प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

-डम्बर बोहरा

बैतडी । बैतडीमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २३ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा २३ जनाको उम्मेदवारी परेको हो । प्रतिनिधिसभाको लागि ४ जना स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभा (क)मा ६ र प्रदेशसभा (ख)मा पाँच जनाको उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । नेकपा एमालेका दामोदर भण्डारी, राप्रपाका प्रेमबहादुर चन्द, कमल थापा नेतृत्वको राप्रपा नेपालका हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, नेमकिपाका कृष्णप्रसाद गोसाईँ र आनसिंह भण्डारी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहनु भएकाे छ ।

प्रतिनिधिसभाकै लागि चारजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काङ्ग्रेसका नेता केशवबहादुर चन्द, नेकपा एकीकृत समाजवादीका परमानन्द भट्टले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नुभएकाे हाे । यसैगरी मानसिंह विष्ट र त्रिलोकबहादुर चन्दले पनि स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनु भएकाे छ । उहाँहरूले टिकट वितरणमा असन्तुष्टि रहेकाले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ ।

प्रदेशसभा (क) का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिनुभएकाे छ । भण्डारीले कांग्रेसबाट टिकटको दौडमा रहे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे ।

प्रदेशसभा (ख)मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिवराज भट्ट, एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशीले उम्मेदवारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?