हस्तकला उद्यमी सविताको छलाङ, काठमाडौंदेखि अस्ट्रेलियासम्म आफ्नै शोरुम

Read Time = 12 mins

काठमाडौं । नेपाली हस्तकला क्षेत्रमा पुरुषको तुलनामा महिला संलग्नता बढी छ । फ्रन्टलाइनमा पुरुषहरू नै देखिए पनि काष्ठकला, मूर्तिकला, धातुकला, प्रस्तरकलाबाहेक प्राकृतिक रेसाजन्य हस्तकलामा भने महिला संलग्नता बढी रहेको छ । किनभने प्राकृतिक रेसाजन्य हस्तकला सामग्री महिलाले घर-घरमै उत्पादन गर्दै आएका छन् । धेरैजसो महिलाको यो परम्परागत व्यवसाय पनि हो । गाउँघरमा गुन्द्री, सुकुल, स्विटरलगायत महिला आफैं तयार गर्छन् । पुरुष भने उत्पादनभन्दा बजारीकरणमा केन्द्रित छन् ।

काठमाडौं उपत्यकामा ललितपुरको लुभु र सानागाउँ क्षेत्र घरेलु कपडा तथा रेसाजन्य हस्तकलाकोे उद्गमस्थल मानिन्छ । लुभुका कपडा पर्यटकीयस्थल ठमेल हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । रेसाजन्य हस्तकला लुभु र सानागाउँवासीको पुख्र्यौली पेशा नै हो । तथापि पुस्तान्तरण हुन नसक्दा पछिल्लो समय यो संकटमा पर्न थालेको छ । विगतभन्दा सहभागिता घटेको छ, उत्पादन पनि घटेको छ ।

तर पनि लुभु र सानागाउँको पहिचान बनेको रेसाजन्य हस्तकला बचाउन लागिपर्नुभएको छ, सानागाउँकी एक उद्यमशील महिला सविता सिंह । पुख्र्यौली पेशालाई व्यावसायिकीकरण गर्दै उहाँ यसको संरक्षण, संवद्र्धन र बजारीकरणमा लाग्नुभएको छ । विगत २६ वर्षदेखि यसैमा काम गर्दै आउनुभएकी सविताले पछिल्लो समय आफैंले सविता कपडा उद्योग स्थापना गरी व्यवसाय विस्तार र विविधीकरण सुरु गर्नुभएको हो । उहाँ आफूमात्र नभई नेपाल हस्तकला महासंघ र आफ्नै उद्योगमार्फत् अन्य महिलालाई तालिम दिएर उद्यमशील बनाउँदै आउनुभएको छ भने बजारीकरणमा पनि सघाउँदै आउनुभएको छ ।

उत्पादित वस्तुको बजारीकरणका लागि उहाँले ललितपुरको मंगलबजार बखुण्डोलमा शोरुम सञ्चालन गर्नुभएको छ । विदेशमा समेत शोरुम सञ्चालनको तयारी हुँदैछ । पहिलो चरणमा अस्ट्रेलिया र बेलायतमा शोरुम सञ्चालनका लागि तयारी भइरहेको सिंहले हिमालय टाइम्सलाई बताउनुभयो । सबै उमेर समूहका लागि तयारी कपडा उत्पादन गर्दै आएको र स्वदेशी उत्पादनप्रति आकर्षण पनि बढ्न थालेको उहाँ बताउनुहुन्छ । ललितपुर महानगरपालिकाका केही वडा कार्यालयहरूबाट समेत अर्डर आउन थालेको छ । कर्मचारी र जनप्रतिनिधिको पोशाकका लागि अर्डर आएको हो । विदेशमात्र नभई स्वदेशमा पनि आफ्ना उत्पादन माग हुन थालेपछि उत्साह जागेको, ऊर्जा थपिएको उहाँ बताउनुहुन्छ । महिला उद्यमशीलता प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघले प्रदेश २ र बागमती प्रदेशसँगको सहकार्यमा प्रदेश २ र बागमती प्रदेशमा सविताकै अगुवाइमा महिला उद्यमी मेला आयोजना गरेको थियो ।

सविता कपडा उद्योगले हातेतान र मेसिन दुवैबाट कपडा उत्पादन गर्दै आएको छ । उद्योगमा प्रत्यक्षरूपमा १७ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्षरूपमा ६० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

उहाँले राष्ट्रपति सम्मुनत पुरस्कार कार्यक्रम अन्तर्गत बागमति प्रदेशबाट उत्कृष्ट उद्ययमी सहित रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । विगतमा पनि बागमति प्रदेशबाट दुई लाख बराबरको प्रविधि पुरस्कारले थप आधुनिक मिसिनसहित स्तरोन्नती गर्न सफल हुनुभएको थियो । उहाँको अभियानमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले पनि सहकार्य र सहजीकरण गर्दै आएका छन् । सविताको उद्यशीलताको कदर गर्दै पहिलोपटक कास्की उद्योग वाणिज्य संघले पुरस्कृत गरेको थियो भने नेपाल हस्तकला महासंघ, घरेलु तथा साना उद्योग महासंघबाट पनि सम्मान प्राप्त गर्नुभएको छ । पुरस्कार, सम्मान, सहजीकरण र सहकार्य गर्ने सम्बन्धित निकायहरूप्रति आभार प्रकट गर्दै सम्मानबाट अझै जिम्मेवारी थपिएको महसुस भएको उहाँ बताउनुहुन्छ ।

