कला निर्देशक उद्धवराज भट्टराईको निधन

Read Time = 3 mins

डम्बर बोहरा/हिटा
बैतडी । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, कला निर्देशक तथा कष्ट्युम डिजाइनर उद्धव भट्टराई ‘जुंगे’ को शनिबार बिहान निधन भएको छ । बैतडीको पाटन नगरपालिका-१ घर हुनुभएका ६६ वर्षीय भट्टराईको शनिबार उपचारका लागि काठमाडौं लैजाने क्रममा चितवनमा निधन भएको हो ।

लामो समयदेखि दमरोगबाट पीडित भट्टराईको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको थियो । जुंगे दाइका नामले दर्शक माझ परिचित भट्टराई विगत पाँच दशकदेखि नेपाली चलचित्र नगरीको भेषभूषा तथा कला क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

उहाँले चलचित्र ‘सेतोबाघ’ चलचित्रका लागि श्रीपेच र शेषनाग बनाउनुभएको थियो । ‘माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, ‘राजमति’, ‘लर्ड बुद्ध’, ‘प्रेम-पिण्ड’, ‘मुनामदन’, ‘जय बाबु पशुपतिनाथ’, ‘श्रीस्वस्तानी’ ‘भाग्यरेखा’, ‘सन्तान’लगायत थुप्रै चलचित्रमा उहाँले काम गर्नुभएको थियो । पछिल्लो समय ‘प्रेमगीत ३’का लागि भट्टराईले ९३ वटा नक्कली बञ्चरो बनाइदिएको समेत चर्चा चलेको थियो ।

नेपाली हाँस्य टेलिचलचित्र ‘जिरे खुर्सानी’सहित अन्य नेपाली टेलिचलचित्रमा पनि उहाँले अभिनय गर्नुभएको थियो । जुंगे दाइ आर्ट निर्देशक मात्र नभई शसक्त अभिनय गर्न सक्ने अब्बल कलाकार रहेको उहाँसँगै काम गरेका कलाकारहरू बताउनु हुन्छ । उनी दर्शकमाझ उद्धवराज भट्टराईभन्दा बढी जुंगे दाइको नामले बढी परिचित हुनुहुन्थ्यो ।

नेपाल सरकारबाट विभूषित भट्टराईले नेपाल आर्मी गुर्जु पल्टनमा पुराना कलासंस्कृतिको निर्माण गर्नुभएको थियो । सन्तान चलचित्रमार्फत कलाकार तथा कष्टुम डिजाइनरको रूपमा करिअर प्रारम्भ गर्नुभएका भट्टराईलाई २०७३ सालमा वितरण गरिएको एलजी फिल्म अवार्डमा कला निर्देशनको रूपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । भट्टराईले नेपालीसँगै केही बलिउड चलचित्रमा पनि अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?