पौरस्त्य वाङ्मयले परिकल्पना गरेको नेतृत्व

Read Time = 15 mins

✍️ डा. नारायणप्रसाद निरौला
राज्य सञ्चालन गर्ने मुख्य नेतृत्वकर्ता कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पौरस्त्य वाङ्मयमा विशद् विवेचना गरिएको पाइन्छ । पौरस्त्य वाङ्मय भनेको वेद र वेदबाट अनुप्राणित समस्त ग्रन्थहरू हुन् । लोकतान्त्रिक समाजको परिपाटी वैदिक कालदेखि नै सुरु भएको पाइन्छ । ‘विशो न राजानं वृणान’ (ऋग्वेद १०।१२४।८) भन्ने ऋचामा राजा (राज्य प्रमुख वा सरकार सञ्चालक) को चयन निर्वाचन प्रणालीबाट हुनुपर्छ भनिएको छ । प्रजाबाट चुनिएको प्रजाको आवाजलाई सम्बोधन गर्नसक्ने व्यक्ति नै राज्य प्रमुख नेता हुनसक्छन् भनी अथर्ववेदमा यसरी बताइएको छ ः ‘त्वां विशो वृणनं राज्याय’ (अथर्ववेद) अर्थात् राज्य सञ्चालनका लागि प्रजाले वरण गरेको व्यक्ति नै हुनुपर्छ ।

राष्ट्रप्रमुख प्रजाले चाहेको हुनुपर्दछ र नेतृत्व पनि प्रजाप्रति उत्तरदायी रहनसक्नुपर्दछ भनिएको छ : ‘विशस्त्वा सर्वा वाञ्छतु’ (अथर्ववेद ६।८७।१) अर्थात् राष्ट्रप्रमुखलाई प्रजाले चाहनुपर्छ । राज्यप्रमुखले जनताको इच्छा, चाहना आदिलाई चिन्तन मनन गरेर मात्र निर्णय लिने गरेको कुरा वैदिक वाङ्मयका ग्रन्थमा पाइन्छ । ‘सत्यं वद, धर्मं चर, स्वाध्ययन मा प्रमद’ (तैत्तिरीयोपनिषद् शिक्षावल्ली १।११।२) भनी उपनिषद्ले पनि नेतृत्व सच्चरित्र, सत्यवादी, स्वधर्मको पालन गर्ने हुनुपर्छ भन्ने भाव व्यक्त गरेको पाइन्छ । ‘विशिराजा प्रतिष्ठिता’ अर्थात् प्रजामा नै राजा प्रतिष्ठित हुन्छन् भनी ब्राहृमण ग्रन्थमा उल्लेख पाइन्छ ।

महाभारत राजनीतिको गुरुग्रन्थ हो । जसमा पनि लोकतान्त्रिक समाज व्यवस्थित हुनुपर्छ भनी यसरी बताइएको छ । लोकतान्त्रिक समाजमा रहेका मानिसहरूले एक अर्काको मर्म बुझ्नुपर्छ, भाव जान्नुपर्छ, आपत् विपद्मा सहयोग गर्न जान्नु र सक्नुपर्छ पनि भनिएको छ ।

प्रजाको निर्वाचन पद्धतिबाट नै राजा अर्थात् राष्ट्रपतिको चयन हुन्छ भनिएको छ । ‘यथा प्रजा तथा राजा’ अर्थात् प्रजा अनुकुल राजा रहनुपर्छ, राष्ट्राध्यक्ष चुन्ने निर्वाचन पद्धति स्पष्ट हुनुपर्छ, योग्यताको आधारमा कर्मचारीको नियुक्ति हुनुपर्छ भन्ने वचनबाट नेतृत्वकर्ता जनताका सुख दुःखमा साथ दिनसक्ने हुनुपर्छ भन्ने परिकल्पना गरिएको छ ।

