नयाँदिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिनुभएको छ ।
मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुनुहुन्छ । चुनाव जितेमा उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुहुने छ । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बन्नुभएका यशवंत सिन्हासँग हुनेछ ।
द्रौपदी मुर्मु ओडिशाको मयुरभन्ज जिल्ला निवासी हुनुहुन्छ । पहिले शिक्षक रहनुभएकी उहाँ पछि राजनीतिमा लाग्नुभएको थियो । उहाँ मयुरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बन्नुभएको थियो । भारतमा १६औँ राष्ट्रपतिको निर्वाचन १८ जुलाईमा हुँदैछ ।
उहाँले आगामी शनिबार पदका लागि मनोनयन दर्ता गराउनुहुने छ । आफूलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा छानेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ । उनले पहिलोपटक राष्ट्रपति पदका लागि महिलालाई विश्वास गरेको भन्दै सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनप्रति आभार व्यक्त गर्नुभएको छ । भाजपाले राष्ट्रपतिको उम्मेदवारका लागि प्रारम्भिक सूचीमा २० जनाको नाम छानेको थियो । त्यसमध्ये पूर्वी भारतकी महिला उम्मेदवारको रुपमा मुर्मुलाई छानेको हो ।
हाल राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी जुलाई २४ मा सकिँदै छ । संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै नयाँ राष्ट्रपति चुन्नुपर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको थियो । २१ जुलाईमा नतिजा आउनेछ ।
पाँच वर्षअघि दलित समुदायका रामनाथलाई देशको सर्वोच्च पदमा पु¥याएपछि भाजपाले अहिले आदिवासी महिलालाई सो पदको उम्मेदवार बनाएर महत्वपूर्ण राजनीतिक सन्देश दिएको छ । मुर्मु देशको सबैभन्दा ठूलो जनजाति समुदाय र संस्थासँग सम्बन्धित हुनुहुन्छ । मतको गणित एनडीएको पक्षमा छ जसका कारण चुनाव अघिनै मुर्मलाई बधाई दिन थालिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच