नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः गण्डकीका सबै जिल्लामा तयारी पूरा

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिकरूपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिताअन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेलअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको हृयाण्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ ।

प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कुल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेलसमेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा हुनेछन् ।

विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो ।

आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक कुनै पनि प्रतियोगिता हुने छैनन् । सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कुल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ । स्वर्ण ३९३, रजत ३९३ र कास्य ६०० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, हृयाण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । आर्चरी, फेन्सिङ पोखरा रंगशालामा हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको हृयाण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटिएफका केन्द्रीय सचिव एवं बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ । प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भए पनि जिल्ला तहमा समेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । खेलाडी र अफिसियलका लागि होटल व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ । खेल उद्घाटनको दिन दमौली बजारमा हरेक घरअगाडि घडा र ब्यानर राख्ने निर्णय गरिएको छ । प्रतियोगिता सम्पन्न गराउनका लागि व्यास नगरपालिका, विभिन्न टोल विकास संस्था, बजारवासीले प्रतिबद्धता जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?