बिमितको मृत्युदर तथ्यांक अद्यावधिक गर्न निर्देशन

Read Time = 3 mins

काठमाडौं । बिमा समितिले बिमितको मृत्युदरको तथ्यांक अद्यावधिक गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बिमितको मृत्युदर तालिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष सिलवालले बिमाप्रतिको विश्वास बढाउँदै बिमा व्यवसायलाई विस्तार गर्न र बिमितको हितको रक्षा गर्नसमेत अध्ययन आवश्यक रहेको बताउनुभयो ।

२०६६ सालमा बिमितको मृत्युदर तालिका तयार भई कार्यान्वयनमा रहेको र हालसम्म दुईपटक राष्ट्रिय जनगणना भई औसत मृत्युदरसम्बन्धी तथ्यांक सार्वजनिक भइसकेकाले बिमितको मृत्युदर र तालिकालाई समयसापेक्ष परिमार्जन आवश्यक रहेको उहाँको भनाइ थियो । समितिका निर्देशक पुजन ढुंगेल अधिकारीले बिमितको मृत्युदर तालिका समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो ।

जीवन बिमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले समितिले बिमितको मृत्युदर तालिका परिमार्जन गर्न लागेबाट उपयुक्त बिमाशुल्क निर्धारणका साथै समग्र जीवन बिमा व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा समितिका परामर्शदाता बिमांकी प्रेक्षा माथेमाले बिमितको मृत्युदर अनुसन्धान संयन्त्र र बिमांकी विज्ञान विषयमा अध्ययरत विद्यार्थी रुस्तम लवाजुले विभिन्न देशका बिमितको मृत्युदर तालिका तथा मुलुक पौडेल र सागर निरौलाले बिमितको मृत्युदर तालिकाका लागि आवश्यक तथ्यांकसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनबारेमा सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?