बढ्दै सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या, एक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटना, दुई हजार ८८३ को मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको छ । सवारी दुर्घटना बढेसँगै ज्यान गुमाउनेको संख्यासमेत बढेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार तीन महिनाको तुलनात्मक अध्ययनले दुर्घटना बढेको देखाएको छ । गत वर्षको तीन महिनाको तुलनामा यो वर्ष ६३ प्रतिशतले दुर्घटना बढेको पाइएको हो ।

सवारी दुर्घटना मात्रै होइन दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि ३९ प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । आव २०७८/७९ मा कुल २४ हजार ५३८ दुर्घटना भएका छन् । प्रहरीका अनुसार गत आर्थिक वर्षमा ३९ हजार ३७९ सवारीसाधन दुर्घटना भएका हुन् । ती दुर्घटनाबाट कुल दुई हजार ८८३ जनाको मृत्यु भएको छ प्रहरीको तथ्यांक छ । दुर्घटनामा सात हजार २८२ जना घाइते भएको प्रहरीले जनाएको छ । जबकि आर्थिक वर्ष २०७७/७८ मा कुल २० हजार ६४० दुर्घटनामा दुई हजार तीन सयको ज्यान गएको थियो भने ६ हजार ४४८ जना घाइते भएका थिए ।

दार्चुलामा भएको जिप दुर्घटनामा पाँचजनाको मृत्यु, नौ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाउनेमा चारजना पुरुष र एकजना महिला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाका अनुसार दुर्घटनामा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको ज्यान गएको छ ।

दुर्घटनामा नौजना घाइते भएका छन् । मालिकार्जुन मन्दिर जाने गेटबाट एक किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर मालिकार्जुन-३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन-६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका-३ का ३५ वर्षीय रमेश लुहार घाइते हुनुभएको छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?