सिट भागबण्डा : हुँदैछ घाँटीमा अड्केको हड्डी

दलहरूले छाडेनन् आफ्नो अडान, बैठक आज फेरि बस्दै

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलका नेताहरूलाई समेत राखेर आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने ? भन्ने विषयमा सहमति जुटाउन शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको हो । बैठकलाई नेताहरूले निर्णायक भनेका थिए । शनिबारको बैठकबाट जसरी पनि सिट बाँडफाँट टुंग्याउने भन्दै नेताहरूलाई सहमति नभएसम्म बैठकबाट बाहिर नजान उर्दी जारी गरिएको थियो । बैठकमा दाबी मात्र नभई सम्झौता गर्ने बटमलाइन लिएर आउन सबै दलका नेताहरूलाई भनिएको थियो । यसअघिका बैठकमा आ–आफ्नो पार्टीबाट दाबी मात्रै पेश गर्दा सहमति नभएको भन्दै शनिबारको बैठकमा सम्झौता गर्न सकिने विन्दु तय गर्न भनिएको गठबन्धनमा आबद्ध दलका नेताहरूलाई भनिएको थियो । तर, शनिबार बसेको बैठकमा पनि गठबन्धनमा आबद्ध दलका नेताहरू आ-आफ्नो पार्टीको अडानबाट टसमस नभएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकबारे जानकारी दिँदै जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनीष सुमनले भन्नुभयो, ‘सिट बाँडफाँटबारे छलफल भयो । तर, सहमति भएन । आइतबार बिहान ८ बजे फेरि बैठक बस्नेछ ।’ बैठकमा सहभागी एक नेताका अनुसार आसन्न आम निर्वाचनमा सिट बाँडफाँटका लागि बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको जानकारी दिनुभयो । शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन ।

बैठकपछि कार्यदलका सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमतिनजिक पुगेको यद्यपि यसलाई अन्तिम टुंगोमा पु¥याउन भने बाँकी रहेको जानकारी दिँदै भन्नुभयो, ‘हामी सहमतिको धरैनजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । आज यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।’

एकीकृत समाजवादी र जसपाले माओवादी र कांग्रेसले दम्भ देखाए भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् नि ? भन्ने प्रश्नको जवाफमा कार्कीले भन्नुभयो, ‘बाहिर खपतका लागि बोल्ने अर्को कुरा हो । हामीले यथार्थलाई विश्लेषण गरेर नै छलफल गर्छौँ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि दलमा समस्या छैन । यहाँ गठबन्धनको आवश्यकता छ भन्ने कुरामा कसैको दुईमत छैन । असन्तुष्टि देखिएको छैन ।’

नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक भने पनि सहमतिमा पुग्न सकेनन् । कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले यसअघि नै शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाइसकेको छ । सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बसेको हो । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति हुन सकेन । प्रतिनिधिसभाका १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति जुटेको छ । बाँकी ७५ सिटमा विवाद कायमै छ । सोही विवादलाई शीर्ष नेताहरूले टुंगो लगाउने जिम्मेवारी पाएका छन् । कार्यदलले एक मात्रै दलको दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो । कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ÷आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ । एकभन्दा बढी दलको दाबी रहेका ७५ निर्वाचन क्षेत्रका विषयमा शीर्ष नेताहरूबीच समझदारी बनेको छैन । त्यसो त, अहिलेसम्म कुन दलले कति सिट लिने ? भन्नेसमेत टुंगिएको छैन । प्रतिवेदनमा सबै सहमति नजुटेकाले त्यसलाई अन्तिम रूप दिन शीर्ष नेताहरू नै अघि सर्नुपर्ने अवस्था आएको हो ।

केन्द्रमा केही कममा चित्त बुझाउने दललाई प्रदेशमा त्यही अनुपातमा बढाउन सकिने गरी प्रस्ताव अघि सारिएको छ । आफूले दाबी गर्दै आएकोमा कम्तीमा १५ देखि २५ प्रतिशत कम गरेर पार्टीमा सहमति जुटाएर आउँदा बाँडफाँट मिल्ने आँकलन गठबन्धनका नेताहरूले गरेका छन् । जसअनुसार हाल १०० सिट दाबी गर्दै आएको कांग्रेस ८५ सिटभन्दा तल झर्नु पर्नेछ । यसअघिकै बैठकमा कांग्रेसले ९० सिटमा झर्न सकिने संकेत गरिसकेको थियो । त्यसैगरी, ६० सिट दाबी गरेको माओवादी ४५ मा झर्नु पर्नेछ । ४० वरपर सहमत हुने गरी माओवादी तयार हुँदा मिलाउन सहज हुने कांग्रेस नेताहरूको भनाइ छ । त्यसैगरी, ४० दाबी गरिरहेको एकीकृत समाजवादीलाई २० वरपर सहमत हुन र ३२ सिट मागिरहेको जसपालाई २० भन्दा केही कम सिटमै सहमति गर्न दबाब छ । शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए । सोही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । तर, कार्यदलले दर्जनौँपटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेन । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा अझै समस्या भइरहेको नेताहरूको भनाइ छ । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

कांग्रेस नेताहरूले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको भन्दै त्यसका विरुद्धमा नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनुभयो । कांग्रेस गठबन्धनमा आबद्ध भएकाले नेता–कार्यकर्ताहरू गठबन्धनले उठाएको उम्मेदवारहरूका पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पार्दै खाँणले भन्नुभयो, ‘गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । हामी गठबन्धनमा आबद्ध छौँ । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।’

समानुपातिकमा २० लाख मत पाउने नेपालको दाबी

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा पार्टीले २० लाख मत पाउने दाबी गर्नुभएको छ । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको समेत दाबी गर्नुभयो । गत स्थानीय तह चुनावमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पार्टीले थप मत पाउने जिकिर गर्नुभयो । अध्यक्ष नेपालले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई आसन्न निर्वाचनमा जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।

गठबन्धनका अरू दललाई कांग्रेसले लात हान्छ : उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार देखिएको टिप्पणी गर्नुभएको छ । बुटवलमा शनिबार पार्टीनिकट प्राध्यापकहरूसँगको अन्तरक्रियामा उपाध्यक्ष पौडेलले गठबन्धनका दलहरूमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको टिप्पणी गर्नुभएको हो । आफूले बढी सिट हातपार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको टिप्पणी गर्दै पौडेलले भन्नुभयो, ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन् । कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरूले सगौरव लात खानुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?