सहकारीको वैदिक अवधारणा

Read Time = 15 mins

✍️ डा. नारायणप्रसाद निरौला
‘सहकार’ शब्दमा ‘ई’ प्रत्ययपश्चात् सहकारी शब्द बन्दछ । संस्कृतमा सहले सामीप्ता बोध गराउँछ भने कारीले कार्य गर्ने भन्ने अर्थ बोध गर्दछ । सहकारीको शाब्दिक अर्थसँगै कार्य गर्ने हुन्छ । एक आपसमा मिलेर आर्थिक उन्नति गर्ने कार्य प्रणली विशेष नै सहकारी हो । हातेमालो गर्ने कार्यप्रणली विशेष नै सहकारी हो । यसमा सबैको अपनत्व र सहभागिता हुने गर्दछ । कुनै निश्चित उद्देश्य प्राप्त गर्नको लागि मानिसहरू मिलेर गरिने कुनै क्रियाकलाप नै सहकारी हो । हरेक मानिसहरूमा रहेको आआफ्नो क्षमतालाई सामूहिक रूपमा उपयोग गरी बढी लाभान्वित हुने व्यावसायिक प्रणाली सहकारी हो ।

संयुक्त व्यवसाय वा कारोबारद्वारा पारस्परिक लाभ र उपलब्धि हासिल गर्नका लागि व्यक्तिहरूले स्वेच्छिकरूपमा दिने सहयोग नै सहकारिता हो । सहकारिता संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणयुक्त व्यवसायमार्फत साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरूको परिपूर्ति गर्न स्वेच्छाले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन हो (आई.सि.ए. १९९५ं) ।

यस्तो अवधारणा वैदिक कालदेखि नै व्यक्त भएको पाइन्छ । संघे शक्ति कलौ युगे भन्ने भावनाले सहकारीको सिद्धान्तलाई अभिप्रेरित गरेको छ । श्रीसूक्त यसको उदाहरण हो । चार पुरुषार्थमध्येको एक अर्थसम्बन्धीकी देवी लक्ष्मी हुन् । लक्ष्मीलाई कसरी खुसी पार्नु पर्छ । लक्ष्मीको स्तुति के हो । अर्थात् अर्थार्जन कसरी हुन्छ भन्ने कुराको चिन्तन श्रीसूक्तले गरेको छ । ‘हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजात् । चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। (ऋग्वेद, श्रीसूत्त)

श्रीवर्चस्वमायुष्यमारोग्यमाविधाच्छोभमानं महीयते । धनं धान्यं बहुपुत्रलाभं शतसम्बत्सरं दीर्घमायुः ।।’ (ऋग्वेद, श्रीसूक्त) लक्ष्मीको उपासना गरी हामी सम्पन्न रहौं । दीर्घायु बनौं । भन्ने ऋग्वेदको श्रीसूक्त नै सहकारीको मूल आधारभूमि रहेको देखिन्छ । अर्थका बारेमा श्रीसूक्तमा प्रश्स्त व्याख्या पाइन्छ । जीवनको मूल आधार नै अर्थ हो । धनकी देवी लक्ष्मी भएकाले लक्ष्मीको उपासना नै सहकारीकर्मीको पहिलो ध्येय हुने गर्दछ ।

यसैगरी यजुर्वेदमा पनि सहकारीको अवधारणा अन्तर्निहित रहेको पाइन्छ । साथसाथै रहौं र सहकार्यमा नै हाम्रो उन्नति होस् भन्ने कुरा निम्न मन्त्रले प्रष्ट पारेको देखिन्छ । ‘सहस्तोमाः सहच्छन्दसद्रआवृतः सहप्रमाद्रऋषयः सप्तदैव्याः । पूर्वेषाम्पन्थामनुदृश्यधीराद्रअन्वालेभिरेरत्त्थ्योनरश्मीन् ।।’ (यजुर्वेद) ‘बलविज्ञायस्थविरः प्रवीरः सहस्वान्वाजीसहमानद्रउग्रः । अभिवीरोद्रअभिसत्त्वासहोजाजैत्रमिन्द्ररथमातिष्ठगोवित् ।’ (यजुर्वेद) यसरी हेर्दा यजुर्वेदीय मन्त्रमा पनि सहकारीको अवधारण प्रष्ट रूपमा झल्किएको पाइन्छ ।

उपनिषद्ले पनि अर्थार्जनका स्रोत र विषयका बारेमा विशद् चर्चा गरेका छन् । विशेषतः कठोपनिषद्को ‘सह नाववतु । सह नौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तु । मा विद्विषावहै ।।’ (कठोपनिषद्) नै सहकारीको मूल मन्त्र हो । सहकारीमा कस्तो भावना हुनुपर्छ ? कसरी कार्य गर्नुपर्छ ? कस्तो भावना राख्नुपर्छ भन्ने कुरा उक्त कठोपनिषदीय मन्त्रमा व्यक्त पाइन्छ । वास्तवमा भन्नुपर्दा सहकारीका निम्ति यो नै मूल मन्त्र हो ।

