फेरि उकालो लाग्दै कोरोना संक्रमण, एकैदिन २६० जनामा पुष्टि

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । विगत केही समययता देशभर कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ । पछिल्लो समय एन्टिजेन र पिसिआर विधिबाट तीन हजार ८४४ जनाको नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार दुई हजार २७ जनाको पिसिआर परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, एक हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र इमेलबाट प्राप्त विवरणसमेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । थप २६० जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या एक हजार १७१ पुगेको छ । पछिल्लो ४८ जना संक्रमित संक्रमणमुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ । पछिल्लो समय थपिएका संक्रमितमध्ये सबैभन्दा बढी १३७ जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयले जनाएको छ । यस्तै, ललितपुरमा २३, बाँकेमा ६, अछाममा पाँच, कास्कीमा पाँच, मकवानपुरमा पाँच, मोरङमा पाँच र भक्तपुरमा चारजना संक्रमित थपिएका छन् ।

पछिल्लो समयसम्म होम आइसोलेसनमा एक हजार १४८, संस्थागत आइसोलेसनमा २३ भेन्टिलेटरमा एकजना र सघन उपचार कक्ष (आइसियु)मा १४ जनाको उपचार भइरहेको छ । यस्तै, विगत २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

कम घातक जस्तो देखिए पनि संक्रमणदर निकै तीव्र
प्रारम्भिक अध्ययनहरूमा कम घातकजस्तो देखिए पनि संक्रमणदर निकै तीव्र भएकाले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । ‘दुई मात्रामा खोप लगाएको छैन र दीर्घरोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले भने अलि बढी सतर्कता अपनाउनुपर्छ ।’ पुनले भन्नुभयो । ओमिक्रोन भेरियन्ट कोरोना भाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन् । पछिल्लो समय पहिचान भएका बिए फोर र बिए फाइभ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पु¥याएका डेल्टा भेरियन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहेका पुनले बताउनुभयो ।

‘हालसम्म बिए फोर र बिए फाइभ नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण भेटिएको छैन । यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन । घातक भएको भए संक्रमण भएका ठाउँमा ठूलो क्षति पुर्‍याउनुपर्ने थियो ।’ यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टहरू देखिएका थिए जसले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अष्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ । पछिल्लो समय युरोपका धेरै देशहरूमा अधिकतम संक्रमण बिए फाइभ प्रजातिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?