वर्षाका कारण दशैँ मनाउन आएका गाउँमै रोकिए

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दशैँ मनाउन गाउँ आएकाहरू बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दशैँ मनाउन बुटवलदेखि निसीखोला आउनुभएकी माया घिमिरेले वर्षाको कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताउनुभयो । उहाँले आफ्ना आफन्तहरू झिम्पा, बडाचौर, थापागाउँ लगायतका गाउँमा रहेको र वर्षाले सडक बिग्रँदा टीका थाप्नसमेत जान नसकेको बताउनुभयो । ‘वर्षाले यसपालिको दशैँ राम्रोसँग मनाउन पाइएन, सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन, दशैँ मनाउनकै लागि टाढाबाट आइयो, एउटा गाउँमा मात्रै आफन्त हुनुहुन्न, सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ’, घिमिरेले भन्नुभयो, ‘अब बुटवल फर्किने समय पनि हुन लाग्यो, बजार झर्ने बाटो सबै बन्द भएछन्, फर्किन ढिला हुने भयो ।’

दशैँ मनाएर पोखरा फर्किनुभएका बडिगाड-१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटोमै अलपत्र परेको बताउनुभयो । उहाँले दशैँको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको भन्दै वर्षाले सडक बिग्रँदाबीच बाटोमै रोकिनुपरेको बताउनुभयो । गाउँबाट दुई घण्टा तल झरेपछि सडक बिग्रिएको थाहा पाएको उहाँको भनाइ छ ।

‘काम गर्ने ठाउँमा दशैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटाहरू त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ’ नेपालीले भन्नुभयो, ‘अब कसरी जाने ?, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँ गएको रैछ पहिरो पनि ।’

दशैँ मान्न निसीखोला आउनुभएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाउनुभएको छैन । तानसेनमा फर्निचरमा काम गर्दै आउनुभएका घर्ती दशैँ मान्नका लागि असोज १७ गते गाउँ आएको बताउनुभयो । दशैँ मानएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको घर्तीले बताउनुभयो ।

‘पानी निकै ठूलो प¥यो, दुई–तीन दिनदेखि परेको पानीले सडकहरू सबै भत्किएका छन्, अलिकति सामान पनि लैजानुपर्ला भन्ने थियो, बिदा पनि थोरै दिनको लिएर आइयो, पानीले निकै दुःख दियो’ उहाँले भन्नुभयो, ‘सडक खुलाउन पनि समस्या छ, धेरै ठाउँमा पहिरो झरेको छ, यो पहिरोहरू सफा गर्न पनि कम्तीमा पनि दुई दिन लाग्छ ।’

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भएको बताउनुभयो । उहाँले मुख्य र ग्रामीण सडकको दजनौँ स्थानमा पहिरो जाँदा अवरुद्ध भएको भन्दै आफूहरूले खुलाउनका लागि मेसिन प्रयोग गरेको बताउनुहुन्छ । ‘दशैँ मानएर फर्किनेहरूलाई लक्षित गरी सडक खुलाउन थालेका छौँ, पानी परिरहेको हुँदा निकै समस्या भएको छ, सडक खुलाउन मेसिन प्रयोग भएका छन्’, अध्यक्ष घर्ती मगरले भन्नुभयो, ‘धेरै ठाउँमा पहिरोले सडकमा क्षति पु¥याएको छ, सडक जति सक्दो छिटो खुलाउने प्रयास गरिरहेका छौँ ।’

वर्षाले पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा दर्जन बढी ठाउँमा सडक अवरुद्ध भएको छ । केही ठाउँमा गाडी चालकहरूले पन्छाए पनि ठूलो पहिरोहरू मेसिनको सहायताले सफा गर्नुपर्ने चालकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?