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी पौडेलले बताउनुभयो ।

बिहान करिब पौने पाँच बजेतिर दुर्घटनाग्रस्त बस पुलमुनि उत्तानो परेर बालुवामा धसिएको अवस्थामा स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक केसीका अनुसार उत्तानो परेर पुलमुनि बालुवामा धसिएको बसभित्र यात्रुहरूको रुवाबासी थियो । प्रहरी निरीक्षक केसीका अनुसार सकुशल रहेका एक÷दुईजना यात्रु बसको सिसा फोरेर बाहिर निस्किएको भए पनि अधिकांश यात्रुहरू बसभित्रै घाइते अवस्थामा फेला परेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तत्कालै घटनास्थल पुगेर उद्धारमा खटिएको स्थानीयले बताएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस झण्डै साढे ११ घण्टाको यात्रा पार गरेर अन्तिम गन्तव्यमा पुग्नै लाग्दा पुलबाट खसेको हो । जनकपुरदेखि भैरहवासम्मको दूरी करिब ३७५ किलोमिटर हो । करिब ३७२ किलोमिटरको दूरी पार गरेको बस अन्तिम गन्तव्यमा पुग्न जम्मा तीन किलोमिटरको दूरी बाँकी थियो ।

दुर्घटना न्यूनीकरणका लागि लामो दूरीको यात्रामा दुईजना चालक राख्नुपर्ने नियम बनाइए पनि दुर्घटनग्रस्त बसलाई जनकपुरदेखि एकजना मात्रै चालकले हाँकेको दुर्घटनामा घाइते भएकाहरूले बताएका छन् ।

घाइतेको उपचारमा कुनै कमी नहोस् : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ । दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी उहाँले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिनुभएको हो । घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?