धमिरातन्त्रबाट मुक्त हुने उपाय- न दैन्यंं न पलायनम्

Read Time = 17 mins

✍️ मणि शर्मा

धमिरा एक यस्तो जीव हो जो हेर्दा कोमल र शान्तिप्रिय देखिन्छ । उसलाई हेर्दा दयाको भाव जागेर आउँछ तर यो यस्तो खतरनाक जीव हो कि यो बाहिर जे देखिन्छ भित्र त्यस्तो हुँदैन । जस्तै चर्च र विदेशी शक्तिकेन्द्रहरूले पालिएका हाम्रा नेताहरू, अरू बेला सनातन धर्मविरोधी हुन्छन् तर चुनाव आउन लागेपछि रामनामी ओढेर मठ मन्दिरमा ईश्वरको परम भक्त भएर जान्छन् । धमिरा हेर्दा सानो जीव, यसले के गर्छ पो लाग्छ तर यो एउटा विशालकाय वटवृक्षमा आफ्नो घर बसाल्यो भने त्यो वटवृक्षलाई जरासहित खाइदिन्छ, यसले उर्वर भूमिलाई पनि जर्जर बनाइदिन्छ जसरी हाम्रा नेताहरूले देशलाई खाइरहेर जर्जर बनाइरहेका छन् ।

धमिराको संगठन शक्ति हाम्रा राजनीतिक दलहरूकै जस्तो बलियो हुन्छ । यिनीहरू माटामुनि दुलो बनाएर पनि बस्न सक्छन्, जस्तै राष्ट्रघाती एमसिसी तथा नागरिकता विधेयक संसदमा पेश हुँदा एमाले दुलाभित्र पसेको थियो । एक्लो धमिराले केही गर्न सक्दैन, जब यसको संख्या सयौं हज्जारौं र लाखौंमा पुग्छ तब यसले आफ्नो लीला देखाउन सुरु गर्छ । जसरी अहिले एकीकृत समाजवादी एक्लो भएर अरू धमिराहरूको गठबन्धमा अपमानित भएर टाँस्सिए पनि शक्तिशाली छु भन्ने घमण्ड गर्छ ।

धमिरातन्त्रबाट मुक्ति पाउन धमिराहरूले बनाएको धर्मनिरपेक्षता, गणतन्त्र तथा संघीयतारूपी घरलाई समाप्त पार्नुपर्छ । उनीहरूको यो घर ढले धमिराहरूको प्रकोपबाट आमजनताले मुक्ति पाउनेछन् । अनि भत्काउने कसले ? धमिरा आतंकबाट मुक्ति दिलाउन कसले नेतृत्व गर्ने हो, समस्या यहीँ छ ।

धमिराहरूको निवासमा जब यिनीहरूको संख्या चाहेभन्दा बढी पुग्न थाल्दछ तब यिनीहरूमा द्वन्द्व सुरु हुन्छ, जसरी एमाले र माओवादीरूपी धमिराहरू संगठित भएपछि तिनीहरूमा द्वन्द्व बढेको थियो । द्वन्द्व बढेपछि धमिराहरूको एउटा गुट छुुट्टिएर अर्कै घर बनाउँछन् र जुन स्थलमा आफ्नो बास बनाउँछन् त्यहाँ भएका झ्याल, ढोका, फर्निचर आदि जे जे भेट्छन् खान थाल्छन् र त्यो घरलाई कमजोर पारेर ढल्ने अवस्थामा पुर्‍याउँछन्, जसरी माओवादीले फेरि आफ्नै अर्को घर बनाएर धमिरा संगठनमा जोडिएपछि मुलुकलाई नै अरू सहयात्री धमिराहरूसँग मिलेर खान थालेको छ र साथै कांग्रेसरूपी धमिरालाई पनि समाप्त पार्न लागि रहेको छ ।

यिनीहरूको अर्को विशेषता के हो भने यिनीहरू बसिरहेको घरबाट छुट्टिएर आफ्नो अलग घर बनाएपछि र अलि कमजोर भएमा पुराना सहकर्मीहरूसँग पुनः एकता गरेर आफ्नो धर्म निर्वाह गर्न सुरु गर्छन् । यिनीहरूमा सैनिक दस्ता, निम्फ (पौराणिक ग्रिक कथाको कामुक अप्सरा जो दिव्य स्वभावको देखिए पनि घातक हुन्थे र यिनीहरूको आयु लामो हुन्थ्यो) र दुवै लिंगहरूको प्रजननशील सदस्यहरू हुन्छन् ।

