खै कता गयो असारे भाका ?

हिमालय टाइम्स
Read Time = 4 mins

-प्रकाश नेपाल

इलाम । डोको भरी पहेंला पाकेका केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हतभरी चुरा र गुन्यू चोली लगाएका महिलाले हातमा धानको बीउ बोकेर असारे गीत गाउँदै हिलोमा छ्पकछपक रोपिएका धानका गाँज त्यो समय । आहा ! रोपाई भन्ने गरिन्थ्यो तर अहिले धान रोपाईमा परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइको रौनक नै हराएको इलामका किसानले गुनासो गरेका छन् ।

असारे भाकामा गाएका गीत जब रेडियो र टेलिभिजनमा गुन्जन थाल्छ तब रोपाइँको झझल्को आउन थाल्छ । कुनै बेला असार लागेसँगै गुञ्जायमान हुने इलामका खेतहरूमा पछिल्लो समय धान रोपाईमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै जान थालेको छ । असार महिनामा मानो रोपेर मुरी उब्जाउने किसानहरू यतिबेला धान रोपाईमा व्यस्त छन ।

यस बर्ष समयमा नै पानी परेपछि धान रोपाईमा इलामका किसानलाई चटारो परेको हो । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिदैन ।

असारे भाका कतै सुनिदैन भने रोपार र बाउसेहरूले एक-आपसमा हिलो छ्यापाछ्याप गरेको पनि बिरलै मात्र देखिन्छ । खेत हिल्याउन, दाँदे लगाउन र रोप्नसमेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता सिमित भएको बुढापाकाको भनाइ छ । उहिले रोपाइँमा खेतालाहरूले चोयाबाट बनाएको घुँम, जुटको बोरा ओडेर असारे गीत गाउँदै रोपाँइ गर्दथे तर अहिले ति दिन एकादेशको कथा बन्दै गएको इलामका किसान अग्नी प्रसाद राउतको भनाइ छ ।

रोपाइँका बाउसे र रोपारहरू एक-अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख-कष्ट र थकाई बिर्सन खोज्छन् । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको आवाजसँगै असारे भाका गुञ्जँदा सुनिरहुँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहाँस बन्न थालेको इलामकै अर्का किसान मानबहादुर चौहान बताउनुहुन्छ ।

असारे भाका ठाउँ र समुदाय अनुसार फरक फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ । पछिल्लो समय असारे गीत गाउँदै बेठी लगाउने चलन हराउँदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ । त्यसैले पनि परम्परागत सकारात्मक कुराको अनुशरण गर्ने अहिलेका युवा पुस्तालाई असारे भाका बुझाउँदै र सिकाउँदै त्यसलाई निरन्तरता दिन भने जरुरी देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?