कक्रहवा खोलाको पुल एक वर्ष अघि नै निर्माण सम्पन्न

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । निर्माण कम्पनीको लापरवाहीका कारण धेरै विकास निर्माण कार्य अलपत्र परेका खवरहरु वाहिरिएका बेला दाङमा भने एउटा पुल निर्माण कम्पनीले एक वर्ष अगाडि नै काम सम्पन्न गरेको छ ।

कालाकाटे–राजपुर सडकखण्डअन्तर्गत हुलाकी सडकमा पर्ने कक्रहवा खोलामा एक वर्ष अगाडि नै पुल निर्माण सम्पन्न भएको हो । आर्थिक वर्ष २०७७/०७८ बाट शुरु भएको पुल आगामी वर्ष माघ १० गते निर्माण सम्पन्न गर्नुपर्ने जिम्मेवारी थियो तर अहिले पुल निर्माणको काम सकिएर एप्रोच सडक बनाउने काम चलिरहेको छ । ‘हामीले अब एक महिनाभित्र यो पुल हस्तान्तरण गर्नेगरी काम गरिरहेका छौं । पुलको काम सकिएको छ । अब एप्रोच सडक बनाउने काम चलिरहेको छ’– अनक रायमाझी जेभीका साइट इञ्चार्ज लक्ष्मण ढकालले भन्नुभयो– ‘काम सही तरीकाले गर्ने हो भने समुदाय र सरकारबाट समेत सहयोग पाइन्छ । हामीले जति पनि पुलहरु बनाएका छौं । सबै काम समयभन्दा अगाडि नै सकिएका छन् ।’

ठेक्का सम्झौता अनुसार तीन वर्षमा बन्नुपर्ने पुल, दुई वर्ष अगाडि नै सम्पन्न भएपछि हुलाकी सडकमा यात्रा गर्नेहरुलाई सजिलो भएको छ । अहिले एप्रोच रोड बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र सडक निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । गढवा गाउँपालिकाको मानपुर र शान्तिपुर जोड्नेगरी ३२ करोडको लागतमा दुई सय ६० मिटर लामो पुल बनाइएको छ । अनक रायमाझी निर्माण कम्पनीले दाङ जिल्लामा योसँगै चारवटा पक्की पुल निर्माण गरिसकेको छ । सबैजसो पुल सम्झौता भएको मितिभन्दा करिब एक वर्ष अगाडि नै सम्पन्न गरेको छ । सिसहनियाँदेखि महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल पनि एक वर्ष अगाडि नै सम्पन्न भएको थियो । जसको लम्बाई आठ सय ६२ मिटर छ । यस्तै सतबरिया कालिपुरुवा जोड्ने पुल पनि सरदर एक वर्ष अगाडि नै सम्पन्न भयो । जसको लम्बाई पाँच सय दुई मिटर छ । यसैगरी जहरे–जंग्रहवा जोड्ने गरी राप्ती नदीमा अर्काे पुल बनेको हो । यो पुल पनि निर्धारित समय भन्दा अगाडि नै बनेको हो । जसको लम्बाई दुई सय ८० मिटर छ ।

‘पुल निर्माण गर्न चाहिने कच्चा पदार्थको उपलब्धता र स्थानीय नागरिकको सहयोगका कारण काम गर्न पाइयो भने समय भन्दा अगाडि नै सम्पन्न गर्न सकिन्छ भन्ने सिकाइ रह्यो’– ढकालले भन्नुभयो– ‘सबैको साथ सहयोगले नै हामीले समयभन्दा अगाडि नै पुलहरु सम्पन्न गर्न सकेका छौं ।’ कम्पनीले नाफा नोक्सान हेरेर मात्रैभन्दा पनि सेवाको भावनाले काम गर्दा सहज हुने अनुभव निर्माण कम्पनीका प्रतिनिधिको छ ।

पक्की पुल बनाउने काममा निर्माण कम्पनीले समय अगावै गरेपछि स्थानीय पनि खुशी भएका छन् । ‘केटाकेटी स्कुल आउन जान समस्या हुन्थ्यो । वर्षामा खोलाले छेक्थ्यो, डर थियो । अब त सजिलो हुने भयो’ स्थानीय रमेशकुमार गुरुङले भन्नुभयो– ‘पुल नहुँदा र हुँदाको अवस्था त आकाश जमिनको फरक परिहाल्यो नि ।’ तारा पोख्रेलको घर खोलाको किनारमै छ । हरेक वर्षातमा खोलामा आउने बाढीले सताउँथ्यो । अब पुल बनेपछि बाढीको त्रास पनि कम हुने आशा उहाँको छ । ‘पुल नहुँदा डरै डर हुन्थ्यो । अबको वर्षातमा पुलबाट आउन जान सकिने भयो’, उहाँले भन्नुभयो, ‘छिटो पुल बनाउनेलाई धन्यवाद छ ।’ निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको उचित समन्वय अभावका कारण धेरै योजना सुस्ताएको देखिन्छ तर निर्माण कम्पनीले चाह्यो भने जिम्मेवारी पाएको समय भन्दा अगाडिनै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरणहरुलाई सिकाइको रुपमा लिनुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?