जसरी राजनीतिक दलहरूमा युथ फोर्स, तरुण दल, युवा संगठन आदि नामका लडाकु दस्ता र कार्यकर्तारूपी श्रमिक वर्ग हुन्छन्, त्यसरी नै धमिराहरूमा पनि श्रमिक वर्ग जो आफ्ना अगुवाहरूका लागि माटामुनि गुँड बनाउँछन्, धमिरा चाहे मानिस बस्ने घर होस् वा देशरूपी सामूहिक घर दुवैका लागि शत्रु प्राणी हो । यसलाई समयमै समाप्त नगरे यसले घरमात्र ढाल्दैन बरू घरको चारैतिर भएको प्राकृतिक स्रोत तथा साधनलाई समेत भक्षण गरेर समाप्त पार्नेछ । त्यसैले धमिरा उन्मूलन हामी सबैको परम कर्तव्य हो चाहे घरबारीका हुन् वा राजनीतिका ।

कर्मचारीहरूको एउटा कार्यक्रममा हाम्रा धमिराधीशले, कर्मचारीहरूलाई तलब ख्वाउन विदेशबाट ऋण लिनुपर्छ भन्नु भएको रहेछ । २०४७ सालदेखि अहिलेसम्म पाँच पटक उहाँ यो धमिरालयको धमिराधीश भइसक्नु भएको छ, उही पुराना अनुहार भएका धमिराहरू पालैपालो यो देशरूपी घरमा धमिराधीश भएर शासन गरिरहेका छन्, करिब करिब उनै धमिराहरू मन्त्रालयाधीशदेखि धमिरालयको मेचमा बस्दै आइरहेका छन् । यिनी धमिराहरूकै पालामा वैदेशिक ऋणले नेटो काटेको छ, विकास अस्थायी प्रकृतिको छ, छ त केवल धमिराहरूले बनाएको ठूला-ठूला ढिस्काहरू । कहाँ गयो यतिका बृहत् अंकको ऋण रकम, अनुदान र राजस्व ? धमिराहरूले कति उदरस्थ पारे कुनै हिसाब किताब छ ?
धमिरातन्त्रबाट मुक्ति पाउन धमिराहरूले बनाएको धर्मनिरपेक्षता, गणतन्त्र तथा संघीयतारूपी घरलाई समाप्त पार्नुपर्छ । उनीहरूको यो घर ढले धमिराहरूको प्रकोपबाट आमजनताले मुक्ति पाउनेछन् । अनि भत्काउने कसले ? को अघि सर्ने ? धमिरा आतंकबाट मुक्ति दिलाउन श्रीकृष्ण बनेर कसले नेतृत्व गर्ने हो, समस्या यहीँ छ । समस्या नेतृत्वको छ । यो व्यवस्थाको विरुद्धमा कृष्ण बन्न होड्बाजी त छ तर कृष्ण बन्ने योग्यता कसैमा देखिँदैन । सबैमा आ-आफ्नै स्वार्थ भएकोले धमिराहरूको आतंक बढिरहेको छ । जनता रमिते भएका छन्, जसरी बलराम कुरुक्षेत्रको युद्धमा भएका थिए ।

बलराम श्रीकृष्णका दाइ थिए । जीवनभरि कृष्णको साथै थिए तर कौरव र पाण्डवबीच भित्रभित्रै के चलिरहेको छ, यसबाट उनी अनभिज्ञ थिए । उनले भीम र दुर्योधनलाई गदा चलाउन सिकाएका थिए । आफ्नी बहिनी सुभद्राको विवाह दुर्योधनसँग गर्न तय गरे तर बीचैमा वनवासबाट फर्किँदा द्वारिकामा कृष्णकहाँ गएका अर्जुनले बलरामकी बहिनी सुभद्रालाई देखेपछि उनको रूपमा मोहित भएर प्रेममा परे, सुभद्राले पनि उनलाई मन पराइन् । कृष्णको सहयोगले उनीहरू गन्धर्व विवाह गरेर भागेर हस्तिानपुर पुगे । बलरामको इच्छा तुहियो । पछि उनले आफ्नी छोरी दुर्योधनको छोरालाई दिन खोजे तर यसमा कृष्णले व्यवधान पारेपछि त्यो विवाह पनि हुन सकेन ।

