ओडिआई क्रिकेटमा सन्दीपको कीर्तिमान

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले कीर्तिमान कायम गर्नुभएको छ । सन्दीपले ओडिआई क्रिकेट इतिहासमै सबैभन्दा कम औसतमा बलिङ गर्दै कीर्तिमान कायम गर्नुभएको हो ।

अफगानिस्तानका क्रिकेटर राशिद खानलाई पछि पार्दै सन्दीपले यो कीर्तिमान कायम गर्र्नुभएको हो । ओडिआई क्रिकेट सन् १९७१ देखि सुरु भएको थियो । त्यसयता सन्दीप सबैभन्दा कम औसतमा बलिङ गर्ने खेलाडी बन्नुभएको हो ।

सन्दीपले ३० ओडिआई खेलमा एक हजार ६०२ बल गर्दै एक हजार ७५ रन खर्चेर ६९ विकेट लिनुभएको छ । उहाँको प्रतिविकेट औसत रन १५.५७ छ । उहाँले करिअरको एकै इनिङमा दुईपटक ६–६ विकेट लिनुभएको छ । उहाँको उत्कृष्ट प्रदर्शन ६-११ छ ।

राशिदको औसत १८.६५ रहँदा इकोनमी ४.१६ छ । सन्दीपले राशिदको औसतलाई ३.०८ को औसतले पछि पार्नुभएको हो । राशिदको उत्कृष्ट प्रदर्शन ७-१८ छ ।

सन्दीपले २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट ओडिआई क्रिकेटमा डेब्यु गर्नुभएको थियो । सन्दीपको कप्तानीमा नेपालले १४ ओडिआई खेल खेलेको छ । जसमा उहाँले २८ विकेट लिनुभएको छ । यस्तै पारस खड्काको कप्तानीमा ६ खेल खेल्नुभएका सन्दीपले १५ विकेट लिनुभएको छ । त्यसबाहेक ज्ञानेन्द्र मल्लको कप्तानीमा १० खेल खेल्नुभएका सन्दीपले २६ विकेट लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?