उपत्यकामा डेंगु संक्रमणको सन्त्रास, ललितपुरलाई ‘महामारी क्षेत्र’ घोषणा गर्ने तयारी

युवासंघ नेपालले डेंगुुबाट जोगिनका लागि ललितपुरको लगनखेलमा लामखुट्टे मार्न औषधि छर्दै ।

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुु संक्रमण बढ्दै गएको छ । तराई-मधेश तथा पहाडी क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएको हो । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यकासहित, पोखराजस्ता सहरमा डेंगुु ज्वरोका बिरामी बढिरहेका छन् । हालसम्म डेंगुका बिरामी ७२ जिल्लामा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पुसदेखि शुक्रबारसम्म चार हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

यसपटक काठमाडौंमा डेंगुुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा उपचार गर्न आउने डेंगुु संक्रमितको संख्या बढेको छ । डा. बस्नेतका अनुसार संक्रमितमध्ये अधिकांशमा १०१–१०४ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जिउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिएका छन् ।

वीर अस्पतालमा मात्रै होइन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि डेंगुका बिरामी बढेका छन् । बिरामी बढेसँगै अस्पतालले डेंगुु क्लिनिक नै सुरु गरेको छ । हाल दैनिक कम्तीमा १७० भन्दा बढी बिरामी क्लिनिकमा आइरहेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार चारजनाको आइसियु तथा २७ जना वार्डमा उपचार भइरहेको छ । १५ बेडको आइसियुमा पाँचवटा बेड थपी २० वटा बेडमा बिरामी भर्ना भएको उहाँले बताउनुभयो । शुक्रराज अस्पतालमा मात्र नभई डेंगुुको लक्षण लिएर जाँच गर्न आउने तथा भर्ना हुने बिरामीको संख्या देशभर बढिरहेको छ । सबैभन्दा बढी ललितपुरमा एक हजार ६७४ जनामा डेंगु देखा परेको छ ।

तीव्र गतिमा संक्रमण फैलिएपछि सरकारले ललितपुरलाई डेंगुु महामारी क्षेत्र घोषणा गर्नेबारे पनि विज्ञहरूसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । ललितपुरसँगै काठमाडौं र रुपन्देहीमा पनि धेरै संक्रमण देखिएको महाशाखाले जनाएको छ  । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मी लगायतका जिल्लामा संक्रमण फैलिएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुुको बिरामी फेला परेको थियो । त्यसयता डेंगुुको संक्रमण देखिँदै आएको छ । सबैभन्दा धेरै २०१९ मा १७ हजार ९९२ जनामा डेंगुु पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ फैलिएको डेंगुबाट पाँचजनाको मृत्यु भएको थियो ।

चैन ब्रेक गरिएन भने दशैँतिहार पछाडिसम्म पनि बढिरहन सक्छ : चिकित्सक
डेंगु जुनसुकै उमेर समूहकालाई लाग्न सक्ने भए पनि हाल १५ देखि ४० वर्ष वर्ष उमेर समूहका मानिसमा बढी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु जुनसुकै उमेर समूहकालाई लाग्ने सक्ने बताउनुभयो । ‘कुन उमेर समूहकालाई बढी देखिएको छ भन्ने महाशाखाले अध्ययन गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । कुनै पनि वैज्ञानिक आधार तय भएको छैन । अहिले १५ देखि ४० सम्मका बिरामी बढी देखिएका छन् । यो अस्पताल आउनेहरूको आँकडा हो ।’

डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य र स्थानीय तहबाट काम भइरहेको दाहालले बताउनुभयो । नियन्त्रण गर्न सबै आ-आफ्नो तहबाट चेतनामूलक कार्यक्रमहरू गर्दै आएको उहाँले जानकारी दिनुभयो । डेंगुका लार्भालाई नष्ट गर्ने कामलाई निरन्तरता दिएको उहाँकोे भनाइ छ । डेंगु ‘एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेका टोकाइबाट सर्छ । एडिस लामखुट्टेले प्रायः गरेर दिनमा टोक्ने गर्छ ।
उहाँका अनुसार डेंगु जोखिम अझै पनि कायमै रहेको छ । वर्षात्को मौसम अझै रहेकाले सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

साउनदेखि असोज-कात्तिकसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुुकोे संक्रमण जोखिम बढी हुने गरेको उहाँको भनाइ छ । डेंगुुको चेन ब्रेक गर्नलाई लामखुट्टेको नै चेन ब्रेक हुनुपर्छ ।

युवासंघ नेपालले डेंगुुुबाट जोगिनका लागि ललितपुरको लगनखेलमा लामखुट्टे मार्न औषधि छर्दै । तस्बिर : हिटा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?