आजदेखि सिनेमाघरमा ‘प्रेमगीत-३’

Read Time = 5 mins

काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि विदेशका सिनेमाघरमा चलचित्र ‘प्रेमगीत ३’ आएको छ । हिन्दी भाषामा डब गरिएको नेपाली चलचित्र प्रेमगीत ३ आजदेखिबाट विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघरमा यो चलचित्रले राम्रो बुकिङ पाएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताउनुभयो । हिन्दी डब भने नेपालमा घटस्थापनाका दिनदेखि प्रदर्शनमा आउने भएको छ । निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमा महत्वपूर्ण सूचना भन्दै जारी गरेको सूचनामा चलचित्रको हिन्दी भर्जन प्राविधिक कारण एक दुई दिन ढिला हुने जानकारी गराउनुभएको हो । उहाँले यसो गर्नुको वास्तविक कारण पछि जानकारी दिने भन्दै अब चलचित्रको हिन्दी डब घटस्थापनाको दिनदेखि मात्र रिलिज गर्ने जनाउनुभएको छ ।

केही दिनका लागि शो हाउस फुल हुनेगरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उहाँले जानकारी गराउनुभयो । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम यतिबेला भारतको मुम्बईमा छ । केही दिनयता भारतमा रहनुभएका अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

हिन्दी डबले पायो नेपाली फिल्मको मान्यता, १५ प्रतिशत कर नलाग्ने
‘प्रेम गीत ३’ को हिन्दी डबले पनि नेपाली चलचित्रले सरह सेवासुविधा पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको हिन्दी डबलाई पनि नेपाली चलचित्रको मान्यता दिएपछि सबै सेवासुविधा पाउने भएको हो ।

योसँगै चलचित्रले १५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने भएको छ । यसअघि चलचित्र विकास बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी चलचित्रको मान्यता दिने र सोही अनुसारका नियमको पालना गर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।

नेपाली कलाकार तथा प्रविधिकले काम गरेको र चलचित्रमा नेपालकै कथा रहेकाले ‘प्रेम गीत ३’ लाई विदेशी चलचित्र भन्न नमिल्ने निष्कर्षमा पुगेको मन्त्रालयले जनाएको छ । चलचित्रको हिन्दी डबलाई लिएर चर्को विवाद भएको थियो ।

निर्माण टोलीले विकास बोर्डका अध्यक्षको राजीनामै मागेपछि ‘प्रेम गीत ३’ र बोर्डबीच खटपट चुलिएको थियो । यस विषयलाई लिएर नेपाली चलचित्र क्षेत्र दुई भागामा विभाजित भएको थियो । बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी चलचित्र करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । त्यसपछि स्पष्टीकरण सोध्न मन्त्रालयले अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

पुनः विचार र छलफलपछि अध्यक्ष केसी पनि चलचित्रको हिन्दी डबलाई नेपाली चलचित्रसरह सेवासुविधा दिन राजी भएको मन्त्रालयले जनाएको छ । ‘प्रेम गीत ३’ भारतसहित झण्डै ५० देशका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदैछ । कुनै पनि नेपाली चलचित्र यति ठूलो बजारमा जान लागेको यो पहिलो पटक हो । फिल्मले पहिलो दिन विश्वभरिबाट ६ करोडभन्दा माथिको कमाइ गर्ने आँकलन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?