सह नाववतु अर्थात् हामी सँगसँगै सहकार्य गरौँ, सह नौ भुनक्तु हामी सहकारीबाट आएको प्रतिफल पनि साथ साथ बराबरी भोग गरौँ । सहवीर्यं करवावहै । अर्थात् हामी सँगसँगै मिलेर बलसाली कल्याणकारी काम गरौँ र तेजस्विनावधीतमस्तु हाम्रो तेज सर्वत्र चम्कियोस् । मा विद्विषवहै अर्थात् हामी द्वेषरहित रहौं । एकअर्काप्रति कु भावना नराखौँ भन्ने यही मूल मन्त्रबाट सहकारीको अवधारणा अभिप्रेरित रहेको पाइन्छ ।

आधुनिक सहकारीको अवधारणा पनि वेदकै अनुकरण हो । सहकारीको अवधारणा वैदिक सूक्तबाट अभिप्रेरित देखिन्छ । उत्तर वैदिक कालका ग्रन्थकारले पनि अर्थ र सहकारीको विशद् चर्चा गरेका छन् । सहकारी पनि एउटा उद्यम हो । त्यसैले हितो पदेशमा भनिएको छ : ‘उद्यमेन हि सिद्धयन्ति कार्याणि न मनोरथैः न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।।’ (हितोपदेश) अर्थात् उद्यमबाट नै मनोरथ पूरा हुन्छ । कार्यको सम्पादन हुन्छ । त्यसैले उद्यम गर । जसरी सुतेको मृगको मुखमा मृग आएर बसिदिँदैनन् त्यसैगरी धन पनि त्यत्तिकै कमाइ हुँदैन । कुनै न कुनै उद्योग गर्नै पर्छ ।

जुन उद्यम सहकारीको अवधारणामा अन्तर्निहित पाइन्छ । अझ भनौँ सहकारी नै एउटा उद्यम हो । यसरी उद्यम गरिसकेपछि धनको स्थिरता कसरी गर्न सकिन्छ । धन कसरी बढाउन सकिन्छ । धनलाई बढाउन सकहारीकर्मीले के गर्नुपर्छ भन्ने सन्दर्भमा पनि यसरी सुझाएको छ : ‘श्रीर्मङ्गलात् प्रभवति प्रगल्भात् सम्प्रवर्धते । दाक्षत्तु कुरुते मूलं संयमात् प्रतितिष्ठति ।।’ (विदूरनीति) अर्थात् शुभ कर्मबाट लक्ष्मीको उत्पत्ति हुन्छ । बुद्धिले बढ्छ, दक्षताले स्थिर हुन्छ र संयमले सुरक्षित हुन्छ ।

त्यसैले सहकारी कर्मीमा चतुरता, बुद्धिमत्ता, योग्यता, दक्षता र संयमता चाहिन्छ । तबमात्र आर्थिक उन्नति हुनसक्छ । सहकारीको विकास र विस्तार हुन सक्दछ । यसैगरी ‘धृतिः शमो दमः शौचं कारुण्यं वागनिष्ठुरा । मित्राणां चानभिद्रोहः सप्तैताः समिधः श्रियः ।।’ अर्थात् सहकारीकर्मीमा मनको निग्रह, इन्द्रिय संयम, पवित्रता, दया, कोमलवाणी र मित्रप्रेम हुनुपर्दछ । भेदभावरहित हुनु नै सहकारीको समान उन्नति हुनु हो भन्ने चिन्तन विदुरले व्यक्त गरेका छन् । व्यक्तिलाई आर्थिक रूपमा सबल बनाउने कार्य सहकारीमा हुने गर्दछ ।

हितोपदेशमा पनि आर्थिक सबीकरणमा यसरी जोड दिइएको छ : ‘अर्थेन बलवान् सर्वः अर्थाद्भवति पण्डितः ।।’ (हितोपदेश)
वास्तवमा सहकारीको आद्य गुरुग्रन्थ वेद हो । आज आधुनिक सहकारीका पितारोवर्ट ओनलाई माने पनि उनीभन्दा हजारौं वर्ष पहिले नै यस्ता अवधारा व्यक्त भइसकेको कुर उल्लेखित प्रमाणबाट पनि प्रष्ट हुन्छ । सहकारी आन्दोलन संस्थागतरूपले सञ्चालन भएको १५० वर्षपछि बेलायतको मेनचेष्टरमा सन् १९९५ को सेप्टेम्बरमा भएको महासभाबाट सहकारीका सिद्धान्त तथा मूल्य र मान्यता बारेमा तय भएका सिद्धान्त पनि वैदिक वचन अनुकूल देखिन्छन् । सहकारीको पहिलो हिलो सिद्धान्तले :-

