बारामा राष्ट्रिय परिचयपत्र बनाउन सकस

हिमालय टाइम्स
Read Time = 5 mins

सञ्जीवकुमार मिश्रा/हिटा
बारा । बारामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । प्रत्येक दिन १२० वटा परिचयपत्रमात्र वितरण हुने गरेकाले बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लाइनमा बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । बिहान ५ बजेदेखि नै आफू राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाइनमा बसेको कलैया उपमहानगरपालिका-१० मटिअर्वाका कृष्ण पटेलले बताउनुभयो । ‘बाराको सदरमुकाम कलैयाबाट १० किलोमिटर टाढा रहेको घरबाट आउँदा आउँदै दुई/तीन सयभन्दा बढी लाइन लागिसकेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘दिनहुँ आउने र फर्केर जानुपर्ने बाध्यता रहेका कारण बिहान ५ बजेदेखि नै लाइनमा बसेको छु ।’ आज जसरी पनि राष्ट्रिय परिचयपत्र बनाएर जाने निधो गरेर आएको उहाँले बताउनुभयो ।

‘दिनहुँजसो आउने र फर्केर जाने गरेका थियौं,’ परवानीपुर गाउँपालिका-५ बहुअरीका विशालकुमार गुप्ताले भन्नुभयो, ‘घर टाढा छ आउँदा आउँदै लामो लाइन लागिसकेका हुन्छन् । पालो पर्खंदा पर्खंदै दिन बित्छ, पालो आउँदैन र फर्केर जानुपर्छ । त्यसै राती घर नगएर कलैयामै होटलमा बास बसें, एकाबिहानै उठेर राष्ट्रिय परिचयपत्र लिन लाइनमा बसेको हुँ । आज जसरी पनि परिचयपत्र लिएरै घर फर्किन्छु ।’ आफ्नो कामधन्दा छाडेर दिनहुँ धाउँदा धाउँदै दिक्क लागेको उहाँले जानकारी दिनुभयो ।

‘हामीजस्ता गरिब मान्छेलाई कमाइ गरेर पेट पाल्न समस्या भएको छ,’ परवानीपुर गाउँपालिका-३ लिपनीका अर्जुन रामले भन्नुभयो, ‘एकातिर बेरोजगारीले समस्या उत्पन्न गरेको छ भने अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नभई पासपोर्ट बन्न नसक्ने बाध्यात्मक परिस्थिति छ । देशमा बसेर जीवन धान्न सक्ने अवस्था छैन । त्यसैले विदेश जानका लागि पासपोर्ट बनाउन आएको छु । तर, राष्ट्रिय परिचयपत्र नभई पासपोर्ट बन्दैन । पासपोर्ट नभए विदेश जान सकिँदैन । एकातिर दिनभरि कमाएर पेट पाल्नुपर्छ, अर्कोतर्फ राष्ट्रिय परिचयपत्रका लागि लाइनमा नबसे बन्दैन । हप्तौं दिनदेखि जिल्ला प्रशासन कार्यालय बारामा दिनहुँ आउने जाने क्रम लागेको छ । अहिलेसम्म परिचयपत्र पाउन सकेको छैन । त्यसैले बिहानैदेखि लाइन बसेको हुँ । विदेशिनु हाम्रो रहर होइन बाध्यता हो । देशमा बसेर जीवन धान्न गाह्रो भएको छ । त्यसैले ऋण सापटी गरेर विदेश जाने अठोेट गरेको हुँ ।’ राष्ट्रिय परिचयपत्र बनाएर विदेश गई कमाइ आर्जन गरेर परिवार राम्ररी पाल्नुबाहेक अरू केही ठूलो सपना आफ्नो नभएको रामले जानकारी दिनुभयो ।

‘सबैलाई राष्ट्रिय परिचयपत्रको आवश्यकता छ,’ बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, ‘कसैलाई पढ्न जानु छ त, कसैलाई विदेश काम गर्न जानु छ, यस्तोमा भिडभाड हुनु स्वाभाविक कुरो हो । दिनहुँजसो १५० देखि दुई सयसम्म जिल्ला प्रशासन कार्यालय कलैयाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको छ । त्यसैगरी जिल्लाको कोल्हवी, जितपुर सिमरा, सिम्रौनगढ इलाकाबाट समेत राष्ट्रिय परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।’ पहिलाको भन्दा अहिले भिड पातलिँदै गएको छ र यो समस्या चाँडै नै समाप्त हुने उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?