प्रदर्शनमा प्रतिपक्ष

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

वास्तवमा हाम्रो जस्तो अल्पविकसित देशको राजनीति सहमतिको बाटोबाट अगाडि बढ्न नसक्ने रहेछ भन्ने देखिएको छ । राष्ट्रिय स्वार्थमा पनि उनीहरू एकै ठाउँमा उभिन नसकेका धेरै उदाहरण छन् । हाल पाँच दलको गठबन्धनको सत्ता छ । यसो भएको कारण सत्ता सबल छ भन्न सकिएला तर प्रतिपक्ष पनि कम आक्न मिल्ने खालको छैन । हाम्रो सन्दर्भमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एमाले समाजवादी पार्टी तथा संयुक्त जनमोर्चा नेपाल र नेकपा एमाले यिनै हुन् राष्ट्रको अग्रपंक्तिमा रहेका पार्टीहरू । यीबाहेक अन्यलाई पनि खोजी गर्दाका अवस्थामा मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य पार्टीहरू पाइएलान् ।

यिनै पार्टीहरूलाई देशका प्रमुख पार्टीका रूपमा मान्दा पाँचवटा पार्टी मिलेर हालको सरकार बनेको छ । बाँकी रहेको एउटा पार्टी नेकपा एमाले प्रतिपक्षमा छ । प्रतिपक्षमा अरू पनि केही पार्टीहरू छन् तर तिनको राष्ट्रिय राजनीतिमा त्यति ठूलो प्रभाव छैन । एमाले भने ठूलो पार्टी भएका कारण प्रतिपक्षमा रहेर आफ्नो भूमिका देखाउँदै आइरहेको छ । यस्तो भूमिका कहिलेकाहीँ रचनात्मक भए पनि धेरैजसो सत्तापक्षलाई अवरोध पुर्‍याउने खालको रहेको छ । नेपालको केही वर्ष पहिलेदेखिको राजनीतिक गतिविधिलाई हेर्दा नेकपा एमाले एकातिर र वर्तमान सत्ता साझेदार पार्टीहरू अर्कातिर भएर अघि बढिरहेका छन् ।

पहिले कम्युनिष्ट पार्टीहरू एक भएर २०७४ सालको निर्वाचन लडेका थिए । उनीहरूको एकताका कारण बहुमत पनि उनीहरूकै आयो जुन स्वाभाविक थियो तर त्यो एकता लामो समयसम्म टिक्न नसकेको कारण आपसी कलह सिर्जना भयो र नेकपा छिन्नभिन्न भएर तीनवटा पार्टी बन्न पुगे । वर्तमान अवस्था यिनै विभिन्न पार्टीहरू अस्तित्वमा रहेका छन् । यसरी एउटा ठूलो पार्टी विभिन्न पार्टीमा विभाजन भई कमजोर बन्न गएको अवस्थामा तीमध्ये नेकपा एमाले भने अझै सडकदेखि सदनसम्म आफ्नो सबल उपस्थिति देखाउँदै आएको छ ।

राजनीति भनेको कि सत्तामा बसेर विपक्षलाई बेवास्ता गरेर अगाडि बढ्ने कि विपक्षमा रहेर सत्तापक्षलाई कुनै पनि रचनात्मक कार्य गर्न नदिने कार्य हो भन्ने सोचले डेरा जमाएको हाम्रो देशमा प्रजातन्त्रको पुनःस्थापना भएदेखि नै यस्तै मात्र देखिँदै आएको छ ।
प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले आफ्नै कारणले सत्ताबाट हट्न पुगेको थियो र यसपछि पनि यस पार्टीले लामो समयसम्म यसरी नै संसद्मा अवरोध गरिरहृयो । एमालेले माग गरेका कतिपय कुराहरू सरकारले पनि मानिदिएको छ र छानबिनको दायरामा ल्याएको छ ।

त्यसबाट निस्किएको परिणामलाई स्वीकार्नु त सबैको कर्तव्य हुन आउँछ तर एमालेले त्यस्ता परिणामहरूलाई पनि स्वीकार गर्न नसकिरहेको देखिन आएको छ । अर्थमन्त्री जनार्दन शर्माको विषयमा यस्तै भएको छ । हाल महँगीले शिखर छोएको छ, भ्रष्टाचार बढेको छ । यस्तै, विविध विषयको विरोधमा नेकपा एमाले सडकमा ओर्लिएको छ । एमालेले यसका लागि सर्वसाधारण जनतालाई समेत सहभागी गराएको छ । महँगी र भ्रष्टाचारका विरुद्धमा यसरी आवाज उठाउनु उपयुक्त हो ।

यसमा सर्वसाधारणले निश्चिय साथ दिन्छन् किनभने महँगीको मारमा पर्ने उनीहरू नै हुन् । यस्ता समस्याविरुद्ध नेतृत्व गर्ने एउटा वर्ग चाहिएको छ । यस्तो मानसिकता बुझेर एमालेले यसको नेतृत्व लिन खोजेको जस्तो देखिन्छ । सत्ता पक्षले भ्रष्टाचार र कमिसनको खेललाई कम गर्न सकेको छैन । महँगी बढ्नुमा सबै कारणाहरू अन्तर्राष्ट्रिय मात्र नहोलान्, केही त कमिसनका कारणले पनि यसो भनेको होला । त्यसकारण विरोधमा आवाज उठाउनु आवश्यक नै छ तर प्रमुख प्रतिपक्ष भएका नाताले नेकपा एमालेले सधैँभरि सबै ठाउँमा र सबै विषयमा विरोधका लागि विरोध गर्नु मात्रलाई चाहिँ उचित ठान्न नसकिएला । कुनै विषयलाई सत्ता र सत्ताबाहिर रहँदा सबै पार्टीले एकै आँखाले हेर्न सक्नुपर्ने हुन्छ । त्यो सफल पार्टीको विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?