दलहरू आ-आफ्ना चुनावी रणनीतिमा व्यस्त

हिमालय टाइम्स
Read Time = 6 mins

राजनीतिक दलहरू आ-आफ्नै चुनावी रणनीतिमा व्यस्त छन् । चुनाव नजिकिँदै आइरहेको छ । त्यसैले साम, दाम, दण्ड र भेदको नीति उनीहरू अवलम्बन गरिरहेका छन् । राजनीति गर्नुको अभिप्राय आफू जित्नु नै हो । जित्नकै लागि राजनीति गर्ने हो, हार्न कोही पनि राजनीति गर्दैन । जित्नका लागि योजना चाहिन्छ । नीति चाहिन्छ र त्यसका लागि पैसाको पनि जरुरी पर्छ । यी सबैको निर्माण गर्न र योजना बनाउन दलहरू तल्लीनतापूर्वक लागिपरिरहेका छन् । फरक दलका बीच प्रतिस्पर्धा गर्न यसरी लागिपर्नु स्वाभाविक हो तर आफ्नै दलभित्र पनि एकले अर्कालाई उचालपछार गरेर आफू अगाडि बढ्न खोज्नु अस्वाभाविक जस्तो देखिन्छ, नेताहरूबीच यस्तो देखिएको छ ।

निर्वाचनमा विजय गर्न सहज होला भनेर केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उभ्याएका छन् । ती नेताबाट त्यस्तो घोषणा भएपछि अरूले पनि त्यसरी नै आफू प्रधानमन्त्रीको भावी उम्मेदवार भनेर घोषणा गर्ने लहर नै चल्यो । यसले गर्दा पार्टीभित्रैबाट त्यसरी घोषणा गर्ने व्यक्तिलाई आफ्नो मार्गको बाधकका रूपमा हेरिएको छ र जसरी भए पनि त्यसलाई हराउने योजना बनाउन उनीहरू तल्लीन छन् । यस्तो अस्वस्थ प्रतिस्पर्धा वर्तमान राजनीतिमा चलिरहेको छ । अर्कातिर हाल सरकारमा रहेका दलहरूबीच गठबन्धनमै निर्वाचनमा जाने सहमति त भएकै छ तर सिटको तालमेलमा अझैसम्म पनि सहमति जुट्न सकेको छैन । गठबन्धनका अरू सबै दलहरू एकातिर लागेर नेपाली कांग्रेसलाई गलाउने रणनीति तिनीहरू तयार गर्दैछन् ।

नेपाली कांग्रेसलाई सकेसम्म कम सिटमा खुम्च्याउने उनीहरूको रणनीति बन्दैछ । यसो गर्दा नेपाली कांग्रेस गठबन्धन नगरी निर्वाचनमा जाँदाभन्दा पनि निकै नै कम सिटमा चित्त बुझाउन बाध्य हुनुपर्ने अवस्थाको सिर्जना होला कि भन्ने पनि देखिन आएको छ । नेपाली कांग्रेसलाई भने वर्तमान सत्तारूढ दलहरूबीच गठबन्धनको सहमति नगर्ने हो भने गत आमनिर्वाचनमा जसरी नै सम्पूर्ण वामपन्थी दलहरूले गठबन्धन गरी निर्वाचनमा जालान् कि भन्ने भय पैदा भएको हुनसक्छ । यसरी निर्वाचनमा जाँदा नेपाली कांग्रेस २०७४ सालमै जसरी पछि पर्न सक्छ । त्यही बुझेर नेपाली कांग्रेसले हालकै सत्ता गठबन्धन दलहरूबीचकै गठबन्धन कायम गरी निर्वाचनमा जाने सहमति गरेको हुनसक्छ ।

तर, नेपाली कांग्रेसका लागि यो सहमति पनि धेरै फाइदाजनक देखिएको छैन । यही भएर नै धेरैपटक बैठक गरिसक्दासमेत सत्ता गठबन्धन सिट बाँडफाँटमै अल्झिरहेको छ । एक दलले अर्कालाई गलाउने र खसाल्ने रणनीति रहेको पाइन्छ । यसमा वामपन्थी दलहरू एकातिर लागेर नेपाली कांग्रेसलाई गलाउन सकिन्छ कि भन्ने सोचिरहेको छन् । यसैले सहमति बन्न नसकिरहेको हो भन्न कुनै गाह्रो छैन । गठबन्धनका सहभागी दलहरूबीच पटक-पटकका बैठकहरूबाट निष्कर्ष आउन नसकिरहेको भए तापनि निश्चित छ उनीहरूले एउटा निष्कर्ष निकाल्छन् नै, केही दिनभित्रै एउटा निष्कर्ष आउने उनीहरूको दाबी निश्चय पनि सार्थक बन्छ ।

उता नेपाली कांग्रेसले भने सहमति पर्खेर नबसी चुनावी अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला जिल्लामा खटाइसकेको छ । कांग्रेसले दलहरूबीचको समन्वय बढाउनका लागिसमेत निर्देशन दिएको छ । तर, गठबन्धनका दलहरूबीच मापदण्डमै विमति रहेको देखिन आएको छ । कुन कुरालाई यसको एउटा मापदण्ड बनाउने भन्नेमा उनीहरूबीच मतान्तर पाइएको छ । गत स्थानीय निर्वाचनमा पाएको मतसंख्यालाई आधार बनाउनुपर्ने भन्नेहरू एकतर्फ छन् भने अर्कोतर्फले २०७४ सालको मतसंख्यालाई आधार मान्नुपर्छ भन्ने तर्क गरेका छन् । निष्कर्ष यस्तै तर्कहरूबाट आउने हो तर त्यस्तो निष्कर्ष छिट्टै आउनुपर्छ । जसले गर्दा सबैलाई आ-आफ्नो निर्वाचन क्षेत्रको अभियानमा लाग्न सजिलो हुन्छ ।

सत्तारूढको यो गठबन्धन निर्वाचनमा चुनौती बनिरहेको एमालेविरुद्ध नै हो भन्दा अन्यथा हुँदैन । एमाले आफ्नो पार्टीले एक्लै गठबन्धनलाई पाखा लगाउनेछ भनेर चुनौती दिइरहेको छ । निर्वाचन आयोग निर्वाचनलाई खर्चिलो नबनाउनका लागि विभिन्न आचारसंहिताहरू निर्माण गरिरहेको छ । स्थानीय निर्वाचनमा पनि यस्ता केही मापदण्ड बनाएर लागू गरेको थियो । अबको आमनिर्वाचनमा पनि ठूला खालका भेला, जुलुस गर्न नपाउने गरी प्रस्ताव गरेको छ । त्यसमा दलहरूले कस्तो सहमति गर्लान् त्यो पनि छिट्टै थाहा होला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?