सुरुमा उहाँकी सासूआमा चम्पा महर्जनले दुईवटा हातेतानबाट व्यवसाय सुरु गर्नुभएको थियो । आफ्नो विवाहपछि सविताले पेशालाई निरन्तरतामात्रै दिनुभएन, व्यावसायिकीकरण र आधुनिकीकरण गर्दै व्यापकता दिनुभयो । उद्योगमा धेरैजसो स्थानीय महिलालाई रोजगारी प्रदान गर्नुभएको छ । दक्ष कामदार अभाव रहेकाले आफैँ पनि तालिम दिएर काममा लगाउने गरेको उहाँ बताउनुहुन्छ ।

त्यसो त उद्यम गर्न त्यति सहज छैन । कच्चा पदार्थ, दक्ष कामदार, लगानी, बजार अभावका साथै कच्चा पदार्थमा भन्सार शुल्कका कारण आयातित कच्चा पदार्थ महँगो हुन गई उत्पादित वस्तुको बजार प्रतिस्पर्धामा चुनौती रहेको उहाँ बताउनुहुन्छ । सविता भन्नुहुन्छ, ‘दक्ष जनशक्ति अभाव छ, विगतमा कच्चा पदार्थ यहीँ पाइन्थ्यो तर अहिले आयात गर्नुपर्छ, भन्सार शुल्कका कारण कच्चा पदार्थ थप महँगो हुने गरेको छ । त्यस्तै लगानीका लागि पुँजी अभाव छ । सरकारले सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था गरेको भए पनि कर्जा पाइरहेको अवस्था छैन । धितोमा पनि कर्जा पाइँदैन । पहुँच नहुने महिला उद्यमी त झन् समस्यामा छन् ।’

सरकारले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि स्वदेशी वस्तु प्रयोग गरिने बताउँदै आए पनि कार्यान्वयन नभएको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गरी त्यहाँबाट उत्पादित कपडा प्रयोग गर्ने भनेको छ, हाम्रो उत्पादन पनि स्वदेशी हो, उत्पादन भइरहेको कपडा नै किन प्रयोग नगर्ने ? हामी मागअनुसार उत्पादन गर्न सक्छौँ, जति चाहिए पनि दिन तयार छौैँ ।’

आफूले उत्पादन गरेको तयारी कपडा प्रधानमन्त्री, उपराष्ट्रपति र मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममै लगाएर स्वदेशी उत्पादनप्रति सम्मान प्रकट गरेकोमा भने उहाँ आशावादी देखिनुहुन्छ । निकट भविष्यमै राज्यका अन्य निकायलाई स्वदेशी कपडा अनिवार्य गरिनुपर्ने सविताको माग छ ।

विगतमा सुती कपडामात्रै उत्पादन हुँदै आएकोमा अहिले उत्पादनमा विविधीकरण सुरु भएको छ । अलैंची, केरा, गाँजा, जुटबाट पनि कपडा उत्पादन सुरु गरिएको उहाँ बताउनुहुन्छ । जसको मागसमेत बढ्दोक्रममा रहेकोे छ ।

त्यसो त सविताको यो पुख्र्याैली पेशा थिएन । विवाहपछि मात्रै यसमा जोडिनुभएको हो, विवाहअघि उहाँ टिचिङ गर्नुहुन्थ्यो । विवाहपछि सासूआमा र श्रीमान् सर्जु सिंहको प्रेरणाले सविता पनि यसैमा समाहित हुनुभयो । किनभने श्रीमान्को यो पुख्र्यौली पेशा हो । सर्जुले चार वर्षको उमेरदेखि नै काम गर्दै आउनुभएको थियो । आफ्नै घरको काम भए पनि उहाँ ज्याला पाउनुहुन्थ्यो । धागो कातेर स्कुलको खाजा खर्च जुटाउनुहुन्थ्यो । बुबाआमाले कामप्रति आकर्षित गर्न आफ्नै छोरालाई पनि ज्याला दिने गर्नुभएको थियो ।

विवाहपछि सवितालाई पनि सासू र श्रीमान्ले त्यसैगरी प्रोत्साहित गर्नुभयो । सासू बालबच्चा आफू स्याहार्ने र सवितालाई काममा लगाउने गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘सासूआमा जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोचको हुनुहुन्थ्यो, त्यही भएर खाली बसेको उहाँलाई मन पर्दैनथ्यो । आमाको त्यही सोचका कारण म यहाँसम्म आइपुगेकी हुँ । अहिले खुसी लाग्छ, धेरै सपोर्ट छ, हरेक उद्यमी महिलाका आमाहरू मेरी आमाजस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका क्रममा विभिन्न मुलुकको भ्रमण गरिसक्नुभएकी सविता आफ्नो पेशाप्रति सन्तुष्ट हुनुहुन्छ । किनभने टिचिङभन्दा यो पेशाबाट नाम र दाम दुवै मिलेको छ, देशविदेश घुम्ने अवसर मिलेको छ ।’

सविताले पुस्तान्तरणका लागि विदेश रहेका दुई छोरीलाई पनि यसैमा लाग्न प्रेरित गर्नुभएको छ । सोहीक्रममा अस्ट्रेलियामा शोरुम स्थापना गर्न लागिएको उहाँको भनाइ छ । नेपाल हस्तकला महासंघसँगको सहकार्यमा अन्य मुलुकमा नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै जाने उहाँको लक्ष्य छ । नेपाल हस्तकला महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संघसंस्थामा आबद्ध सविताको विभिन्न सामाजिक कार्यमा समेत सक्रियता देखिन्छ । सोहीक्रममा उहाँले आफ्ना शरीरका सबै अंगसमेत दान गरिसक्नुभएको छ । दृढ इच्छाशक्ति र लगनशीलताकी पर्याय र सफल उद्यमी महिला सविता अन्य महिलाका लागि पनि प्रेरणा पात्रका रूपमा प्रस्तुत हुँदै महिला सशक्तीकरण अभियानमा समेत इँटा थप्ने काम गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?