अमित आइटेल मोबाइलको ब्रान्ड एम्बेसडर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेसडर घोषित हुनुभएको छ । नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवश्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।

दायाँहाते ब्याटर अमितले नेपालको यू-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसक्नुभएको छ भने विगत १५ वर्षदेखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरू खेल्दै आउनुभएको छ । उहाँले २०१३ को एसिसी यू-१९ र यू-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एकमात्र ब्याट्सम्यान हुनुहुन्छ । उहाँले वीरगञ्जको प्रतिनिधित्व गर्दै २०१२ मा उक्त कीर्तिमान बनाउनुभएको थियो । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौं किङ्स ११ बाट खेल्नुभयो ।

आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताउनुभयो ।

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताउनुभयो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौँ भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौँ । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो पनि प्रचार होस् भनेर सहकार्य गरेका हौँ,’ पौडेलले भन्नुभयो ।

कम्पनीले सुरुवातमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवश्यकताअनुसार प्रदान गर्ने जानकारी गराउनुभयो । जसबापत अमितले कम्पनीको लोगो, आफ्नो ब्याटलगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनीको प्रचार गर्नुहुनेछ ।

अमितले भविष्यमा क्रिकेट खेल्न यो सहकार्यले राहत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलोपटक प्रायोजक पाएको हुँ । यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ ।’ सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?