धितोपत्र बोर्डलाई १९ बुँदे ज्ञापन

Read Time = 3 mins

काठमाडौं । सेयर बजार सुधारका लागि सेयर बजार संघर्ष समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई पुँजी बजारको विकास र विस्तारका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विगतको एमाले सरकारले साढे तीन वर्षअघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिनाअघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पूरा गर्नुपर्ने, वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने, कमिसन ब्रोकर र फुल ब्रोकरको वर्गीकरण गरी वर्तमान ब्रोकरको चुक्ता पुँजी वृद्धि गर्न लगाई दुई वर्षभित्र कमिसन ब्रोकरको ५० करोड र फुल ब्रोकरको एक अर्ब पुर्‍याउनुपर्ने, ब्रोकरको शाखा विस्तार र उनीहरूले निर्माण गरेको टिएमएस सञ्चालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने उल्लेख छ ।

त्यस्तै गैरआवासीय नेपालीलाई तत्काल पुँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने, सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाले सेयर बजारबारे दिने सकारात्मक वा नकारात्मक अभिव्यक्तिमा बन्देज लगाउनुपर्ने, नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने, सूचीकृत साना कम्पनीका लागि एसएमई प्लेटफर्म तत्काल व्यवस्था गरी साना र नयाँ कम्पनीको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, वाणिज्य बैंकलाई खुला छाड्नुपर्ने, ब्रोकर कमिसनको माथिल्लो बिन्दु यथावत् राखी तल्लो बिन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिसनदर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्क घटाउनुपर्ने, दीर्घकालीन लगानीकर्ताका लागि तीन प्रतिशतमात्र पुँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने, सिडिएससीमार्फत् सेयर खरिदबिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्नेलगायतका माग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?