अर्जुन तथा सुभद्राको पुत्र अभिमन्यूको दुई पत्नी थिए, एउटी राजा विराटकी पुत्री उत्तरा जसबाट परिक्षित जन्मे र अर्की बलराम पुत्री वत्सला । वत्सला र अभिमन्यूमा बाल्यकालदेखि नै प्रेम बसेको थियो र सुभद्राले आफ्नी भदैको बिहा आफ्नो छोरासँग गर्न चाहेकी थिइन् तर बलरामले उनको विवाह दुर्योधन पुत्र लक्ष्मणसँग तय गरेका थिए । तर, कृष्णले नै वत्सला र अभिमन्यूको विवाह गराउन भूमिका खेले ।
कौरव र पाण्डवबीच युद्ध सुरु हुने घोषणा भयो । बलरामले यसको विरोध गरे । भाइभाइबीच युद्ध हुनु हुँदैन, आफ्नाले आफ्नाको बध गर्न हुँदैन भनेर आदर्शको कुरा गरे । उनले जति सम्झाउँदा पनि युद्ध टारेर नटर्ने भएपछि उनी दिक्क भएर तीर्थयात्रामा गए । उनी फर्किँदा युद्ध समाप्त भएको थिएन । भीम र दुर्योधनबीच गदा युद्ध भइरहेको थियो तर कोही जितिरहेका थिएनन् । यस घटनाको वर्णन सञ्जयले धृतराष्ट्रलाई यसरी सुनाइरहेका थिए । यी दुवै परस्पर भिडेर एक अर्काबाट आफ्नो रक्षाका लागि प्रयत्नशील भई रोटीको टुक्राका लागि लडिरहेका दुई बिरालोको जस्तै बारम्बार आघात प्रतिघात गरिरहेका छन् ।

हाम्रा सत्ता तथा प्रतिपक्षका धमिराहरू पनि भ्रष्टाचार तथा कमिसनको रोटी खान यसरी नै लडिरहन्छन्, एक अर्कामाथि आघात र प्रतिघात गरिरहेका हुन्छन् । उनीहरूमध्ये एउटाको उद्देश्य सधैँ सत्तामा टिकिरहने र अर्काको उद्देश्य अर्कोलाई पराजित गरेर आफू सत्तामा जाने । यहाँ गदा युद्धको ठाउँमा वाक्युद्ध चलिरहेको छ ।

भीम र दुर्योधन दुवैबीच भयंकर युद्ध हुन्छ तर पराजय कोही हुँदैनन् । युद्ध निर्णयक नभएपछि श्रीकृष्णले कसरी भरिएको सभामा दुर्योधनले द्रौपदीको चीरहरण गरेका थिए भीमलाई सम्झाउँदै आफ्नो तिघ्रामा हाने । भीमले श्रीकृष्णको संकेत बुझे र युद्धको नियमविपरीत दुर्योधनको तिघ्रामा प्रहार गरेर उनलाई धराशायी गराएपछि उनको तिघ्रा चिरेर देब्रे खुट्टाले उनको शिर कुल्चँदै द्युतक्रिया र चीरहरणको घटना सुनाए । यो दृश्य देखेर बलराम आफ्नो शिष्यको अन्यायपूर्णरूपमा बध गरेका भीमलाई मार्न हलो लिएर लखेट्न थालेपछि श्रीकृष्णले पाण्डवहरूमाथि कौरवहरूले गरेका अन्यायहरू एक एक गरेर उनलाई बताएपछि असन्तुष्ट भई बलराम द्वारिकातिर लाग्छन् ।

