नेपाल बाथरोग मैत्री समाजको वार्षिकोत्सव तथा नयाँ कार्यसमिति गठन

हिमालय टाइम्स
Read Time = 5 mins

ललितपुर । बाथरोग निवारण तथा सचेतना अभिवृद्धिका लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’ को ११औं वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा एक कार्यक्रमबीच वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको हो ।

समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा.बुद्धि पौड्याल, अथितिहरूमा बाथरोग विशेषज्ञ डा.दीपा शाह, डा.उज्ज्वल रिसाल, डा.अमृत घिमिरे, डा.अमिृतकुमार राना, डा.कृष्ण अधिकारी, डा.सुमित पाण्डे, डा.प्रयुश शर्मा, डा.प्रदीप श्रेष्ठ रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.दीपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोगसम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बाथरोगमैत्री समाजले देशलाई धेरै दिन सक्नेसमेत बताउनुभयो । विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा.बुद्धि पौडेलले बाथरोगको उपचार महँगो र दीर्घरोग भएपनि सरकारले यस रोगसम्बन्धमा बेवास्था गरेको विचार व्यक्त गर्नुभयो । साथै उहाँले क्यान्सर, मुटु, मृगौला रोगीहरूलाई जस्तै बाथ रोगीहरूलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । बाथरोगको सचेतनाका निम्ति सरकारदेखि चौथो अंग मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासा रहेका थिए । समाजको सल्लाहकारसमेत रहनुभएका डा.पौडेलले संस्थाको सेवा क्रमिक रूपमा देशभर पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा.उज्ज्वल रिसालले बाथ रोगीहरूका लागि खोपको महत्व विषयमा प्रकाश पार्नुभएको थियो । बाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकोले पनि कुनै पनि किसिमका खोपहरू महत्वपूर्ण हुने रिसालले बताउनुभयो । बाथरोग विशेषज्ञ डा.दीपा शाहले हड्डीको महत्वबारे कार्यक्रममा प्रकाश पार्नुभएको थियो । उहाँले वयस्क उमेरदेखि नै सन्तुलित भोजन, व्यायाम तथा योगमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

डा.अमृत घिमिरेले बाथ रोगीहरूले के के खानुहुन्छ र केके खानु हुँदैन भन्ने बारेका समाजमा रहेका भ्रमहरू चिर्ने प्रयास गर्नुभएको थियो । उहाँले बाथ रोगीहरूले खानपिनमा कुनै किसिमका कुरा बार्नु नपर्ने धारणा राख्नुभएको थियो । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममको सभापतित्व वरिष्ठ बाथरोग मैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमा नयाँ कार्यसमितिको समेत चयन गरिएको थियो । नयाँ कार्य समितिमा अध्यक्ष्य मेनका आचार्य, प्रथम उपाध्यक्ष रूपाविमल क्षेत्री, द्वितीय उपाध्यक्ष बलरामकृष्ण बन्जाड, महासचिव गणेश थापा, सचिव सुष्मा रेग्मी, कोषाध्यक्ष विजयराज अधिकारी, सहकोषाध्यक्ष टीकादेशी श्रेष्ठ चयन हुनुभयो । कार्यसमितिको सदस्यहरूमा सरला श्रेष्ठ, टीका तिमल्सिना, राजु पन्थी र सविन कार्की छनौट हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?