१. स्वेच्छिक तथा खुला सदस्यता हुनुपर्दछ भन्ने मत राख्दछ । वसुधैव कुटुम्बकम्को भावना पौरस्त्य दर्शनले व्यक्त गरेको छ ।
सहकारीले त राष्ट्रिय सहकार्यलाई मात्र समेट्छ तर वैदिक चिन्तनमा पृथ्वीवासी सबैमा सहकार्यको भाव जागृत गर्नुपर्छ भन्ने चिन्तन पाइन्छ । यसैगरी सहकारीको अर्को मूल मन्त्र :-

२. सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण हो । सहको अर्थ नै संस्कृतमा बराबर वा उस्तै भन्ने हुन्छ । सहकारीको दोस्रो सिद्धान्तले पनि यस्तै भाव प्रतीत गर्छ । प्रजा वै राजान भन्ने ऋक्वैदिक मूलमन्त्रको मूल ध्येय पनि प्रजाअनुसार राजा हुने भन्ने सिद्धान्त सहकारी सहस्यअनुकुलको सहकारी संस्था प्रमुख हुने व्यवस्था पनि वैदिक प्रणलीअन्तर्गत रहेको पाइन्छ । यसैगरी सहकारीको तेस्रो सिद्धान्तले:-

३. सदस्यहरूद्वारा आर्थिक सहभागिताको वकालत गर्दछ । संघे शक्ति कलौ युगे भने झैँ कलियुगमा संघमा शक्ति निहित छ । सहनाभवतुको मूल ध्येय पनि यही नै हो । आर्थिक रूपमा पनि सँगसँगै हुनु सँगसँगै प्रगतिको पथमा अगाडि लम्कनुपर्छ भन्ने चिन्तन वैदिक हो । जुन आजको सहकारी सिद्धान्तमा अन्तर्निहित रहेको छ । स्वायत्तता र स्वतन्त्रता सहकारीको चौथो सिद्धान्त हो । सबै स्वतन्त्र हुनुपर्छ भन्ने ऋग्वेदको मूल ध्येय हो । शिक्षा, तालिम र सूचना पाँचौं सिद्धान्तअन्तर्गत पर्दछ । ‘सहना ववतु सहनौ भुनक्तु ....’, वेदको अंगका रूपमा शिक्षा अन्तर्निहित छ । शिक्षा भनेको ज्ञान हो ।

सहननाववतुको मूल ध्येय पनि शिक्षा नै हो । यसैगरी छैटौ अवधारणमा सहकारीबीच पारस्परिक सहयोग पर्दछ । जुन ‘सहवीर्यं करवावहै मा विद्विषवहै’मा निहित पाइन्छ । भेदभावरहित सँगसँगै कार्य गरौँ भन्ने यही मूल मन्त्रबाट यो अवधारणा पनि अभिप्रेरित रहेको छ । सातौँ सिद्धान्तमा समुदायप्रति चासो रहने गर्दछ । सामाजिक न्यायमा आधारित भएर व्यवसाय विस्तार र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्दछ भन्ने पौरस्त्य चिन्तन पाइन्छ । ‘प्रजा सुखे सुखं राजा प्रजानां च हिते हितम् । नात्मा प्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् ।।’

अर्थात् प्रजाको सुख नै राजाको सुख हो, प्रजाको हित नै राजाको हित हो, प्रजाको खुशी आत्मा नै राजाको खुशी आत्मा हो भन्ने चाणक्यको नीतिबाट लोकतान्त्रिक समाज पौरस्त्य वाङ्मयमा विषद् रहेको पुष्टि हुन आउँछ । यसैगरी सहकारीमा उदारवादी नीतिको अवलम्बन हुन्छ । लोकतान्त्रिक समाज वा राष्ट्रलाई सञ्चालनका लागि स्वामी अमात्य, जनपद, दुर्ग, कोष, दण्ड र मित्र गरी सात अनिवार्य तत्व मान्नु, जनपदको व्यवस्था गर्दा एक अर्काको गाउँले आपसमा सहयोग गर्न सक्ने गरी व्यवस्था मिलाउनु अनि प्रजाले तिर्न नसकेको करलाई काँचो फल सम्झी माफ गरिदिनुपर्छ भन्ने ‘पक्वं पक्वमिवात्फलंराजा ध्याप्नुयात् । अभिच्छेतभयादामं वर्जयेत् कोषकारकम् ।।’ चणक्यको नीति मेल खान आउँछ ।

यसरी हेर्दा सहकारीको अवधारणा वैदिक सूक्तबाट अभिप्रेरित भएको पाइन्छ । मूलतः कठोपनिषदीय मन्त्र सहनामववतु नै सहकारीको मूल अवधारणा हो । पौरस्त्य वाङ्मयका पुराण, नीतिशास्त्रले पनि सोही कुरा बताएका छन् जुन आजको सहकारीले आफ्नो अवधारणामा प्र्रस्तुत गरेका छन् । त्यसैले सहकारी पनि वैदिक अवधारणा हो भन्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?