जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन

हिमालय टाइम्स
Read Time = 4 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । विद्यालय भवन मर्मत अभावमा गारो बाँगिएको छ, भवन छाएको जस्तापाता खियामात्रै लागेको छैन, कुच्चिएको समेत छ, भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ । बागलुङको एक विद्यालय भवनको कारुणिक अवस्था देख्ने जोकोहीको मनमा प्रश्न आउन सक्छन् यो विद्यालय सञ्चालनमा छ र ? भवन समयमै मर्मतसम्भार नगरे पठनपाठन चलिरहेकै अवस्थामा भत्किन सक्ने जीर्ण भवन कुनै दुर्गम गाउँको भने हैन । न त विद्यार्थी अभावमा बन्द नै भएको विद्यालय हो यो ।

उक्त विद्यालय बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका-७ ठाडाँस्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुईकोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियार बताउनुहुन्छ । ‘दलित समुदायका विद्यार्थी अध्ययनरत छन् यहाँ तर भवन अभावमा पठनपाठनमा निकै समस्या भयो, जीर्ण दुईकोठे भवन र तीनकोठे पक्की भवन छ तर बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यही पाँचवटा कोठाबाट चलाइएको छ,’ परियारले भन्नुभयो, ‘पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौं, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।’

उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भवन माग गरे पनि छनोटमा नपरेको बताउनुभयो । उहाँले विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा समस्या भएको बताउनुभयो । विद्यालयको दुरावस्था देख्दादेख्दै पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय भवन नपरेको प्रअ परियारको गुनासो छ । बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताउनुभयो ।

‘भवन बनाउनलाई त धेरै रकम लाग्छ वडाले सक्दैन भवन मर्मतसम्भार गर्ने योजना थियो, फेरि भवन बनाउन बजेट आए बजेट खेर जाला भनेर तारबारलाई बजेट दिइयो,’ गैरेले भन्नुभयो, ‘विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँ त दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।’ यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्तर्गतको कार्यक्रममा भवन समावेश नभए पनि अर्कोपटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?