महाभारत राजनीतिको गुरुग्रन्थ हो । जसमा पनि लोकतान्त्रिक समाज व्यवस्थित हुनुपर्छ भनी यसरी बताइएको छ ः ‘समुद्धरेत् स्वस्थ कुलस्य तन्त्रम्’ (महाभारत, आदिपर्व, १०३।६) । लोकतान्त्रिक समाजमा रहेका मानिसहरूले एक अर्काको मर्म बुझ्नुपर्छ, भाव जान्नुपर्छ, आपत् विपद्मा सहयोग गर्न जान्नु र सक्नुपर्छ पनि भनिएको छः ‘श्रुत्वात्वं प्रतिपाद्यस्व प्राज्ञैः सः पुरोहितैः । आपत्धर्मार्थ कुशलैः लोकतन्त्रमवेद्य च ।।’ अर्थात् लोकतन्त्रमा नेतृत्व जनताका हरेका कार्यमा साथ दिनसक्ने हुनुपर्दछ । लोकतान्त्रिक समाजमा सबैले एक अर्काको सुख दुःखमा साथ दिनुपर्छ, समाज एक अर्काको परिपूरक हो भन्ने धारणा व्यक्त पाइन्छ ।

पञ्चपाण्डव वनवास गएको बेला यक्षको पोखरीमा पानी खान जाँदा युधिष्ठिरका चारै भाइ मुर्छा परी लड्नु अनि युधिष्ठिर आई यक्षका प्रश्नको जवाफ दिनु अनि भाइलाई बचाउने प्रसङ्गमा आफ्ना साख्खे भाइलाई भन्दा पनि सौतेनी आमाको छोरा नकुललाई बचाउन आग्रह गर्नुबाट आफूले आफ्नोभन्दा पनि अरूको भलो गर्न सक्नु पर्दछ भन्ने कुरा दर्शाइएको छ । एक अर्कामा सहयोग गर्नु पर्दछ भन्ने लोकतान्त्रिक समाजको कुरा द्रौपदी र कृष्णको प्रसङ्गबाट जान सकिन्छ । कृष्णको हात काट्दा द्रौपदीले सारीको टुक्रा च्यातेर बाँधिदिनु अनि दुशासनले द्रौपदीको सारी तान्दा कृष्णले बँचाउनुबाट उक्त कुरा पुष्टि हुन आउँछ ।

भीष्म, द्रोण जस्ता महारथी पनि पराजयको मृत्युवरण गर्न पुग्नु, कर्णको कानको मुन्द्रा कवच आदि इन्द्रले ब्राहृमण भेष धारण गरी लिनु र प्रजाविरोधी कौरवको अन्त्य र पाण्डवको विजय हुनुबाट लोकतन्त्र विरोधी सधैँ परास्त भई प्रजाको हित चाहने, सत्यको पक्ष चाहनेले नै समाज र राज्यको नेतृत्व गर्नुपर्दछ भन्ने विचार व्यक्त पाइन्छ । धर्मात्मा राजा युधिष्ठिरले लोक हितार्थ राज्य गरेको प्रसङ्ग, युधिष्ठिरको राज्याभिषेकको समयमा गुरुहरूले लोक हितार्थ राज्य गर्नु, लोकको इच्छा, चाहना र मर्म बुझेर अघि बढ्नु भनी दिएको उपदेशबाट पनि महाभारतमा लोकतान्त्रिक समाज र असली नतृत्वको चर्चा भएको पाइन्छ ।

पौरस्त्य वाङ्मयको अर्को एक उत्कृष्ट महाकाव्य रामायण हो । श्रीराम, दशरथको चरित्र एवं राजा जनकको चारित्रिक प्रसङ्गबाट प्रजा अनुकूलको राजाको व्यवस्था पाइन्छ । लोक विरोधी रावणको अन्त्य गरी सच्चा सरल प्रकृतिको शासन पद्धति ल्याउनु अर्थात् लोकहितकारी कदम चाल्नु, श्रीरामले जनतालाई केही दुःख छ कि भनेर हेर्न दूत पठाउनु, धोवीको प्रसङ्गपछि सीतालाई जनभावना अनुसार नै परित्याग गर्नु आदि प्रसङ्गबाट जनताको इच्छा चाहनाअनुसारको लोकतान्त्रिक समाज र लोकोपकारी नेतृत्व हुनुपर्दछ भन्ने भाव मुखरित भएको पाइन्छ ।

