जसपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला मन्त्री हेरफेर

हिमालय टाइम्स
Read Time = 5 mins

डिबी शर्मा/हिटा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त हुनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उहाँहरूलाई सरकारमा पठाएको हो । यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव हुनुहुन्थ्यो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहनुभएका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन ।

नवनियुक्त मन्त्रीको सोमबार नै शपथग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । यसअघि यही असार १२ गते पनि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

त्यसअघि नै देउवाले तीनपटक मन्त्रिमण्डल पुनर्गठन गरिसक्नु भएको थियो । सोमबार पाँचौँपटक पुनर्गठन गर्नुभएको हो । आगामी असार २९ गते वर्तमान सरकार गठन भएको एक वर्ष पुग्दैछ । सर्वोच्च अदालतको परमादेशले गठित सरकारले एक वर्ष नपुग्दै पाँचपटक मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।

उसो त मन्त्रिमण्डलले पूर्णता पाउन पनि तीन महिना लागेको थियो । गठबन्धनको सरकार भएका कारण दल र दलभित्रका गुट-उपगुटलाई चित्त बुझाउन पटक-पटक मन्त्रिमण्डल पुनर्गठन हुने गरेको हो । सोमबार पनि पार्टीभित्र विवाद चुलिएर फुटको संघारमा पुगेपछि जसपाले मन्त्री बदलेको हो ।

समूहमा वर्चस्व कायम राख्ने प्रयास
सत्तारूढ दल जसपामा विवाद उत्कर्षमा पुगेका बेला मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । आन्तरिक विवादमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय मानिएका दुई जनालाई सोमबार मन्त्रीमा नियुक्ति गरिएको हो । दुवैजना बाबुराम भट्टराईसँग निकट भएर पार्टी विभाजनमै लैजाने तयारीमा थिए ।

तर, अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको आश्वासन दिएपछि उनीहरू जसपामै मिलेर जान तयार भएको यादव पक्षको दाबी छ । भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्री बनाएसँग जसपामा यादव बलियो हुनुभएको छ । पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ‘तीन सदसीय हेडक्वार्टर’को सहमतिमा मात्रै महत्वपूर्ण निर्णय लिने सहमति भएको थियो ।

तीन सदस्यीय हेडक्वार्टरमा यादव, भट्टराई र नेता अशोक राई हुनुहुन्छ । तर, यादवले विभाजनको संघारमा रहेका बेला एकलौटी निर्णय गरेर मन्त्री हेरफेर गर्नुभएको हो ।

यसअघि अध्यक्ष यादव र भट्टराईबीच सहमतिमै अलग्गिने सहमति भएको थियो । २०७७ वैशाख १० गते राति जसपा गठन भएको थियो । जसपा यसअघि नै एकपटक विभाजित भइसकेको छ ।

महन्थ ठाकुरले जसपाबाट अलग्गिएर लोसपा गठन गर्नुभएको छ । फुटको संघारमा पुगेको जसपाको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । भट्टराई पक्षले आगामी २९ र ३० गते काठमाडौंमा विस्तारित बैठक बोलाएको हो । यस्तै, यादव पक्षले भने २७-२८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ । सम्भवतः असारभित्रै जसपा औपचारिक रूपमै विभाजन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?