सवारी आयात खुलाउने प्रधानमन्त्रीको संकेत

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउने संकेत दिनुभएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले उक्त संकेत दिनुभएको नाडाले जनाएको छ ।

बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले नाडा प्रतिनिधि मण्डललाई निजी प्रयोजनका सवारी आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताउनुभएको हो । साथै प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताले अब नेपालमै विद्युतीय सवारीे एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापारघाटा कम गर्न सुझावसमेत दिनुभएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौं वस्तुमध्ये कार, जिप र भ्यानजस्ता सवारी साधनमात्रैले आयातमा झण्डै दोब्बरभन्दा बढी राजस्वको योगदान पुर्‍याउँदै आएको बताउनुभयो । बढ्दो व्यापारघाटा र शोधनान्तर घाटामा उल्लेखित सवारीसाधनको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको उहाँको दाबी छ । सोही वास्तविक यथार्थलाई मनन गर्दै कार, जिप र भ्यानलगायत निजी प्रयोजनका सवारीसाधन आयातमा लागेको प्रतिबन्ध हटाउन आवश्यक पहलका लागि नाडाले प्रधानमन्त्रीलाई आग्रह गरिएको जनाएको छ ।

सोहीक्रममा अध्यक्ष थापाले नाडा अटो एक्स्पो आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय भएको भन्दै एक्स्पो आयोजनाका लागि समेत नयाँ सवारीसाधन आयात सुचारु हुनु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नाडाका उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा तथा कपिल शिवाकोटीको उपस्थिति रहेको नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?