व्यासले पनि समपूर्ण पुराणको सारमा असल नेतृत्वको चर्चा गरेका छन् । ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् ।।’ अर्थात् नेतृत्वकर्ता परोपकारी हुनपर्छ । पुण्यको मार्गमा अघिबढ्नसक्ने हुनुपर्दछ । परपीडक हुँनुहुँदैन । जनताको भलो चाहेर र भलो हेर्ने कार्य गरेर मात्र परोपकार हुन सक्छ, त्यसैले सबैको उपकारी कार्य गर्नु पर्दछ भन्ने भानाइबाट नेतृत्वकर्ता उपकारी हुुनुपर्दछ भन्ने कुरा व्यक्त पाइन्छ । श्रमिद्भागवतामा पनि राजा वेनकोको कथाले राजा कस्तो हुनपर्दछ भन्ने कुरा बताएको छ । राजा वेनले प्रजाको आज्ञा नमानेका कारण ऋषिमुनिहरूले हुंकारेर समाप्त गरेका थिए ।

यसैले प्रजाको भाव नेतृत्वकर्ताले बुझ्न सक्नुपर्दछ । अम्बरीस राजाको व्रत पारायणमा दुर्वासाले भाँजो हाल्नु, श्राप दिन खोज्दा विष्णु भगवान्को सुदर्शन चक्रले लखेट्नु अनि दुर्वासा ब्रहृमाको शरणमा जानु, ब्रहृमाले शिवजी समक्ष पठाउनु, शिवजीले पनि समाधान गर्न नसकेपछि विष्णु भगवानसँग पुग्नु, विष्णु भगवानले सम्पूर्ण अधिकार भक्तको अधीनमा रहेकाले भक्तसँगै पुकार गर्नु भन्ने अभिव्यक्ति दिनु र आखिरमा आएर अम्बरीसले नै दुर्वासाको घमण्डलाई तोड्नुबाट भक्त नै सर्वोपरि हुन्छ र सम्पूर्ण कुरा भक्तमा नै निहित हुन्छ भन्ने प्रसङ्गबाट पनि सम्पूर्ण अधिकार जनतामा अधीन रहने कुरा जानन सकिन्छ ।

यसैगरी श्रीकृष्णको चरित्रबाट पनि पौरस्त्य वाङ्मयमा नेता कस्तो हुनपर्दछ भन्ने कुरा पाइन्छ । ग्वाला गोठालाको निर्णयलाई स्वीकार्नु, राक्षस र कुभलो चिताउनेलाई परास्त गर्नु र सबैलाई स्वतन्त्रताको शङ्खघोष गर्नु आदि प्रसङ्गले सच्चा नेतृत्व सर्वहितकारी हुनुपर्दछ भन्ने भाव व्यक्त पाइन्छ । नेतृत्वकर्ता अहंकारी हुँनुहुँदैन भन्ने कुरा विष्णुपुराणमा राजा बलिको कथामार्फत् पाइन्छ । अहंकार आफ्नै शत्रु हो । जसले अहंकार गर्छ उसले बलिको जस्तै राज्यहीन भएर बस्नुपर्दछ । यसैगरी शिवपुराणमा पनि पार्वतीको शिवजीसँगै विवाह भएको प्रसङ्गबाट पनि लोक अर्थात् जनताले जे चाहृयो, जस्तो चाहृयो त्यस्तै हुनुपर्दछ भन्ने भाव प्रकट भएको पाइन्छ ।

