श्रेष्ठ र तामाङलाई राखेपको सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुईपटक राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हाली सक्नुभएको छ । तामाङ नेपाल भलिबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्यहरू नन्दा बस्याल, अञ्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलतका लागिका शुभकामना दिँदै ताम्रापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनुहुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै आफूले सम्हालेको मन्त्रालयमार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत तामाङले आफ्नो नियक्तिमा पनि खेल क्षेत्रको ठूलो योगदान रहेको बताउँदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । उपाध्यक्ष कोइरालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वले महत्वपूर्ण जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको कुरा भएको विचार व्यक्त गर्नुभयो ।

सदस्यसचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्वपदाधिकारीले राज्यको महत्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनुपर्छ भन्ने मान्यतालाई आत्मासात गरी नयाँ थालनीको सुरुवात गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले परिषद्ले चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा विशेष जोड दिएको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?