हामी नेपालीको अवस्था अहिले बलरामको जस्तै भएको छ । धमिराहरूले यो देश र यहाँका जनतालाई चबाई चबाई खाइरहेका छन् तर हामी टुलुटुलु हेरिरहेका छौँ । कसैले विरोध गरे भनिन्छ धमिराको धर्म नै हो घरद्वार र प्रकृति खाने, उसलाई मारेर पाप गर्नु हुँदैन । धमिराहरूले हाम्रो धर्म खाए, हाम्रो भाषामाथि बलात्कार गरे, हाम्रो संस्कृति खाए, हाम्रो सभ्यता नाश गरिरहेका छन्, मुलुकलाई खाँदाखाँदा खोक्रो बनाइसक्दा पनि यिनी धमिराविरुद्ध शंखघोष गर्ने श्रीकृष्ण अझैसम्म देखिएका छैनन् ? अर्जुन बन्न कृष्ण चाहिन्छ । आफूलाई कृष्ण सम्झी धर्मराज्य स्थापना गर्ने उद्देश्यले हिँडेका व्यक्ति त कौरवहरूसँग पाँच गाउँको भिख मागिरहेका छन् । अर्जुन बन्न श्रीकृष्ण चाहिन्छ । श्रीकृष्ण बन्ने को ?

गीतामा अर्जुनले भन्छन्- हे मधुसूदन यिनी (कौरव) र यिनीहरू (कौरवलाई साथ दिन आएका लाखौं सेना र राजाहरू) लाई मारेर तीन लोकहरूको राज्य प्राप्त भए पनि मलाई चाहिँदैन, पृथ्वीको के कुरा । यो सुनेर कृष्णले भनेका थिए ‘यदि तिमीले धर्मका लागि युद्ध नगरे आफ्नो कीर्तिलाई गुमाएर कर्तव्य कर्मको उपेक्षा गरेको पाप तिमीलाई प्राप्त हुनेछ । मानिसहरूले सदैव तिम्रो अपकीर्तिको वर्णन निकै लामो समयसम्म गर्नेछन् । सम्मानित मानिसका लागि अपकीर्ति मृत्युभन्दा पनि बढेर हुन्छ । कृष्णले अर्जुनलाई भने झैँ अहिले कमल थापाको अपकीर्ति देशभरै छाएको छ । कृष्णको वचन सुनेपछि अर्जुन धर्मयुद्धका लागि तयार हुन्छन् र सारथि श्रीकृष्ण बन्छन् । अर्जुनसँग अरू कुनै विकल्प थिएन, न दैन्यं न पलायनम् । न दीनता न पलायन ।

हाम्रा सत्ता तथा प्रतिपक्षका धमिराहरू पनि भ्रष्टाचार तथा कमिसनको रोटी खान यसरी नै लडिरहन्छन्, एक अर्कामाथि आघात र प्रतिघात गरिरहेका हुन्छन् । उनीहरूमध्ये एउटाको उद्देश्य सधँै सत्तामा टिकिरहने र अर्काको उद्देश्य अर्कोलाई पराजित गरेर आफू सत्तामा जाने भन्ने हो ।

हामीसँग अब दुईवटा उपाय छ । एउटा बलराम जस्तै युद्धमैदानबाट पलायन गर्ने वा अर्जुन जस्तै न दैन्र्यं न पलायनम् भन्दै धर्मराज्यको स्थापनाका लागि एउटै लक्ष्य लिएकाहरू निःस्वार्थरूपमा कुनै एक दूरदर्शी नेताको नेतृत्वमा धर्मयुद्धको शंखघोष गर्दै आग्नेय परीक्षामा उत्रिने । यसै सन्दर्भमा भारतका तत्कालीन कविहृदयका प्रधानमन्त्री अटलबिहारी बाजपेयीको एउटा कविताको अन्तिम केही पंक्ति :
हामी आफ्नो मस्तक
आत्मगौरवका साथ
अलिक माथि उचालेर हेरौँ
विश्वको गगन मण्डलमा
हाम्रो मनोहर कीर्तिको
असंख्य दियो बलिरहेको छ ।
युगहरूको बज्र कठोर हृदयमा
हाम्रो विजयको स्तम्भ अंकित छ
अनन्त भूतकाल
हाम्रो दिव्य विभाले अंकित छ ।
भावीको अगणित घडीहरू
हाम्रो विजयमालाको
गुच्छाहरू बन्न
प्रतीक्षामा मौन उँभिएका छन् ।
हाम्रो विश्वविदित विजयहरूको इतिहास
अधर्म माथि धर्मको जयगाथाहरूले बनेका छन्
हाम्रो राष्ट्र जीवनको कथा
विशुद्ध राष्ट्रियताको कथा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?