श्रीकृष्णको चरित्रबाट पनि पौरस्त्य वाङ्मयमा नेता कस्तो हुनपर्दछ भन्ने कुरा पाइन्छ । ग्वाला गोठालाको निर्णयलाई स्वीकार्नु, राक्षस र कुभलो चिताउनेलाई परास्त गर्नु र सबैलाई स्वतन्त्रताको शङ्खघोष गर्नु आदि प्रसङ्गले सच्चा नेतृत्व सर्वहितकारी हुनुपर्दछ भन्ने भाव व्यक्त पाइन्छ ।

इ.पु. ३२१–३०० तिरका चाणक्य नीति र मनुस्मृतिमा लोकतान्त्रिक समाजका विविध विषयवस्तुको चर्चा गरिएको छ । ‘प्रजा सुखे सुखं राजा प्रजानां च हिते हितम् । नात्मा प्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् ।।’ (चाणक्य) अर्थात् प्रजाको सुख नै राजाको सुख हो, प्रजाको हित नै राजाको हित हो, प्रजाको खुशी आत्मा नै राजाको खुशी आत्मा हो भन्ने चाणक्यको नीतिबाट जन अनुकूलको नेतृत्व हुनुपर्दछ भनिएको छ ।
लोकतान्त्रिक समाज वा राष्ट्रलाई सञ्चालनका लागि स्वामी अमात्य, जनपद, दुर्ग, कोष, दण्ड र मित्र गरी सात अनिवार्य तत्व मान्नु, जनपदको व्यवस्था गर्दा एकअर्काको गाउँले आपसमा सहयोग गर्न सक्ने गरी व्यवस्था मिलाउनु अनि प्रजाले तिर्न नसकेको करलाई काँचो फल सम्झी माफ गरिदिनुपर्छ भन्ने चाणक्यले बताएका छन् : ‘पक्वं पक्वमिवात्फलंराजा ध्याप्नुयात् । अभिच्छेतभयादामं वर्जयेत् कोषकारकम् ।।’

पौरस्त्य वाङ्मयका अन्य थुप्रै ग्रन्थहरूमा लोकतान्त्रिक समाजको चर्चा परिचर्चा गरिएको पाइन्छ । साहित्य शास्त्रमा प्रजालाई खुशी पार्नुपर्छ भनिएको छ । यसैगरी न्यायमा पनि प्रजाकै पक्षलाई वकालत गरेको पाइन्छ । लोकतान्त्रिक समाज भनेको यस्तो समाज हो जहाँ कुनै कसैको व्यक्तिगत स्वार्थ हुँदैन, कसैले कसैको इच्छा चाहना र आकाङ्क्षालाई कुठाराघात गर्दैनन् अनि एक आपसामा मिलेर सच्चा, सभ्य र सुन्दर समाजको परिकल्पना गर्दछन् । जहाँ जनताका इच्छा र चाहनाहरू मुखरित भएका हुन्छन् ।

चाहे याज्ञवल्क्य शिक्षा होस् चाहे गार्गी मैत्रेयीको प्रसङ्ग होस् पौरस्त्य वाङ्मयमा खुलेर लोकतान्त्रिक समाज र जनताप्रति उत्तरदायी नेतृत्वकर्ताको व्याख्या विश्लेषण गरेको पाइन्छ । न त जात जातिको भेद बताएको छ न स्त्रीपुरुषको, सबैलाई समानताको दृष्टिले हेर्नसक्ने ‘वसुधैव कुटुम्बकम्’ भाव भएको व्यक्ति वास्तविक नेता हो भनिएको छ । यसैले सर्वजन हितायको भाव राख्नसक्ने व्यक्ति नै सच्चा नेतृत्वकर्ता हो भन्ने भाव पौरस्त्य वाङ्मयमा व्यक्त पाइन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Gopi Krishna Kandel
Gopi Krishna Kandel
2023-03-22 1:36 pm

हाम्रो महाभारत जस्तो शास्त्र मा राजनीति को लोकतन्त्र भनेर कहाँ लेखिएको छ ?? प्रजातन्त्र भनेर सम्वोधन गरिए हुनुपर्छ अन्यथा अहिलेको यो गलगाँडहरू को लोकतन्त्र नै जोकतन्त्र भा को छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?