नेपाली टोली केन्या प्रस्थान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार केन्या प्रस्थान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक कार्यक्रमबीच केन्या जाने नेपाली टोलीको बिदाइ गरेको हो । नेपालले केन्यासँग पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पाँच खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । तीन खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यका लागि यो सिरिज महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विश्व क्रिकेट लिग २ को तयारी तथा ओडिआई मान्यतालाई निरन्तरता दिनका लागि पनि सिरिजमा नेपालको प्रदर्शन महत्वपूर्ण हुने बताउनुभयो । दुवै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुवातमा पाँच खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । यसै भ्रमणबाट राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले टोली सम्हाल्नुहुनेछ ।

सिरिजका लागि यसअघि नै नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव हुनुहुन्छ ।

खकुरेल बिबिएलको ड्राफ्टमा
यस्तै नेपाली राष्ट्रिय टोलीका पूर्वओपनर तथा विकेट किपर सुवास खकुरेल अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) क्रिकेटको ड्राफ्टमा पर्नुभएको छ । बिबिएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा खकुरेल अटाउनुभएको हो । ड्राफमा पर्ने उहाँ नेपालका दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि नेपालका कप्तान सन्दीप लामिछाने ड्राफ्टमा पर्नुभएको छ । बिबिएलको ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?