टुकुचा खोज्ने महानगरको अभियानमा अदालतको अड्को

संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश, असोज ५ गते छलफलका लागि दुवै पक्षलाई बोलाइयो

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले कानुनी रीत नपु¥याई र उचित क्षतिपूर्ति नदिई संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

जेनेक्स इन्भेष्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन आदेश दिएको छ । ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रीत नपु¥याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ अदालतको आदेशमा भनिएको छ । अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा झिकाएको छ । आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ । टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो । तीनवटा कम्पनीले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

महानगरपालिकाले भने कमलादीदेखि जय नेपाल हलसम्म पुरिएको खोलाको बहाव क्षेत्र खोज्न सक्रिय छ । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि क्षेत्रमा डोजर चलाइरहेको छ । महानगरले जयनेपाल सिनेमा हलको आँगन र लक्ष्मी बैंकको आँगन खोतलेर टुकुचाको बहाव क्षेत्रको पहिचान गरिसकेको छ । महानगरले जयनेपाल हलको प्रांगणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो । महानगरले आइतबार हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु गरेको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हल क्षेत्रमा गायव भएको थियो । यस अघिदेखि नै स्थानीयहरूले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायव भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको हो । महानगरका अनुसार टुकुचा खोलामाथि नारायणहिटी राजदरबार, जयनेपाल हल, न्युप्लाजालगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका छन् । पुतलीसडकदेखि थापाथली क्षेत्रसम्म पनि खोला गायव भएको छ । कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा पछाडि केही ठाउँमा मात्रै टुकुचा देखा पर्छ ।

उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू महानगरले तत्काल भत्काउन नपाउने भएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानअन्तर्गत सडकपेटी र फुटपाथ खाली गराउनेदेखि मापदण्डविपरीत बनाइएका भवन, भवनका पार्किङ स्थल महानगरले खाली गराउँदै आएको छ । नक्सापासबिनै बनेका संरचना र नक्सामा उल्लेख भएविपरीत प्रयोग गरिएका संरचनामा महानगरले डोजर लगाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?