नेपाली राजनीतिमा राष्ट्रियताको प्रश्न

Read Time = 15 mins

✍️ उत्तम पन्त

राष्ट्रियता एक ओजपूर्ण शब्द हो । यो धेरै गरुङ्गो र फराकिलो आधारयुक्त शब्द हो । राष्ट्रियताबारे शब्दकोषहरूमा आ–आफ्नै ढंगले विभिन्न कोणबाट परिभाषित गरिएका छन् । राजनीतिक, कानुनी, सामाजिक, आर्थिक कोणबाट र राज्यस्तरीय एवं अन्तर्राष्ट्रिय रूपमा आ–आफ्नो अनुकूलतामा यसको अर्थ, परिभाषा र विवेचना गरिआएको पाइन्छ । त्यतिमात्रै होइन राष्ट्रियतालाई बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा आफूलाई समाजवादी भन्ने कम्युनिष्टको भाषामा, आफूलाई प्रजातान्त्रिक समाजवादी भन्नेको भाषामा अनि आफूलाई उदारवादी बताउनेहरूले फरक-फरक ढंगले अर्थ गर्ने गरेका छन् । एकदलीय व्यवस्थाका हिमायतीहरूले त आफ्नै ढंगले राष्ट्रियतालाई बुझ्ने र अथ्र्याउनेसमेत गरेका छन् ।

संकुचित राष्ट्रियताको भावनाबाट प्रेरित भएका राष्ट्र एवं नागरिकहरू अति नै संकीर्ण र स्वार्थी रहेका हुन्छन् । दोस्रो थरी देशप्रति घृणा उत्पन्न गरी आपसी झैझगडा, लडाइँ र संघर्ष उत्पन्न गराई त्यसैमा रमाएर आनन्द लिन्छन् ।

राष्ट्रियता आफैँ एक भरिपूर्ण शब्द हो तथापि यसलाई राजनीतिक वादको गन्धले दुर्गन्धित र सुगन्धित दुवै बनाउँदै आएको छ । कतिपय राजनीतिक दलका नेताहरू अनि चतुर व्यक्तिहरू राष्ट्रियतालाई भ¥याङ बनाएर राजनीतिको शिखरमा पुग्न सफल भएका छन् त कतिपय व्यक्तिहरू यसको शिकार भएर राजनीतिको सतहमै पछारिएका छन् । रष्ट्रियताको मूल शब्द राष्ट्र हो । राष्ट्रमा यिता (इता) सन्धि भएर राष्ट्रियता बनेको हो । राष्ट्रको अर्थ देश हो भने यिताको अर्थ लगाव हो । देश (राष्ट्र) प्रतिको लगाव नै राष्ट्रियता हो ।

राष्ट्रियता शब्द ल्याटिन भाषाबाट उत्पत्ति भएको हो । जुन नेट्सबाट पछि नेसन हुँदै नेसनल भएको हो । नेट्सको अर्थ जन्म लिने हो । यसरी राष्ट्रियताको अर्थ कुनै एक जाति, रक्त सम्बन्धबाट कुनै ठाउँमा जन्म लिनु हो । यसरी रगतको बंशीय आधारबाट राष्ट्रियताको विकास भएको पाइन्छ । संसारका सबै राष्ट्रहरूमा भिन्न भिन्न बंशका नागरिकहरूको बसोवास रहेको छ । सबै देशमा एउटै बंशका नागरिकको बसोवास छैन । त्यसैले राष्ट्रियताको विकास मनोवैज्ञानिक आधारबाट भएको छ । जसमा राजनीतिक नश्लमा आधारित घटनालाई छायाँमा पार्दै सांस्कृतिक, समावेशी विचार र विवेकलाई राष्ट्रियतामा समाहित गरिएको छ । राष्ट्रियतालाई निम्न दुई दृष्टिकोणबाट हेरिएको पाइछ :
१. संकीर्ण राष्ट्रियता
२. उदार राष्ट्रियता
संकीर्ण अर्थमा हेर्दा राष्ट्रियता भन्नेहरू मेरोमात्र राष्ट्र राम्रो छ भनेर आफू जन्मेको र रहेको राष्ट्रबाहेक संसारका अन्य राष्ट्र नराम्रो लाग्नु, अन्य राष्ट्रलाई घृणा गर्नु अन्य राष्ट्रको प्रगति र विकासमा इष्यालु भई त्यसप्रति नकारात्मक सोच बनाउनु हो । यस्तो विचारधारा अँगाल्नेहरू व्यक्तिगत एवं सामाजिक हितको विरुद्धमा रहेका हुन्छन् । यस विचारधाराको पक्षपोषण गर्ने व्यक्तिहरू हिंसात्मक गतिविधिमा खुशी भई समाजमा शान्तिको मार्गमा उथलपुथल मच्चाइरहेका हुन्छन् । सम्पूर्ण दौराको भाग अन्य जहाँबाट आएको भए पनि सोलाई विवेचना नगरी आफूलेमात्र बनाएको दौराको तुनालाई ठूलो देखेर आफ्नै तुनालाई राष्ट्रिय गौरव झैँ ठानी आफैँले अन्यत्रबाट आयातीत दौराको आलोचना गरेर रमाउनेहरू संकीर्ण विचारधाराबाट प्रेरित व्यक्तिहरूको राजनीतिले कैयौं ठाउँमा राजनीतिक घटना घटाई परिवर्तनबाट राजनीतिक सत्ता प्राप्ति गर्नेहरूको समाजलाई कमसल ठान्नु उपयुक्त हुँदैन ।

