त्रिपाठीद्वारा लिखित पुस्तक ‘तुषानल’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित पुस्तक ‘तुषानल’ (भुसको आगो) सार्वजनिक गरिएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.तिलक रावल, संविधानविद् डा.भीमार्जुन आचार्य, सामाजिक अभियन्ता एवं लेखिका सरु जोशी र लेखक स्वयंले संयुक्तरूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

‘तुषानल’माथि संविधानविद् डा.आचार्य र सामाजिक अभियन्ता सरु जोशीले समीक्षात्मक टिप्पणी गर्नुभयो । डा.आचार्यले पुस्तकमा नेपाली राजनीतिको अन्तर्य खुलाउने अत्यन्त गम्भीर सन्दर्भहरू समेटिएको उल्लेख गर्दै लेखक त्रिपाठी एक देशभक्त एवं सत्य उजागर गर्न नहिच्किचाउने एक निडर पात्रका रूपमा आफूले चिनेको र उहाँबाट लेखिएको पुस्तकभित्रका सन्दर्भहरू सत्यमा आधारित रहेको विश्वास आफूले गरेको जिकिर गर्नुभयो ।

लेखिका सरु जोशीले तुषानलले वर्तमान नेपाली राजनीतिको आन्तरिक पाटो बुझ्न चाहनेलाई महŒवपूर्ण ज्ञान प्रदान गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वगभर्नर डा.तिलक रावलले कुनै पनि देशले समृद्धिको फड्को मार्नु या अवनतिको ओह्रालो ओर्लनुमा मुलुकको शासनाधिकारमा रहेका नेताहरूको अहम् भूमिका हुने औंल्याउनुभयो ।

हिमालय टाइम्स दैनिकका सम्पादक तथा राजनीतिक विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहालले पुस्तकबारे मन्तव्य दिने क्रममा ‘तुषानल’ मा उल्लेख भएका सन्दर्भहरू निकै गम्भीर प्रकृतिका रहेकाले लेखकले आफ्नो ज्यानकै जोखिम मोलेर यसप्रकारको कृति सार्वजनिक गर्ने साहस प्रदर्शन गरेको बताउनुभयो । तुषानलमा नाम उल्लेख भएका पात्रहरू एकाधबाहेक सबैजसो भौतिक रूपले हाम्रामाझ रहेकाले पुस्तकमा समेटिएका गम्भीर एवं संवेदनशील घटना–सन्दर्भबारे उनीहरूले जवाफ दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बहुदलीय प्रजातन्त्र स्थापनापछि नेपालको राजनीतिमा पैदा भएको विकारप्रति आफू पनि असन्तुष्ट रहेको खुलासा गर्दै उहाँले लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मजबुत तुल्याउने विचार व्यक्त गर्नुभयो ।

घटना र विचार साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहनुभएका लेखक त्रिपाठीले ‘तुषानल’ आफ्नो सिर्जना नभई नेपाली राजनीति तथा राजनीतिक पात्रहरूलाई आफूले देखेको, भोगेको र बुझेको आधारमा आफ्नो स्मरणमा रहेका विषयवस्तु तथा घटना–सन्दर्भलाई पुस्तकमार्फत सचेत पाठकसामु प्रस्तुत गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?