आयोजक नेक्सस फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन-५ मा सोमबार फाइनलमा प्रवेश गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुरलाई २८ रनले पराजित गर्‍यो ।

जिएचसिएले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । मूलपानी क्रिकेट मैदानमा नेक्ससले पूरै २० ओभर खेल्दै अलआउट हुनुअघि ११० रन बनायो । नेक्ससका उत्तम थापामगरले एक चौका र दुई छक्काको मद्दतमा ४५ बलमा ४४ तथा रोहन साहले दुई छक्काको सहयोगमा ४७ बलमा ३३ स्कोर गर्नुभयो । जिएचसिएका अजय यादव र रूपेश यादवले दुई-दुई विकेट लिनुभयो ।

जिएचसिए १८.२ ओभरमा ८२ रनमा अलआउट भयो । जिएचसिएका लक्की कठायतले १७ रन बनाउनुभयो । ‘म्यान अफ द म्याच’ नेक्ससका रोहन साहले तीन विकेट हात पार्नुभयो ।

उपाधिका लागि नेक्ससले अपन राधेमाई युवा क्लबसँग खेल्नेछ । आइतबार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जित दर्ता गर्दै फाइनल पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?