संकीर्ण राष्ट्रियतावादीहरू अन्तर्राष्ट्रिय विचारधाराविरोधी हुन्छन् । तसर्थ यस्ता सोच भएकाहरू मानवहितविरुद्धमा रहेका हुन्छन् । संकुचित राष्ट्रियताको भावनाबाट प्रेरित भएका राष्ट्र एवं नागरिकहरू अति नै संकीर्ण र स्वार्थी रहेका हुन्छन् । दोस्रो थरी देशप्रति घृणा उत्पन्न गरी आपसी झैझगडा, लडाइँ र संघर्ष उत्पन्न गराई त्यसैमा रमाएर आनन्द लिन्छन् । संकीर्ण राष्ट्रियतावादी सोच राख्नेहरूले आफ्ना छिमेकी मुलुकप्रति नकारात्मक भावना बनाई समय समयमा आपसमा तनाव बढाउने कार्यसमेत गर्दछन् । जसले गर्दा दुई देशको आपसी सम्बन्धमा सदैव चिसो पसेको हुन्छ ।

उदार राष्ट्रियतावादीहरूले आफ्नो देशलाई पनि प्रेम गरेका हुन्छन् अनि अन्य देशको अस्तित्व पनि स्वीकार गरेर त्यस देश र त्यहाँका नागरिकलाई प्रेमपूर्वक व्यवहार गरी उदारभाव देखाएका हुन्छन् । यसरी वास्तविक उदार राष्ट्रियतावादीले संसारका सबै देशहरूलाई आफ्नो मुलुकसरह प्रेम गर्दछन् । अन्य देशको विकाससँग आफू पनि जोडिएर त्यसमा रमाउने चाहना राख्दछन् । उदार राष्ट्रियता मान्नेहरूले सबै धर्म, संस्कृति, जातजाति, सबै क्षेत्रप्रति सहिष्णुताको भावना राखेका हुन्छन् ।

वास्तवमा राष्ट्रियता देशको नागरिकलाई एकै सूत्रमा बाँध्ने मानवीय बन्धन हो । यसले स्थान, भूगोल, धर्म, जाति, भाषा, संस्कृति आदिमा फरकपन भए पनि त्यसले एकता स्थापित गरेको हुन्छ । राष्ट्रियताले नागरिकको आफ्नो स्वार्थउपर राष्ट्रको हितका लागि प्रेरित गरेको हुन्छ । जसले सबैलाई राष्ट्रको सीमामा बाँधेको हुन्छ । राष्ट्रियताले राष्ट्रप्रतिको प्रेमभाव जगाई राष्ट्रिय रूपमा अमनचैन कायम गरेर अनुशासन कायम गरेको हुन्छ, जसले विधिको शासन कायम राख्न मद्धत पुग्दछ । उदार राष्ट्रियताको भावले राष्ट्रको उन्नति, व्यक्तिको अधिकार र कर्तव्यप्रति सचेत गराएको हुन्छ । उदार राष्ट्रियताको भावले नागरिकमा अन्तर्राष्ट्रिय भाइचाराको रूपमा लिई सबैमा जागरुकताको भावना पैदा गर्दछ । जसले बसुवैध कुटुम्बकम्को भावनामा विश्वास जगाएको हुन्छ ।

राष्ट्रियताभित्र विभिन्न तत्वहरूले प्रभाव पारेका हुन्छन् । जुन भौगोलिक संलग्नता, भाषा, सांस्कृतिक समुदाय, राजनीतिक संरचना र आकांक्षा, धर्म, आर्थिक अवस्था, स्वायत्तता वा कसैको अधिनस्थ हुनुजस्ता कुराले प्रभाव पारेको हुन्छ । नेपालको इतिहासबाट के देखिन्छ भने नेपाल जन्मकालदेखि नै कसैको पनि उपनिवेश नभई स्वतन्त्र र अखण्ड रहिआएको छ । तथापि नेपालको राजनीतिक घटनाक्रमले के देखाउँदछ भने हरेक परिघटनामा कसै न कसैको दबाब र प्रभावबाट भने पूर्णतः अछुत रहन सकेको देखिँदैन । हालको राजनीतिक अवस्थाको बारेमा भन्ने हो भने त राष्ट्रियताको विवेचना केवल राजनीतिक दलको स्वार्थमा निर्भर हुन पुगेको छ ।

