नयाँ वर्ष २०८० को शुभकामना

हिमालय टाइम्स
Read Time = 6 mins

हामीबाट २०७९ सालले बिदा लिएको छ, आजबाट नयाँ वर्ष २०८० को शुभारम्भ भइसकेको छ । समयको गति नित्यनिरन्तर चलिरहन्छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । ऋतु र महिनाहरू भने चक्र समान घुमिरहन्छन् । यही क्रममा आजबाट नयाँ सम्वत्सरको सुरुवात भएको हो । संसारमा समय सँगसँगै महामानवहरूको जन्म भएको छ र समय सँगसँगै तिनको अवसान भएको छ । नेपालमै पनि समय-समयमा अनेकौं प्रतिभा जन्मिए र आफ्नो समयको होनहार प्रतिभाका रूपमा छाप छोडेर जान सफल बने । मानिसहरूको संस्मरणमा तिनीहरू आइरहेका छन् र आइरहनेछन् । पृथ्वीनारयण शाह, जंगबहादुर राणा, चन्द्रशमशेर, राजा महेन्द्रहरूलाई पनि हामी कुनै न कुनै रूपमा सम्झिरहेका छौं र भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुवँर, भक्ति थापाहरूको पनि सम्झना इतिहासले गरिरहेकै छ ।

बीपी कोइराला, सुवर्णशमशेर राणा, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला जस्ता पात्रहरूलाई पनि कुनै न कुनै रूपमा संस्मरण गरिरहेका छौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, हाँस्यव्यंग्य क्षेत्रका महान् प्रतिभा भैरब अर्याल युगले एक पटक जन्माएका व्यक्ति हुन् । समय बलवान् छ । यसले कसैलाई पर्खिँदैन र आफ्नो गतिबाट कत्ति पनि यताउता नभई अगाडि बढिरहन्छ । यही क्रममा हमीबाट विक्रम संवत् २०७९ ले बिदा लिन पुगेको हो । गतवर्ष नेपालका लागि राजनीतिक रूपमा केही महत्वको रहृयो । आमनिर्वाचनहरू भए । नयाँ वर्षको सुरुमै स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।

त्यसभन्दा पहिले २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले उहाँको कदमलाई असंवैधानिक सावित गरिदिएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीहरूको गठबन्धन भएको थियो र तिनीहरूकै सरकार बनेको थियो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी पार्टीका रूपमा थियो । त्यसपछि उक्त पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको थियो । त्यही सरकारले आफ्नो गठबन्धन कायमै राखेर स्थानीय तहका निर्वाचन गरायो । निर्वाचनको परिणाम मिश्रित आयो तर गठबन्धन नै सबल रूपमा देखापर्‍यो ।

त्यसको छ महिनापछि पुनः संघीय संसद् तथा प्रदेशसभाका लागि आमनिर्वाचन सम्पन्न भयो । त्यसको परिणाम पनि सोही गठबन्धन सबल भएको पुष्टि हुनेगरी आयो । सरकार बनाउने बेलामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता भयो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो, तीन महिनामा सातपटक उहाँको मन्त्रिमण्डलमा हेरफेर हुनपुग्यो । आफू दोस्रो ठूलो पार्टी भएर पनि नेकपा एमालेले नेपाली कांग्रेसलाई सरकारमा जानबाट रोक्यो र माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्रीका रूपमा उभ्याएर आफूसरकारमा प्रभावशाली उपस्थिति जनायो । तर, दुई महिना बित्ता-नबित्दै पुनः पुरानै गठबन्धन कायम हुनपुगेको छ र नेकपा एमाले सरकारबाट बाहिरिएको छ ।

साथसाथै सरकारमा सामेल भएर उपप्रधानमन्त्रीको पदसमेत प्राप्त गर्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र उहाँको पर्टीको सरकारबाट बहिरगमन भयो भने एकाएक राष्ट्रिय पार्टी बन्न सफल, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा संलग्नता भएको केही समयपछि नै बहिरगमन हुन पुग्यो । यसबाट गतवर्षमा विशेषतः निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भएको भए तापनि राजनीतिक स्थिरता भने अझैसम्म कायम हुनसकेको देखिएको छैन । अब नयाँ वर्ष २०८० भने त्यस्तो नहोस्, राजनीतिक स्थिरता काय हुन सकोस् ।

पुनः बल्झिन थालेको कोरोनालगायत व्याधीहरूको संक्रमण समाप्त बनोस्, फैलिन नपाओस् । नेपाली जनताले अभाव र गरिबीको अवस्था झेल्नु नपरोस् । आगलागी, बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपको चपेटामा कोही पर्नु नपरोस् । सम्पूर्ण देशवासीहरूका साथै हाम्रा समस्त ग्राहक, विज्ञापनदाता, लेखक, पाठक, प्रशासन, लेखा, बजार व्यस्थापन, वितरणलगायत कर्मचारी तथा सबै शुभचिन्तकमा इम्प्रेसन पब्लिकेसन तथा मिडिया हाउस तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकको तर्फबाट नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?