प्रतिनिधिसभा बैठक : शून्य समयमा उठाएका विषयप्रति सरकार गम्भीर नभएको सांसदहरूको गुनासो

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताउनुभयो । ‘ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए÷नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिञ्चाइ, सडक, खानेपानी, कारागार, विद्युत् लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर कुनै पनि कार्यान्वयन भएको छैन’, उहाँले भन्नुभयो, ’शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो ?’

उहाँले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताउनुभयाो । उहाँले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गर्नुभयो । सांसद जिपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गर्नुभयो । शून्य समयमा बोल्दै उहाँले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पुर्‍याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गर्नुभयो । उहाँले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताउनुभयो । सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमाशंकर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णबहादुर राईले जोरपाटी-सुन्दरीजल र जोरपाटी-नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गर्नुभयो । सांसद केदार सिग्देलले असार १ गते तनहुँ भानुमार्गमा पूर्णरूपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गर्नुभयो । सांसद खगराज अधिकारीले स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी)को पत्रबारे छानबिन गर्न माग गर्नुभयो ।
सांसदहरू गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयप्रति आपत्ति जनाउनुभयो ।

एमालेको विरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश
विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरू उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टापश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसद्मा पेश गर्ने क्रममा एमाले सांसदहरूले विरोध कायमै राखेका हुन् ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई आग्रह गर्नुभएको थियो । एमालेका सांसदहरूलाई छलफलका लागि बसेर भाग लिन आग्रह गर्नुभएको थियो । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् । सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गर्नुभएको थियो । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको थियो । विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूची बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?