ज्ब–जब राजनीतिक परिवर्तनको आवश्यकता पर्दछ अनि जब राजनीतिक दलहरूसँग जनताका सामुन्ने जाने कुनै एजेण्डा, विषयवस्तु नभएपछि, राजनीतिक दलको धरातल कमजोर बन्दै गइरहेको अवस्थामा राष्ट्रियताको नारा उठाएर अनावश्यक चर्चामा आउन खोजिन्छ । हाम्रो देशमा वास्तविक अर्थमा राष्ट्रियताको भावनाको कदर हुन सकेको छैन । लाखौं नागरिक देश बाहिर छन् । ती नागरिकले बोल्ने भाषा र आफ्नो जन्मजन्मान्तरको भावना अनुसार राष्ट्रलाई गरेको माया तथा सहयोगलाई सहर्ष रूपमा स्वीकार गर्न सकेको अवस्थासमेत छैन ।
विदेशमा बसेर रगत र पसिना बगाई कमाएको पैसा स्वदेशमा पठाउने कार्यलाई किन राष्ट्रियताको मूल्य र मान्यताभित्र राखिँदैन ? किन सदैव उत्तर र दक्षिणतर्फको छिमेकी राष्ट्रको दृष्टिकोणका आधारमा मात्र चर्को राष्ट्रियताको वकालत गरिन्छ ? के छिमेकी मुलुकबाहेक अन्य राष्ट्रले गरेको राजनीतिक हस्तक्षेपलाई राष्ट्रियताको परिभाषाभित्र राख्न मिल्दैन ।

राष्ट्रियता बलियो बनाउन संसारभरि जहाँसुकै रहेका भए पनि आफ्नो भाषिक जनसमुदायलाई एकीकृत गरेर राष्ट्रप्रेममा हातेमालो गर्न सक्नुपर्दछ । भाषा, धर्म, संस्कृतिको जगेर्ना र भूस्वामित्वको अस्तित्व कायम राख्न राजनीतिक भावले थिचिएको चिन्तनलाई बहिर्गमन गर्न सक्दैन भने त्यो राष्ट्रियता केवल ठगी खाने भाँडो मात्र बन्दछ । त्यस्तै आर्थिक कारक पनि राष्ट्रियताको अंग हो । देश र जनतालाई जर्जर बनाई सत्तासीन व्यक्तिको मात्र आर्थिक स्तर उकास्नु र देशको आर्थिक स्थिति मजबुत बनायो भने राष्ट्रियता आफसे आफ बलियो बन्दछ ।

विदेशमा बसेर रगत र पसिना बगाई कमाएको पैसा स्वदेशमा पठाउने कार्यलाई किन राष्ट्रियताको मूल्य र मान्यताभित्र राखिँदैन ? किन सदैव उत्तर र दक्षिणतर्फको छिमेकी राष्ट्रको दृष्टिकोणका आधारमा मात्र चर्को राष्ट्रियताको वकालत गरिन्छ ?

मगन्तेलाई भुस्याहा कुकुरले भुके जस्तै गरिबको गरिबीलाई सम्पन्नताले हेप्ने हुँदा राष्ट्रियता बलियो बनाउन आर्थिक स्थिति बलियो बनाउनै पर्ने हुन्छ । तसर्थ राष्ट्र र राष्ट्रियता एक अर्काका परिपूरक भएकाले आफ्नो स्वार्थ सिद्घका लागि मात्र हाल राजनीतिक व्यक्ति तथा दलहरू देशमा आफ्नो राजनीतिक स्वार्थका लागि राष्ट्रियताको नारा बनाएर आफ्नो राजनीतिक खेल खेल्ने ठाउँ बनाउन खोज्नेहरूले वास्तविक रूपमा राष्ट्रको हित चाहेका हुँदैनन् । केवल आफू खेल्न र रमाउनका लागि गरिएको झुठको खेती हो भनेर बुझ्नु आवश्यक छ । नाच्न जान्दैन आँगन टेढो भने झैँ गरी राजनीतिक दलका नेताहरूले समाज परिवर्तन गर्ने, देशको विकास गरी समृृद्घ मुलुक बनाउनबाट चुकेपछि राष्ट्रियताको नारालाई प्रमुख मुद्दा बनाएका हुन्छन् ।

साँच्चै राष्ट्रियता बलियो बनाउने नै हो भने संसारको जुनसुकै देशमा बसोबास गरेको किन नहोस् नेपालीभाषीलाई एकै सूत्रमा बाँधेर तिनीहरूको आर्थिक उपार्जनका लागि उनीहरूसँग भएको ज्ञान, सीप र क्षमतालाई सबलीकरण गरी स्वदेशमा भित्र्याउन सक्ने हो भने मुलुक सबल बन्दछ अनि ती भाषिक एकता, धार्मिक एकता, सांस्कृतिक एकताले छरिएर बसेका शक्ति एकजुट बन्दछन् र राष्ट्रियता बलियो बन्दछ । त्यो बलियो राष्ट्रियताले मात्र राष्ट्रको सीमारेखामा कसैले धावा बोल्न सक्दैन । अबको राष्ट्रियता भनेको धार्मिक, सांस्कृतिक र भाषिक पनि भएकाले सम्पूर्ण राजनीतिक दलका नेतृत्व तहका नेताहरूले त्यस बारेमा सोच्न आवश्यक भइसकेको छ । (पन्त अधिवक्ता हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?