राजनीतिभित्रका राजनीतिक परिदृश्य

हिमालय टाइम्स
Read Time = 6 mins

राजनीति नीतिहरूको पनि नीति हो । यसले अरू नीतिहरूलाई मार्गदर्शन र परिचालन गर्न सक्नुपर्छ तर, नेपालको सन्दर्भमा यसले विभिन्न नीतिहरूको मार्गदर्शन गर्न सकेको पाइँदैन । अरू नीतिको त कुरै छोडौं राजनीति आफैंमा मात्र पनि सही बाटोमा हिँड्न सकेको छैन । राजनीतिभित्रका राजनीतिहरूले सबै क्षेत्र दिग्भ्रमित छन् । जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका दल र व्यक्ति नै ठाउँमा पुगेपछि स्वार्थ वा दबाबका कारण काम गर्न सकिरहेका छैनन् । ‘राजनीति समाजसेवा होइन व्यापार हो’ भन्नेहरूले आफ्नो भनाइ सही भएको ठानिरहेका छन् । जनतालाई विभिन्न प्रकारका राहत र सेवा प्रदान गर्नुको सट्टा उनीहरूबाटै अनेक प्रकारको चर्को कर उठाउने कार्य भइरहेको छ तर औचित्य पुष्टि हुनसकेको छैन ।

यो सन्दर्भ फोहोर व्यवस्थापनकै हो । नवनिर्वाचित महानगरप्रमुखले यसको प्रयास गर्नुभएको छ । नुवाकोटमा फोहोर फालिरहेका साविक सिसडोल र बञ्चरेडाँडामा पुनः काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको प्रयास गरिएको छ तर स्थानीयहरूको अवरोधले त्यो सम्भव भएन । यही विषयले संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले फोहोर व्यावस्थापनमा प्रधानमन्त्रीकै पहल आवश्यक छ भन्नुभएको छ । उहाँले यसो भन्नुको कारण हुनसक्छ विभिन्न कार्यका लागि विभिन्न मन्त्रालय छन्, विभाग छन् । त्यसका साथै विभिन्न कार्यालय तथा जननिर्वाचित स्थानीय प्रतिनिधि र निकाय छन् ।

यति हुँदाहुँदै उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीकै पहल किन आवश्यक भयो त भन्ने प्रश्न उठ्नसक्छ । सबैतिर स्वार्थको राजनीति हुने, कमिसनको खेल हुने, यसैका लागि मिलेमतो हुने कारणले हुने काम पनि नहुने र नहुनुपर्ने काम पनि हुने गरेका छन् । फोहोर व्यवस्थापनमा यस्तै भएको छ भन्ने बुझेर उहाँले प्रधानमन्त्रीकै पहलको आवश्यकता छ भन्नुभएको हुनसक्छ । नत्र सम्बन्धित मन्त्रालय छ, मन्त्री हुनुहुन्छ र अन्य विभाग छन् । ती निकायले किन समस्याको समाधान गर्न सकिरहेका छैनन् ।

एक ठाउँको फोहोर लगेर अको ठाउँमा फाल्दा त्यहाँका स्थानीयलाई बाधा पर्छ नै । त्यसैले विरोध गर्नु स्वाभाविक हुन्छ । तिनले यदि आफ्नो ठाउँमा फोहोर बिसर्जन गर्ने हो भने हाम्रा यी.. माग पूरा गरिदिनुपर्छ भनेर माग राख्नुलाई अन्यथा भन्न मिल्दैन । बसेर वार्ता गर्ने हो भने राखेका मागमा केही हठ उनीहरूले छोड्लान् केही पूरा गरिदिन सकिएला, खोइ त त्यसो गरेको ? गर्ने इच्छाशक्ति किन सम्बन्धित निकाय र पदाधिकारीमा पाइएन । किनभने कि त त्यो गर्नसक्ने सामथ्र्य उहाँहरूमा छैन कि उहाँहरू त्यसो गर्न चाहनुहुन्न । त्यसैले यो काम अरूबाट हुन नसक्ने देखेर माननीय थापाले प्रधानमन्त्रीले नै यसका लागि पहल गर्नुपर्छ भन्नुभएको हो कि ! हाल राजधानी उपत्यका फोहोरका थुप्राहरूले भरिएको छ ।

सुन्दर शहरका अलकत्रे सडकमा फोहोरका थुप्रा छन्, दुर्गन्ध चौतर्फी फैलिएको छ । नागरिक यसकै कारण बिरामी हुने, महामारी फैलिने सम्भावना बढेको छ । ठूलो पानी परेका बेला भलमा तैरिँदै फोहोरका पोकाहरू बगेर अर्को ठाउँसम्म गई फैलिनाले समग्र बाटोघाटोमा फोहोर छरिन पुगेको छ र वर्षापछि चर्को घाममा त्यसको दुर्गन्ध व्याप्त बनेर फैलिने गरेको छ । समस्याको समाधान विस्तारै खोज्दै गरौँला भनेर हुँदैन, यो तत्कालै समाधान गर्नुपर्ने विषय हो । त्यसैले अन्य व्यक्ति र निकायबाट समाधान हुन नसक्ने हो भने यथाशीघ्र समाधान खोज्न माननीय थापाले भनेझैँ प्रधानमन्त्रीबाटै पहल हुनु जरुरी छ । यसमा विलम्ब गर्नु हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?